त्यसकारण कुलबहादुरले कहिल्यै भारत नजाने निर्णय गरे

सुर्खेत : बराहताल गाउँपालिका-७, लामाखालीका कुलबहादुर विक चार वर्ष अघिसम्म भारतमा काम गर्थे। १७ वर्षकै उमेरमा भारत गएका उनले तीन वर्ष मुम्बईमा ‘कुक’ को काम गरे।
महिनाको आठ हजार भारुमा हेल्परबाट सुरु गरेका उनी ६ महिना काम गरेपछि कुक बनेका थिए। हेल्परको काम गर्दा भाँडा माँझ्नेदेखि भान्साको सबै काम गर्थे।
तीन वर्ष काम गरेपछि कुलबहादुरको तलब १५ हजार पुग्यो। तलब त बढ्यो तर समयमा कहिल्यै पाएनन्। कहिले दुई त कहिले ६ महिनामा तलब पाउँथे। कामको भने कुनै समयसीमा नै हुँदैनथ्यो।
बिहान ८ बजेदेखि राति १ बजेसम्म पनि काम गर्ने उनी दैनिक चार सय जनासम्मलाई खाजा र खाना खुवाउँथे। समयमा सुत्न पाउनु त परको कुरा, खानाको पनि ठेगान हुँदैनथ्यो। यी सबै कष्ट काटेर पनि काम गरिरहँदा कुलबहादुरले कहिल्यै पनि मालिकबाट जस पाएनन्।
जति काम गरे पनि नेपाली कामदारलाई मालिकले हेर्ने दृष्टिकोण नै फरक। बेलाबेला कराएर होसै उडाउने, पिट्न खोज्ने जस्ता मालिकको व्यवहारले वाक्कदिक्क भएका कुलबहादुरले अन्ततः त्यहाँ काम नगर्ने निर्णय लिए।
मालिकसँग आफूले काम गरेको हिसाब दिन अनुरोध गरे पनि उल्टै उनलाई थर्काएर जे गर्न सक्छस् गर भनेर धम्की दिएपछि कुलबहादुरले थाहा पाए, अर्काको देशमा काम गर्दा श्रमको सम्मान नहुने रहेछ।
दिनरात पसिना बगाएर कमाएको ५० हजार भारु साहुले दिएन। अनि उनले सोचे, अर्काको देशमा पसिना बगाउनुभन्दा बरु आफ्नै गाउँमा गएर होटेल राख्छु।
तर, उनीसँग घर फर्कने पैसा थिएन। काम गरेको ५० हजार भारु मालिकले दिएन। जसोतसो गाउँकै नातेदारसँग १० हजार रुपैयाँ सापटी मागेर घर फर्किए।
पसिना बगाएर कमाएको ५० हजार भारु साहुले नदिएपछि मैले भारत नजाने निर्णय गरें।’
घरमा भएका भाँडाकुडा र चिनेजानेका साहुजीसँग उधारोमा सामान ल्याएर उनले गाउँमै सानो खाजा पसल खोले। खाजा पसल खोल्दा उनले पाँच हजार रुपैयाँ मात्रै लगानी गरेका थिए, त्यो पनि सबै उधारोमा।
कुलबहादुरले विस्तारै कमाउँदै साहुको उधारो तिर्न थाले र बचत पनि गर्दै गए। साहुले पनि उनको इमान्दारिता दिखेर लाखौंको सामान पत्याउन थाले।
पैसा कमाउँदै गएपछि नास्तासँगै खुद्रा र पेय पदार्थको पनि सामान राखे। अहिले उनको व्यापार राम्रो छ। ‘नजिकै माध्यमिक विद्यालय छ। स्वास्थ्य चौकी र वडा कार्यालय पनि छ। राम्रो व्यापार छ,’ उनी भन्छन्। विभिन्न कार्यक्रमका लागि पनि उनकै पसलमा अर्डर हुन्छ।
अहिले महिनामा ६५ हजार रुपैयाँभन्दा बढी नाफा कमाउने कुलबहादुर बताउँछन्। श्रीमतीले पनि पसलमा सघाएकी छिन्।
‘भारतमा तीन वर्षसम्म धेरै दुःख गरियो। हेल्परबाट काम गर्न सुरु गरेर कुकसम्म बनें,’ कुलबहादुर भन्छन्, ‘अर्काको देशमा जति काम गर्दा पनि कहिल्यै जस पाइएन। पसिना बगाएर कमाएको ५० हजार भारु साहुले नदिएपछि मैले भारत नजाने निर्णय गरें।’
आर्थिक अभावकै कारण कक्षा ८ पास गरेर स्कुल छोडेका कुलबहादुरले यो व्यवसायबाटै दुई भाइलाई पढाएका छन्। दुई छोराछोरी, श्रीमती, आमा र बज्यैलाई पालनपोषण समेत गरेका छन्।
अहिले उनले कमाएको पैसाले दुई ठाउँमा घडेरी लिएका छन्। केही पैसा बैंकमा समेत जम्मा गरेका छन्। गाउँघरमा पैसाको गर्जो पर्दा प्रायः उनकैमा जाने गर्छन्।
‘पसलबाटै कमाएको पैसाले दुई ठाउँमा घडेरी लिएको छु। भाइहरुलाई पढाउनेदेखि बालबच्चा पाल्नेसम्म यही व्यवसायबाटै धानेको छु,’ उनले भने, ‘सानोतिनो रकमको आवश्यकता पर्दा गाउँका मान्छेहरु मकहाँ आउँछन्। आफ्नो व्यवसायबाट खुसी छु।’
पुष १२, २०७८ सोमबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।