बल्ल बदलियो माओवादी बोली : हतियार हैन सडकबाट क्रान्ति सम्भव भएको स्विकारे
पटक-पटक त्यस्तै परे बन्दुक बोक्न तयार रहेको भावावेग भाषण गर्दै आएका उनले आफ्नो राजनीतिक प्रतिवेदनमार्फत सडकबाट क्रान्ति सम्भव रहेको स्विकारेका हुन्।
'सडकबाट नै क्रान्ति र परिवर्तन सम्भव भएको तथा मुख्यरुपमा सडकबाट नै प्रतिनिधि सभा विघटन गर्ने प्रतिक्रियावादी षडयन्त्र विफल भएको तथ्यलाई कहिल्यै बिर्सन हुँदैन,' उनले प्रतिवेदनमा लेखेका छन्।
उनले क्रान्तिकारी पार्टीको सबैभन्दा दरिलो मोर्चा सडक भएको समेत स्विकार्दै अप्रत्यक्ष रूपमा हिंसा भन्दा शान्तिपूर्ण राजनीतिक बाटो जायज भएको स्विकारेका छन्।
यस अगाडि बाम एकता र बाम मोर्चामा मात्र केन्द्रीकृत हुने माओवादीको राजनीतिक प्रतिवेदनमा यस पटक लोकतान्त्रिक शक्तिसँग समेत मोर्चा गठनको पक्षमा खुलेको छ।
संविधान खारेज गराएर निरङ्कुश राजतन्त्र फर्काउन संवैधानिक तथा अन्य महत्त्वपूर्ण नियुक्ति गरेर प्रतिगामी तत्त्वले खेलेको दाबी गरेका छन्।
उनले ८ औँ महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा असंवैधानिक र निरङ्कुश तवरबाट पटक-पटक प्रतिनिधि सभाको विघटन गर्ने, संविधान र ऐनको व्यवस्था विपरीत राजनैतिक दलहरूलाई विभाजन गर्नेदेखि संवैधानिक र अन्य महत्त्वपूर्ण नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, सङ्घीयताको मर्म र भावना विपरीतका क्रियाकलापहरू गर्ने, संविधान, ऐन र अदालतको निर्णयलाई चुनौती दिँदै अनाहकमा प्रतिनिधि सभाको बैठक गर्ने अवरुद्ध, संविधानद्वारा स्थापित लोकतान्त्रिक प्रणालीका विरुद्ध निरङ्कुश राजतन्त्रको पुनर्स्थापनाको हल्ला गर्ने काम प्रतिगामी तत्त्वहरूले चलाइरहेका गतिविधि भएको उल्लेख गरेका छन्।
राजनीतिक प्रतिवेदनमा क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू दलाल नोकर शाही पुँजीपतिहरू र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू संविधान खारेज गराउने षडयन्त्रमा लागि रहेको उल्लेख छ।
'कम्युनिस्ट क्रान्तिकारी देखि राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त र लोकतान्त्रिक शक्तिहरू संविधानको रक्षा र परिमार्जनको पक्षमा अगाडि बढिरहेका छन्। यही वर्गीय राजनैतिक अन्तर्विरोधको बिचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ,' प्रतिवेदनमा भनिएको छ।
संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निमित्त 'वाम' लोकतान्त्रिक शक्तिहरू मोर्चाबद्ध रूपमा अगाडि बढेर सफल हुँदै गइरहेको उनको दाबी छ।
'तथापि आज पनि देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले आफ्नो प्रतिगामी षडयन्त्रलाई नयाँ नयाँ रूपमा अगाडि बढाउने जमर्को गरी नै रहेका छन्। कहिले कार्यपालिका त कहिले व्यवस्थापक कहिले न्यायपालिका त कहिले धार्मिक सहिष्णुता माथि हमला गरेर अस्थिरता सिर्जना गर्ने र देशलाई प्रतिगमनको अँध्यारो सुरुङमा हाल्ने प्रतिक्रियावादी कसरत रोकिएको छैन,' प्रतिवेदनमा उल्लेख छ।
उनले यसबाट जोगिने उपाय पनि उल्लेख गरेका छन्।
आफ्नै पार्टीलाई वैचारिक, राजनैतिक, साङ्गठनिक र सांस्कृतिक रूपले बलियो पार्न र जनसम्बन्धलाई घनिष्ठ पार्न जोड लगाउनुको विकल्प छैन।
प्रतिक्रियावादी र प्रतिगामी शक्तिका जुनसुकै षड्यन्त्रको सशक्त प्रतिवादका लागि सडक, सदन र सरकारको तीन वटै मोर्चालाई प्रभावकारी बनाउन जोड गर्नु पर्दछ। यी तीन वटै मोर्चामध्ये राष्ट्र र जनताको हितसँग शक्तिशाली रूपले जोडिने मोर्चा अन्ततः सडककै मोर्चा हो भन्ने यथार्थलाई कम्युनिस्ट क्रान्तिकारीहरूले दहोसँग समातेर त्यसको तयारीमा लाग्नु पर्दछ।
सडकबाट नै क्रान्ति र परिवर्तन सम्भव भएको तथा मुख्यरुपमा सडकबाट नै प्रतिनिधि सभा विघटन गर्ने प्रतिक्रियावादी षडयन्त्र विफल भएको तथ्यलाई कहिल्यै बिर्सन हुँदैन।
प्रत्यक्ष वा परोक्ष वैदेशिक प्रतिक्रियावादी दबाब हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरन्तर अगाडि बढाएर मात्र जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको रणनीतिक आधार तयार पार्न सकिन्छ।
आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्न विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायका जनताको पहिचान र अधिकारलाई स्थापित गरेर मात्र बाह्य हस्तक्षेपका विरुद्ध लड्न सकिन्छ।
संविधान, लोकतान्त्रिक गणतन्त्र एवं राष्ट्रिय स्वाधीनताको रक्षाका मुद्रामा समान विचार राख्ने वामपन्थी र लोकतान्त्रिक राजनैतिक दलहरूका साथै सम्पूर्ण देशभक्त र जन पक्षीय शक्तिहरूसँग व्यापक संयुक्त मोर्चा कायम गरी प्रतिगामी र प्रतिक्रान्तिकारी शक्तिका विरुद्ध सङ्घर्षको तयारीलाई गम्भीरतापूर्वक अगाडि बढाइरहनु पर्दछ।
समाजवादी आर्थिक आधार तयार पार्न समाजवाद उन्मुख आर्थिक नीति जसमा सामाजिक न्याय सहित सहकारी, सार्वजनिक र निजी क्षेत्रको समन्वयमा अगाडि बढाउन ठोस नीति, योजना र कार्यक्रमको विकास गर्न जरुरी छ। स्थानीय र समुदायको तहदेखि उत्पादन र श्रमको व्यवस्थापनका लागि तथा सांस्कृतिक रूपान्तरणको योजनाद्वारा जनचेतना विकास गर्न उत्पादन, श्रमको संयोजन गर्न विशेष संरचना सहित योजना र कार्यक्रम बन्नु पर्दछ।
पुष १२, २०७८ सोमबार २३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।