देउवा-प्रचण्डबीच प्रशंसाको प्रतिस्पर्धा
काठमाडौँ : माओवादी केन्द्रको ८ औँ महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच एक अर्काको प्रशंसाको प्रतिस्पर्धै चल्यो।
महाधिवेशन समापन गर्दै प्रचण्डले बढो बदलिएको शैलीमा सबै कमजोरीको उपजस आफैँले लिँदै एमाले महासचिव शङ्कर पोखरेलदेखि राप्रपा महासचिव कुन्ती शाहीसम्मलाई धन्यवाद दिए। अनि पालो आयो देउवाको।
प्रचण्डभन्दा पहिला सम्बोधन गर्दै देउवाले सहमतिको आधारमा राष्ट्रिय सम्मेलनबाट महाधिवेशन हुनु राम्रो हो भन्दै 'सबै कुरा सहमतिमा भए राम्रो हो। तर अरू पार्टीको बारेमा जान्ने भएर बढी बोल्नु भएन' भनेका थिए।
त्यसपछि उनी नेपाली राजनीतिमा प्रचण्डको योगदानबारे बोल्न थाले।
'संविधान सभाको चुनावमा उहाँको ठुलो योगदान छ। प्रचण्डका कारण हामी संविधान सभामा गएको सत्य हो। २००७ सालमा नेपाली कांग्रेसले प्राप्त गरेको उपलब्धि दाहालको अगुवाइमा सम्भव भएको हो,' उनले भने।
उनी त्यतिमै रोकिएनन्। 'संविधान बनाउने काममा दाहालजीको सबैभन्दा महत्त्वपूर्ण योगदान छ' भन्दै अहिलेको गठबन्धन कसैको विरोधमा नभई अहिलेको संविधान अनुसार संसद् पूर्ण अवधि चलोस् बिचमा संसद् भङ्ग नहोस् भन्ने उद्देश्यले गठबन्धन बनेको बताए।
'संविधान सभाबाट संविधान बन्नुमा मेरो पनि केही न केही योगदान छ। संविधान र संसद् बचाउन गठबन्धन भएको हो। अझ पनि गठबन्धन अगाडि जाओस् भन्ने चाहन्छु। ओलीजीलाई नलागोस् कि यो गठबन्धन मेरा विरुद्ध हो। मिल्न त पाइयो नि।'
अब प्रशंसा गर्ने पालो प्रचण्डको।
उनले देउवाको सम्बोधनबारे बोल्दै भने' उहाँ निकै संक्षिप्त बोल्ने नेता हो। आज पनि संक्षिप्त बोल्नुभयो। तर निकै मिठो र महत्त्वपूर्ण कुरा बोल्नुभयो।'
सम्बोधन गर्दा घरीघरी देउवातिर हेर्दै उनले भने' उहाँ हेर्दा सोझो जस्तो पनि इनोसेन्ट जस्तो पनि। आज ठुलो स्टेटमेन्ट दिनुभयो। धन्यवाद।'
उनले देउवाबारे पुराना प्रसङ्गहरू पनि सुनाउन थाले। प्रचण्ड भूमिगतै भएको बेलामा प्रधानमन्त्री थिए देउवा। त्यो बेलामा उनले आफूलाई बहादुर नेता भनेर देउवाले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति सम्झँदै भने' त्यो बेला प्रधानमन्त्रीले एक युद्ध गरिरहेको पार्टीको नेतालाई बहादुर नेता भन्नु ठुलो कुरा थियो। उहाँले बढो सजिलैसँग प्रचण्ड बहादुर नेता हो भनिदिनुभयो। त्यसको असर देशभर पर्यो।'
उनले एमालेसँगको सहकार्य तोड्दै कांग्रेससँग आलोपालो प्रधानमन्त्रीमा भएको सहमतिको प्रसङ्ग ल्याउँदै भने' हामीले प्रधानमन्त्रीमा लेनदेन,आलोपालो गरेका थियौँ। हामीबिच जे सम्झौता भएको थियो त्यही अनुसार मैले हस्तान्तरण गरेको थिए। त्यो बेलामा उहाँले संसद्मा प्रचण्ड राजनेतै हो भनेर भन्नुभयो। त्यो ठुलो स्टेटमेन्ट थियो।'
प्रचण्डले आठौँ महाधिवेशनको उद्घाटन शत्रमा संविधान सभाको कारण प्रचण्ड नै हो भनेर दिएको अभिव्यक्ति पनि ठुलो स्टेटमेन्ट भएको भन्दै उनलाई धन्यवाद दिँदै भने' मलाई डर लागेको छ कतै यसले कांग्रेसभित्र उहाँले आलोचना खेप्नुपर्ने त हैन। तर साना आलोचनाले उहाँलाई छुँदैन। छाला गैँडाको जस्तो भइसकेको छ।
देउवाले गठबन्धन चुनावसम्म टिक्ने र यो अझ अगाडि जाओस् भन्ने चाहेको बताएका थिए। प्रचण्डले भने' उहाँले सजिलै भन्नुभयो गठबन्धन अगाडिसम्म जान्छ। तपाई-हामीले चाहिएकै त्यही हो।'
पुष ११, २०७८ आइतबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।