नायक अनुपविक्रमको डार्क साइड : लागुऔषधको अम्मलमा फसेका थिए, सङ्घर्ष गरेर निस्किए
एक सहभागीले आफ्नो जीवनको रियालिटी त एक्सपोज गरे नै भावनामा बगेर अनुपले पनि आफ्नो जीवनको अप्ठ्यारो पाटो खुलाए।
धरान अडिसन प्राय विशेष नै हुन्छ रोडिजको अडिसन। बबाल-बबाल सहभागी आउँछन्। यो पाली पनि आए बक्सरदेखि फिजिकल ट्रेनरसम्म। टिचरदेखि कविसम्म। प्रहरीदेखि पूर्व ड्रग्स युजरसम्म। आज चैँ ड्रग्स युजरबारे कुरा गरौँ।
उनी अडिसनको अन्तिम प्रतियोगीको रूपमा आएका थिए। नाम विश्वास। बडिविल्डर ज्यान थियो उनको। कार्यक्रममा आए लगत्तै उनले आफ्नो जीवनको सिक्रेट खुलाए पूर्व दुर्व्यसनी।
चार वर्ष भएछ उनले छाड्न सकेको। जब लागू औषध छाडे अनि लागे जिमतिर। उनको ज्यान हेर्दा ४ वर्षमा गरेको मिहेनत प्रस्टै देखिन्थ्यो।
कुरा सुरु भए लगत्तै अनुपले अलि बढी चासो लिए। उनले सोधे' के के खान्थ्यौ ?'
तीन वर्ष अनेक लागू औषध खाएका उनले डेढ वर्ष घातक अनि महँगो पनि पर्ने खेरो हेरोइन खाएका रहेछन्। बाबा भारतीय लाहुरे। दिदी बाहिर बस्ने। दुवैले मागेको बेलामा पैसा दिने। उनले त्यसैलाई हेरोइन किन्न उपयोग गरे।
आमालाई इमोसनल अनि मेन्टल टर्चर दिएकोमा जीवनमा सबैभन्दा बढी पछुतो रहेछ उनमा। तर सरी भन्न सकेका रहेनछन्। अनुपले नै ल अहिले नै फोन गरेर सरी भन भने। उनले मोबाइल डायल गरेर आमासँग सरी मागे।
आमाको मन न हो। ठिक छ छोरा, अहिले म खुसी छु। अडिसन दिएर आइज भनिन्। उनले राम्रो अडिसन दिए। फिजिकल्ली फिटै थिए। तर बजर बज्यो अनुपको मात्र।
कुरै कुरामा अनुपले पनि भनिहाले 'म पनि सेयर गर्छु मेरो कुरा। म पनि यो कुलतमा फसेको थिए। र कुलतबाट फर्कन धेरै गाह्रो भएको थियो। धेरै नै।'
उनले भने' यो केटालाई देखेर खुसी लाग्यो, प्राउड पनि लाग्यो। कतिपय कुरा कनेक्ट पनि भयो, ' उनले भने ' तेरो तकदिर कसैको हातमा छैन। तेरै हातमा छ। तँ आफैले बनाउन सक्छस्।'
नेपाली फिल्म क्षेत्रमा नायक बन्न आएका अनुप नायक भन्दा खलनायकमा बढी जमे। उनका फ्यान फलोइङ गजब छ। तर उनले आफ्नो जीवनको त्यो डार्क साइड सार्वजनिक गरेका थिएनन्। रोडिजमा आएका आफुजस्तैको कथा सुन्दा उनले पनि सार्वजनिक गरे छुस्स। तर दिल खोलेर भने हुन्छ कसरी फसियो अनि कसरी उम्कियो। त्यसले अन्यलाई नफस्न, फसेको भए उम्कन प्रेरणा हुनसक्छ कि !
पुष १३, २०७८ मंगलबार ०२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।