डिसेम्बरमा युट्युबमा नेपाली फिल्मको चाप किन हुन्छ ?
काठमाडौँ : युट्युबमा लामो समयदेखि प्रतीक्षामा रहेका फिल्महरू प्रायः डिसेम्बरमा रिलिज हुन्छन्। नेपालका फिल्म वितरकहरूले पनि आफ्नो डिजिटल राइटसको सदुपयोग गर्दै डिसेम्बरमै धेरै फिल्महरू रिलिज गरे।
युट्युबमा फिल्म कुरेर बसेकाहरूले कबड्डी कबड्डी कबड्डी, मंगलम्, घामड शेरे, ब्लाइण्ड रक्स, श्री लगायतका फिल्म लगातार युट्युबमा हेर्न पाए।
हलमा राम्रो दर्शक नपाएका फिल्मले पनि युट्युबमा दर्शकको अपार माया पाए। बर्षभरीको समय हुँदाहुँदै पनि सबै फिल्म एकै समयमा किन प्रदर्शनमा आएका होलान्?
सिनेमा घर एपमा कार्यकारी अधिकृत तथा लगानीकर्ता सागर खरेलका अनुसार डिसेम्बर महिनामा युट्युबले अन्य समयको तुलनामा धेरै रेभिन्यु दिन्छ। त्यसैले फिल्महरू ठेलमठेल गर्दै युट्युबमा आएका हुन्।
डिसेम्बर महिनामा क्रिसमस र न्यु इयर इभ पर्छ। नेपालमा समेत धूमधामसँग मनाउन थालिएको यिनै पर्वका कारण युट्युबले अन्य समयमा भन्दा धेरै रेभिन्यु दिन्छ। अन्य समयमा भन्दा अहिले कमाइको मात्रा दुई या तिन लाखले बढ्ने खरेलको भनाई छ। त्यसैले प्राय फिल्म वितरक हलमा नजाने वा जान नपाएर युट्युबमा फिल्म कुर्ने दर्शकका लागि डिसेम्बर कुर्ने गरेका छन्।
पुष १४, २०७८ बुधबार २३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।