राजा वीरेन्द्रले हेलिकोप्टरबाट १२/१४ फन्को मारेपछि बनेको थियो वीरेन्द्रनगरको गुरुयोजना

राजा वीरेन्द्रले हेलिकोप्टरबाट १२/१४ फन्को मारेपछि बनेको थियो वीरेन्द्रनगरको गुरुयोजना

सुर्खेत : २०२८ मा राजा महेन्द्रको निधन भएपछि २०२९ सालमा राज्य सञ्चालनको जिम्मेवारी वीरेन्द्रले पाए।

राजा भएपछि वीरेन्द्र दोस्रो पटक सुर्खेत आए। २०२३ सालमा पहिलो पटक आउँदा नै उनलाई सुर्खेत उपत्यका निकै मन परेको थियो। दोस्रो पटक आउँदा वीरेन्द्रले १२/१४ पटक सुर्खेतको आकाशमा हेलिकोप्टरले फन्को लगाए।

वीरेन्द्रनगरको सिरान गोठीकाँडाबाट उपतयकालाई दृश्य अवलोकन गरेर अहिलेको सैनिक स्कुल नजिक ज्वाला दल गणमा बास बसे। राजा आएपछि तत्कालीन जनप्रतिनिधिहरु र स्थानीयले स्वागत गरे। उनले तत्कालीन जनप्रतिनिधिहरुसँग उपत्यकाको बारेमा जानकारी लिए।

त्यसपछि अर्को दिन काठमाडौं फर्किएका वीरेन्द्र फेरि २०२९ सालको मंसिरमा नै वीरेन्द्रनगर आए।

उनले बुलबुलेभन्दा पूर्वपट्टिको खेतमा क्याम्प राखे। वीरेन्द्रका लागि नेपाली सेनाले २०/२५ वटा पालहरु टाँग्यो। राजा त्यही पालमा बसे।

वीरेन्द्रको स्वागतका लागि पुगेका थिए, वीरेन्द्रनगरका पूर्वमेयर मुकुन्दश्याम गिरी। उनी त्यतिबेला विद्यार्थी थिए।

राजाले एक महिना त्यो क्याम्पमा बसेर उपत्कालाई स्वीट्जरल्याडको कुनै सहरको परिकल्पना गरी कसरी विकास गर्ने भनेर इन्जिनियर माधवभक्त माथेमालाई वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएको गिरीले बताए।

‘राजाले स्वीट्जरल्याडको कुनै सहरको परिकल्पना गरेर वीरेन्द्रनगर उपत्यकालाई नेपालकै सुन्दर सहर बनाउन इन्जिनियर माधवभक्त माथेमालाई डिजाइन गर्न लगाएका थिए,’ पूर्वमेयर गिरीले भने,’ ‘म त्यतिबेला विद्यार्थी थिएँ। तर सुर्खेत उपत्यकाको विकासका लागि राजाले गरेका हरेक गतिविधिहरु अझै पनि मलाई स्मरण छ।’

राजाकै निर्देशनमा २०२९ सालमा नै अञ्चलाधीशको अध्यक्षतामा सुर्खेत उपत्यका नगर विकास समितिको स्थापना गरेर नगरको विकासका लागि काम तीव्र रुपमा अगाडि बढाएको गिरी बताउँछन्। जसको सदस्य सचिव सहरी विकास कार्यालयका निर्देशक हुन्थे।

वीरेन्द्रले वीरेन्द्रनगर उपत्यकाको विकासका लागि सबैभन्दा पहिले पानीको मुहान क्षेत्र रहेको उत्तरी भागलाई ‘उत्तरी जलाधार क्षेत्र’ घोषणा गरी कपासेदेखि कटकुवा क्षेत्रसम्मको बस्तीलाई वीरेन्द्रन्गरको तल्लो भागमा स्थानान्त्रण गरी त्यो क्षेत्रमा वृक्षारोपण समेत गर्न लगाएका थिए।

‘उपत्यकाभित्र पानीको संकट नपरोस् भन्ने उद्देश्यले मुहान संरक्षणका लागि उत्तरी जलाधार क्षेत्रको घोषणा गरी त्यहाँको बस्तीलाई तल सारियो,’ गिरी भन्छन्, ‘हामी विद्यालयबाट गएर बिरुवा समेत रोप्थ्यौं।’ 

