वीरेन्द्रनगरको न्यायिक समितिमा बाटो विस्तार र जग्गा विवादका मुद्दा धेरै 

वीरेन्द्रनगरको न्यायिक समितिमा बाटो विस्तार र जग्गा विवादका मुद्दा धेरै 

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४४ वटा मुद्दा दर्ता भएका छन्।

सबैभन्दा बढी बाटो विस्तार तथा क्षतिपूर्ति विवाद सम्बन्धी ४७ र जग्गा विवाद सम्बन्धी ३६ वटा मुद्दा दर्ता भएका नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकाल भण्डारीले जानकारी दिइन। 

सामान्य लेनदेन सम्बन्धी १०, महिला तथा बालबालिका कुटपिट तथा हिंसा सम्बन्धी १२ र सडक तथा नाला निकास सम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन्। उपमेयर ढकालका अनुसार अंश सम्बन्धी ४, घर साँध सम्बन्धी २, ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेको सम्बन्धी १, फोहोर व्यवस्थापन सम्बन्धी १३ र ज्याला मजदुरी सम्बन्धी ९ वटा मुद्दा दर्ता भएका छन्।

दर्ता भएकामध्ये १४३ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने एउटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उनले बताइन। 

उनले आफूले न्यायिक समितिमार्फत अहिलेसम्म उत्कृष्ट कार्यसम्पादन गरेको सुनाइन्। उपप्रमुख ढकालले विगत चार वर्षमा न्यायिक समितिको अवस्था र चुनौतीको विषयमा जानकारी दिँदै पीडितलाई न्याय दिलाउने कोसिस गरिरहेको बताइन। उनले वीरेन्द्रनगरमा धेरैजसो विवाद जग्गा सम्बन्धी आउने गरेको बताइन। 

‘प्रदेश राजधानी भएकाले पनि यहाँ जग्गासम्बन्धी कारोबार धेरै हुन्छ। धेरै विवाद जग्गा, घर बहाल र साँध सिमानाकै आउँछन्,’उनले भनिन्, ‘हामीले त्यस्तो खालको विवादलाई नक्सा शाखासँग बुझेर, त्यहाँको अवस्था के छ भन्ने हेरेर निरूपण गर्ने गरेका छौैं।’ 

नगरपालिकाको क्षेत्रभित्र नपर्ने पीडितको हकमा अदालतसम्म जानका लागि मुद्दा लेखाउने पैसा नभएको खण्डमा वडाको सिफारिसमा विपन्न र महिलाको मुद्दामा नगरपालिकाको तर्फबाट निःशुल्क वैतनिक वकिलले मुद्दा लेखिदिने व्यवस्था गरेको उनले बताइन।

पुष १५, २०७८ बिहीबार १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।