ब्याच नम्बर ६९ : धन्न पेटमा हेरोइन लिक भएन, नत्र ठहरै हुन्थ्यो

ब्याच नम्बर ६९ : धन्न पेटमा हेरोइन लिक भएन, नत्र ठहरै हुन्थ्यो

संगठित अपराधमा सूचना आदान-प्रदान भनेको महत्वपूर्ण पक्ष हो। कुनै हामीले दिन्छौं, कुनै उनीहरूले दिन्छन्। यो अपराधको प्रकृति नै कुनै एक ठाउँमा एक व्यक्तिले गर्ने अपराध हैन नि। त्यसैले यस्तोमा व्यक्तिगत होस् या संस्थागत, सहकार्य हुनैपर्छ र हुन्छ पनि। 

संगठित अपराधको अनुसन्धानमा त बाहिर सम्बन्ध र सम्पर्क हुनैपर्छ। भएन भने कामै गर्न सकिँदैन। बाहिर सम्बन्ध हुँदा एक त आफ्नो संगठनको क्रियाशीलता र प्रतिवद्दता पनि देखिन्छ, अर्कोतिर अनुसन्धानले ठूलो आकार पनि लिन्छ। 

जस्तो: कुनै तस्करीको सुन समात्दा कुनै कागजपत्र फेला पर्न सक्छ। कुनै नम्बर फेला पर्न सक्छ। अब नेपालको संगठनले नेपाल भित्रबाट मात्र त्यो कागज के हो या त्यो नम्बर कसको हो अनि सुन तस्करीमा उसको सम्बन्ध के हो भन्ने पत्ता लगाउन सक्दैन नि। त्यसका लागि त सम्बन्धित देशको सम्बन्धित अनुसन्धान युनिटलाई सोध्नै पर्छ। 

यस्तोमा उनीहरूले पनि सघाउँछन् नै। त्यो सूचना त उनीहरूलाई पनि काम लाग्यो नि त। अनि उनीहरूलाई हाम्रो देशबाट हुने सुन तस्करीबारे नेपालले पनि गहिरो अनुसन्धान गरिरहेको रैछ है भन्ने सन्देश पनि जान्छ। हामीले इन्फर्मेसनमा खेलिरहेका रैछन् है भन्ने मेसेज जानू सकारात्मक हो नि। 

नेपालमा यसरी इन्फरमेसनमा खेल्ने युनिटहरु छन्। जस्तो विशेष ब्युरो छ। प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो भयो। भर्खरै बनेको मानव बेचबिखन नियन्त्रण ब्युरोको नेचर पनि यही हो। तर कतिको काम भइराछ त्यो चाहिँ थाहा भएन। 

यीमध्ये पनि लागुऔषधको त एकदम बृहत नै थियो। अब अहिले कस्तो छ कुन्नी। त्यो बेलामा त हामीसँग नठोक्किने देश र हाम्रो कार्यालय नआउने कुनै देशका पुलिस नै हुन्थेन के। 

आएको आयै। कुनै संयुक्त अप्रेसन हुन्थ्यो। कुनैमा सूचना लिन आउँथे। कुनैमा त टिम नै यतै आएर पनि काम गर्थे। दुई दिनदेखि एक हप्तासम्म बसेका छन् अनुसन्धानका लागि। उनीहरू आफ्नो पार्ट हेर्थे, हामी हाम्रो पार्ट। 

यस्तोमा मुख्य कुरा सूचना जोगाउन सक्नुपर्छ। अनि अहिले बडो टेक्निकल इन्फर्मेसन भनेको पनि सुनिन्छ। त्यो पनि अनुसन्धानको एक पक्ष हो। तर पक्का इन्फर्मेसन पाउने भनेको ग्राउन्डबाट हो। प्रविधिले सपोर्ट गर्ने हो। त्यसका लागि पहिला सूचना त हुनुपर्यो नि। ग्राउन्डबाट सूचना आएपछि त्यसको अनुसन्धानमा प्रविधिले सघाउन सक्छ। सबै अनुसन्धान प्रविधिबाट मात्र सम्भव हुन्न। 

यो भयो अनुसन्धानको सम्बन्ध र विधि। आज चाहिँ यो हेरोइन खाएर जाने/आउने गर्छन् नि, त्यसको प्राविधिक पाटो अनि जोखिमबारे लेख्दैछु घटनासहित। 

०००
हेरोइन खाएर आउने वा यता खाएर विदेश जानेहरू समातिइरहेका हुन्छन्। यस्तोमा पत्ता लगाउन गाह्रो हुन्छ। पत्ता लागेपछि अपनाउनुपर्ने प्रिकर्सन पनि उत्तिकै महत्त्वपूर्ण छ। जानेन भने त्यो हेरोइन खानेको ज्यानै जान्छ। यसबारे धेरैलाई थाहा नहुन सक्छ। 

यो केस लागुऔषधको कार्यालय बानेश्वरमा हुँदाखेरीको हो। हेरोइन खाएर आउने धेरैलाई समातेका थियौं हामीले। त्यो चाहिँ हाम्रो इन्टेलिजेन्सको सूचनाभन्दा पनि बाहिरकै सूचनाको आधारमा हो। 

