लागुऔषधमा किन फस्छन् नेपाली सेलिब्रिटी ?

लागुऔषधमा किन फस्छन् नेपाली सेलिब्रिटी ?

काठमाडौं : युवा-पुस्तामाझ लोकप्रिय र्यापर तथा चर्चित रियालिटी शो हिमालयन रोडिजका जज लाहुरेको उपनामले चर्चित आशीष राना खैरो हेरोइन किन्दाकिन्दै पक्राउ परेका छन्। पोखराको न्युरोडमा रहेको खैरो होरोइनको कारोबारीकोमा प्रहरीले छापा मार्दा आशीषसहित चार जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार पोखरामा लागुऔषध खैरो हेरोइनको कारोबारीबारे आएको सूचना अनुसार निगरानीमा राखिएको थियो। बिहीबार बिहान एक हुल सेवनकर्ताहरु कारोबारीकोमा किन्न गएको सूचनाको आधारमा छापा मार्दा एक ग्रामभन्दा कम तौलको खैरो हेरोइन किनेका लाहुरे समेत फेला परेका हुन्।

'आशीष राना भनिने लाहुरे पनि लागुऔषधका सेवनकर्ता हुन् भन्ने सूचना त आएको थियो। तर उनलाई टार्गेट गरेर छापा मारिएको हैन,' एसपी थापाले भने, 'हाम्रो टार्गेट कारोबारी हुन्। छापा मार्दा उनी पनि त्यही रहेछन्।'

लाहुरेको साथबाट समेत हेरोइन बरामद भएकाले उनलाई पनि पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको उनले बताए।

पछिल्लो समय पोखरामा लागुऔषधको कारोबारीको चहलपहल बढेपछि प्रहरीले विशेष अप्रेसनको तयारी गरेको थियो। गृह मन्त्रालयको एक अध्ययनमा काठमाडौंपछि धेरै दुर्ब्यसनीहरु पोखरामा रहेको देखिएको थियो।

र्यापका कारण मात्रै हैन, लाहुरे पछिल्लो समय रियालिटी सो हिमालयन रोडिजमा जज भएकाले पनि चर्चामा थिए। उनी कार्यक्रममा सहभागी हुन आउनेहरुलाई लागुऔषध विरुद्ध प्रवचन दिन्थे।

गत साता प्रसारित पूर्वाञ्चल अडिसनमा धरानका एक पूर्वदुर्व्यसनी कार्यक्रममा सहभागी भएका थिए। खैरो हेरोइनको सेवनसम्म पुगेर चार वर्षदेखि छाडेर फिटनेसमा लागेका सन्देशसँग कार्यक्रमका अर्का जज अनुपविक्रमले उनीसँग अन्तर्क्रिया गर्दै कुनै समय आफू पनि लागुऔषधमा फसेको सिक्रेट खुलाएका थिए। उनले सन्देशले लागु औषध छाडेकोमा प्रोत्साहित गर्दै भनेका थिए' तिम्रो भाग्य कसैको हातमा छैन। तिम्रै हातमा छ।'

लाहुरेले सन्देशले डार्क अफ सिक्रेटमा उनले लागुऔषध सम्बन्धी लेखेको भनेका थिए। कार्यक्रममा अधिकांश समय मौन नै बसेका थिए उनी। अनुपविक्रमले नै उनीसँग धेरै अन्तर्क्रिया गरेका थिए। उनलाई अनुपविक्रमले आफ्नो टिमका लागि छान्दा लाहुरेले भने बजर बजाएनन्।

रोडिज युवाहरुलाई अनुशासन सिकाउने कार्यक्रम पनि हो। उनी आफैँ लागुऔषधसहित पक्राउ परेकाले अब हिमालयन रोडिज निर्माण टोलीलाई उनलाई जजको रुपमा अगाडि बढाउन अप्ठ्यारो हुने पक्का छ। अबको अडिसन पोखरामा हुँदैछ। पोखरामा भएको अडिसन प्रसारण हुनु अगाडि नै त्यहींका स्थानीय लाहुरे खैरो हेरोइनसहित समातिएका छन्।