गिरीका अनुसार वीरेन्द्रनगरका विभिन्न ठाउँहरुलाई फरक–फरक क्षेत्रमा घोषणा गरिएको थियो। उपत्यकाको पूर्वी क्षेत्रमा औद्योगिक ग्राम र बस्ती, बीचको भागमा सरकारी कार्यालय, संस्थान, खेलकुद मैदान, आवास क्षेत्र र दक्षिणी क्षेत्रलाई कृषि क्षेत्र भनेर तोकिएको थियो।

यहाँका सबै घरहरु प्याकोडा शैलीमा बनाई एक रुपता हुनुपर्ने राजाको सोच थियो। 

बुलबुले तालबाट निस्केको पानीले तल्लो क्षेत्रमा सिंचाइ हुने र यहाँको अन्न उत्पादनले साविक कर्णाली अञ्चललाई समेत पुग्ने अपेक्षा राजको थियो।

यही सोचका साथ कृषियोग्य भू–भागलाई मासेर संरचना नबनाउन पाउने, बस्ती विकास गर्न नपाउने जस्ता योजनाहरु ल्याएका थिए।

२०२९ साल माघको पहिलो हप्ता फेरि वीरेन्द्र सुर्खेत आए। त्यसपछि २०३० सालमा पनि सुर्खेत आएका उनी २०४४ सालसम्म हरेक वर्ष सुर्खेतको भ्रमण गर्थे।

राजा वीरेन्द्रले पूर्वको दाङदेखि सुदूरपश्चिमको दीपायललाई सदरमुकामको रुपमा घोषणा गरी विकास निर्माण र अन्य क्रियाकलापहरु यहीँबाट गर्ने गरेका थिए।

यति मात्रै होइन २०३० राजा वीरेन्द्र सुर्खेत भएका बेला बेलायतका राजकुमार चार्ल्स नेपाल भ्रमण आउँदा सुर्खेतमै भेट गर्नका लागि सुर्खेतमंै बोलाएका थिए।

यस्तै तत्कालीन जर्मन चान्सलर हेल्बोट कोल्टलाई पनि वीरेन्द्रले सुर्खेतमैं भेट्न बोलाएका थिए।

सोही समयमा नै रत्न राजमार्ग, कर्णाली राजमार्ग जस्ता सडकको काम पनि राजा वीरेन्द्रकै निर्देशनमा सम्पन्न भएका थिए।

राजा वीरेन्द्रले सुर्खेतलाई गरेको माया र विकासको मूल्यांकन गर्दै २०४४ सालमा वीरेन्द्रनगरको बीच बजारमा राजा वीरेन्द्रको सालिक राखी वीरेन्द्रचोक नामकरण गरिएको पूर्वमेयर गिरीले बताए।

उनका अनुसार तत्कालीन वीरेन्द्रनगरका जिल्ला पञ्चायत सभापति ओमबहादुर जिसीको सभापत्विमा सालिक स्थापना समिति गठन भएको थियो ।

नगर विकासले नै नगरको नाम कटकुवा नगर पञ्चायतबाट वीरेन्द्रनगर राख्ने र राजा वीरेन्द्रको सालिक राख्ने निर्णय गरेपछि तत्कालीन पञ्चायत मन्त्रालयले स्वीकृत दिएको थियो।

त्यो समितिले भारतको जयपुरबाट साढे दुई लाख रुपैयाँमा मार्बलको सालिक बनाएर चोकमा राखिएको थियो। २०४४ साल फागुनमा त्यो सालिकको अनावरण तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट गरिएको थियो।

नयाँ सालिक राखियो
२०४४ सालमा राजा वीरेन्द्रको शालिक राखिए पनि २०६२/०६३ को जनआन्दोलनको अन्त्यतिर सालिक तोडफोड गरी हटाइएको थियो। २०७५ मा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रचोक पुनर्निर्माण गरे पनि सालिक भने राखेको थिएन।

हटाइएको १६ वर्षपछि वीरेन्द्रनगर नगरपालिका–६ स्थित वीरेन्द्रचोकमा वीरेन्द्रको सालिक राखिएको छ।

राजा वीरेन्द्रको ७६औं जन्म जयन्तीको अवसरमा स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको सालिक राखेको हो।

पुनर्निर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भइरहेको थियो। नगरपालिकासँग समन्वय नगरी बुधबार स्वतन्त्र सुर्खेतबासी जनता समूहले सालिक राखेर दीप प्रजवलन समेत गरेको छ।

गोरक्ष पिठाधीश योगी बलभद्रको अगुवाइमा सालिक राखिएको हो।

पुष १५, २०७८ बिहीबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।