फलानो प्लेनमा फलानो ठाउँबाट आएको फलानो नाम गरेको व्यक्तिले हेरोएन निलेर आएको शंका छ है भनेर इन्फर्मेसन आउँछ। अनि हामी एयरपोर्टमा बसेर उसलाई नियन्त्रणमा लिएर परिक्षण गर्ने हो। बाहिरको सूचनाको आधारमा हामीले थुप्रै अफ्रिकी मुलका नागरिकलाई समातेका छौँ। 

कहिलेकाहीँ चाहिँ रोचक हुन्छ। एउटा यस्तै सूचना आयो। हामी एयरपोर्टमा गयौं। तर आउँदैन त बाहिर। कुरेको कुर्यैँ। सबै पेसेन्जर आइसके, टार्गेट आएन। अनि सूचना दिनेलाई फोन गर्यौंस। पक्का हो भन्छ। एयरलाइन्सको सूची हेर्यौं , नाम छ। तर टार्गेट आएन। 

यताउता सोधखोज गर्दागर्दै लास्टतिर लखरलखर आयो। के भएछ भनेर बुझ्दा त ऊ प्लेनमा मस्त निदाएछ। सबै पेसेन्जर निस्किएपछि प्लेनको स्टाफले चेक गर्दा ऊ निदाएको फेला पारेपछि उठाएर पठाएका रैछन्। 

जब हामीले यस्तालाई समात्छौं अनि अस्पताल लिएर जाने हो। केरा अनि दिसा लाग्ने औषधि खुवाएर निकाल्ने त हो। धेरै केसमा चाहिँ केरा नै हो खुवाउने। 

धेरैलाई थाहा नहुन सक्छ। जसले निलेर आएका हुन्छन् नि, उनीहरूले पोका बनाएर त्यसलाई टेपले बेरेर निल्न सहज हुने केरा लगायतकासँग खाने त हो। 

दुई तहको प्लास्टिक हुने त हो। भित्र प्लास्टिकभित्र हेरोइन राख्यो। अनि बाहिरबाट प्लास्टिकको टेपले बेरेर केराको बीचमा राखेर निल्यो। जहाँ पुर्याउने लक्ष्य हो, त्यहाँ पुगेपछि दिसा गरेर निकाल्यो। 

तर, यसमा जोखिम उच्च छ। समय मिलाउन सकेन भने जसले हेरोइन निलेर आएको हो ऊ मर्नसक्छ। यस्तो चक्की पेटमा ७२ घन्टाभन्दा बढी राख्न हुन्न। 

उनीहरूले निलेदेखि नै पेटमा भएको एसिडले प्लास्टिक काट्न थाल्छ नि। लामो समय पेटमा राख्यो भने एसिडले प्लस्टिक पूरै काटेर पेटमै हेरोइनको पाउँच फुट्न सक्छ। फुट्यो भने हेरोइन ओभरडोज भएर मरिहाल्छ। 

जसले केही निलेर आएका हुन्छन् नि, उनीहरूलाई यसो हेरेर पनि थाहा हुन्छ। उनीहरू सकेसम्म केही खान्नन्। तातो त खाँदै खान्नन्। हिँडाइ पनि अलग हुनसक्छ। शौचालय जाँदैनन्। कुनै केसमा त प्लेनको स्टाफलाई शंका लागेर सूचना दिँदा पनि समातिन्छन् यस्ता। 

शंका लागेकालाई लिएर अस्पताल लैजाने हो। डक्टरले पेट बिग्रने, चाँडो दिसा लाग्ने औषधि दिन्छन्। हेबी चिज खुवाउने हो। प्राय: केरा खुवाउँथ्यौ हामी। अनि निकाल्ने न हो। कुनै-कुनै केसमा भने निस्कनै समय लाग्ने। अनि जसले निलेर आएको हो नि ऊ आतिन्थ्यो। डर त हामीलाई पनि हुन्छ नि पेटमै पड्किने हो कि भनेर। 

एउटा केस यस्तै छ। दुई जना अफ्रिकी मुलका नागरिक समातिएका थिए। उनीहरूलाई एयरपोर्टबाट सिधै प्रहरी अस्पताल लग्यौं। २४ घन्टा भयो। निस्कँदैन त। ४८ घन्टा भयो। अहँ निस्किएन। झन्डै-झन्डै ७२ घन्टा भयो। आएन। 

अब डर लाग्न थाल्यो। मान्छे मर्दियो भने त समस्या हुन्छ नि। एक पटक निलेको हेरोइन लिक हुँदा एम्बेसडर होटलमै एक जना मरेको छ। हेर्दा प्रहरीले सद्दे लगेको थियो, के-के खुवाएर मार्योन भनेजस्तै देखिन सक्छ नि। 

तिनले सहयोग गरिरहेका पनि थिएनन्। निस्कियो भने जेल परिन्छ बरु मर्दिन्छु भन्ने मुडमा क्या। बल्ल-बल्ल निस्कियो। निस्किएपछि यसो हेर्दा त बेरेका टेपहरु छियाछिया भइसकेको। धन्न पेटमा हेरोइन लिक भएन। नत्र त ठहरै हुन्थ्यो नि

यो धेरैलाई थाहा नहुन सक्छ। कसैले केही निलेर आएको छ भने ७२ घन्टाभित्र निकाल्नै पर्छ। नत्र दुर्घटनाको जोखिम हुन्छ।

ब्याचका पुराना अंक

पुष १४, २०७८ बुधबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।