'उनी लागुऔषधसहित पक्राउ परेकाले अनुसन्धानमा पर्छन् नै, 'एसपी थापाले भने, 'उनी सेवनकर्ता मात्र हुन् या कारोबारी पनि त्योबारे पनि अनुसन्धान हुन्छ।'

कारोबारी समेत भएको देखिएमा भने उनको अबको यात्रा मुस्किल हुने पक्का छ। यदि उनी सेवनकर्ता भएको खुलेमा उनको उपचार गर्ने सर्तमा रिहा हुन सक्छन्। नेपालको कानुन अनुसार सेवनकर्तालाई तीन महिनासम्म उपचार गर्ने सर्तमा कुनै संस्था वा व्यक्तिले जिम्मा लिन सक्छन्। यसरी जिम्मा लिएमा १५/१५ दिनमा उपचार सम्बन्धी जानकारी प्रहरीलाई उपलब्ध गराउनुपर्छ।

ड्रग्सको कुलतमा सेलिब्रिटी
कलाकारिता क्षेत्रमा लागेका केही कलाकार तथा गायक-गायिकाहरु लागुऔषधमा फस्ने गरेका छन्। केहीले यो स्वीकार पनि गर्छन्। केहीले भने लुकाएरै राख्छन्।  र्यापर भिटेनलाई पनि लागुऔषधको प्रयोगकर्ता भएको शंकामा निगरानीमा राखेको ब्युरोका एक प्रहरी अधिकारीले उकेरालाई बताए।

'केही सेलिब्रिटीहरु लागु औषधको नियमित प्रयोगकर्ता हुन् भन्ने सूचनाको आधारमा हाम्रो निगरानीमा छन्,' प्रहरी स्रोतले भन्यो' उनीहरु अहिले प्रयोगकर्ता रहेको देखिन्छ। सुध्रिने सम्भावना नदेखिए उनीहरु पक्राउ पर्न सक्छन्।'

यस अगाडि गायक सुगम पोखरेल पनि गाँजासहित पक्राउ परेका थिए। उनी उपचार गराउने सर्तमा प्रहरीको नियन्त्रणबाट मुक्त भएका थिए। 

प्रहरीले नियन्त्रणमा लिएपछि उनी उपचार केन्द्रमा गए र गाँजाको कुलतबाट मुक्त भए। उनी मुक्त भएपछि सार्वजनिक रुपमै आफू गाँजाको कुलतमा फसेको स्वीकार गरेका थिए।

रोडिजकै जज तथा अभिनेता अनुपविक्रम शाहले पनि आफू कुनै समय लागुऔषधमा फसेको र कठिन संघर्षपछि बाहिर निस्कन सफल भएको स्वीकार गरेका थिए।

लागुऔषध नियन्त्रण ब्युरोले गरेको एक अनुसन्धानमा कलाकारसँगै चिकित्सक, पाइलट अनि इन्जिनियरहरु समेत लागुऔषधमा फसेको देखिएको थियो। अधिकांश सेवनकर्तालाई प्रहरी नियन्त्रणमा लिएर परिवारलाई जिम्मा लगाउने गरेको छ। 

एसएसपी हृदय थापा लागुऔषध सेवनमा सेलिब्रिटीहरुको संलग्नता धेरै रहेको बताउँछन्। आत्मबल बढाउने भ्रममा कोकिन र ब्राउन सुगरमा सेलिब्रिटीहरुको संलग्नता धेरै नै देखिने गरेको उनले बताए। रात-दिन काम गर्नुपर्ने पेसामा रहेकाहरुले लागुऔषध सेवन गर्ने गरेको उनले बताए।

'प्राय: कलाकारितामा संलग्नहरु धेरै नै लागुऔषधको प्रयोगकर्ता रहेको हाम्रो आन्तरिक अनुसन्धानमा देखिएको छ। कलाकार, गीतकार, संगीतकार, गायकहरु अनl स्टेजमा बढी जमेका कलाकारहरु कुनै न कुनै लागुऔषधमा फसेका देखिन्छन्,' एसएसपी हृदय थापाले भने, 'उनीहरुले कोकिनदेखि ब्राउन सुगरसम्म अनि गाँजादेखि ट्याबलेटहरु समेत खाने गरेको देखिन्छ।'

पुष १५, २०७८ बिहीबार १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।