कर्णालीका नागरिक : सुनको सिरानी, नुनको खोजी
सोमबार युवा उद्यमी तथा व्यवसायी सङ्घ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीका नागरिक सुनको थालमा भिख माग्ने भिखारी भएको बताएका हुन्।
उनले अब यो प्रथाको अन्त्य गर्न जरुरी रहेको सुनाए। बाहिरबाट आयातमा मात्र गर्ने नभई यहाँको उत्पादनहरू निर्यात गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका नागरिक सुनको सिरानी हालेर नुनको खोजीमा भौँतारिएको भन्दै बहुमूल्य च्याउ, झ्याउ र स्याउलाई व्यवस्थित र बजारीकरण गर्न सके धनी हुन समय नलाग्ने बताए।
‘हामी त सुनको सिरानी हालेर नुनको खोजीमा भतारिन थाल्यौँ,’मुख्यमन्त्री शाहीले भने, ‘हामीसँग बहुमूल्य स्याउ, झ्याउ र च्याउलाई व्यवस्थित गरी भारत लगायत अन्य मुलुकमा निर्यात गर्न सके दुई वर्षमा कर्णालीले मुहार फेर्छ।’
उनले कर्णाली विकासको लागि ६ वटा ‘ब’ लागू गरी आफू अगाडी बढेको बताए ।
‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो’, उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भए स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सृजना हुन सक्थे।’
मन्त्रीपरिषद् विस्तार नहुँदा काम रोकियो भन्नु गलत
‘मन्त्रिपरिषद् विस्तार नहुँदा काम रोकियो’ भन्नु गलत तर्क रहेको मुख्यमन्त्री शाहीले बताए। सोमबार नै प्रदेश रङ्गशालाको स्थलगत अवलोकनमा पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री नियुक्त नभएकै कारण कुनै काम नरोकिएको शाहीले दाबी गरे।
उनले आफ्नै पार्टीको महाअधिवेशन र अहिले सत्ता साझेदार नेकपा माओवादी केन्द्रको महाअधिवेशन जारी रहेकाले विस्तारमा ढिलाइ भएको भन्दै माओवादीको महाधिवेशन सकिने बित्तिकै सरकारले पूर्णता पाउने बताए ।
पुष १२, २०७८ सोमबार २०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।