'चपली हाइट ३' का निर्माता अर्जुन कुमारलाई साउथ फिल्मले लखेटेको लखेट्यै
काठमाडौं : 'चपली हाइट ३' प्रदर्शन मिति फेरि सरेको छ। पुस २ गतेका लागि प्रदर्शन मिति तय गरेको यो फिल्मको प्रदर्शन मिति दक्षिण भारतीय फिल्म 'पुष्पा' र हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' को डरले सरेर पुस १५ पुगेको थियो। फिल्म पुस १५ बाट फेरि १५ दिन पर सरेर पुस ३० गते पुगेको छ।
आइतबार चलचित्र संघमा निवेदन दिँदै निर्माता अर्जुन कुमारले फिल्म सरेको जानकारी दिएका हुन्। स्पाइडर म्यानको डर नलागेको तर दक्षिण भारतिय फिल्मदेखि डराएको बताउने अर्जुन कुमारलाई पुस ३० गते फेरि अर्को साउथ इण्डियन फिल्म आइलागेको छ।
बाहुबलीबाट सबैको मन जितेका प्रभासको फिल्म राधे श्यामसँग चपली हाइट ३ को भिडन्त हुनेछ।
गएको असोज २१ गतेबाट हलहरु खोल्दै गर्दा नेपाल चलचित्र संघले तीन महिना ९ पुस २१ गतेसम्म लागू हुने गरी दुई हप्ताको अन्तरमा नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको थियो। तर पुस १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ भन्दा एक दिन अगाडि ‘चपली हाइट ३’ आउने भएपछि निर्माता कुमारलाई फिल्मको रिलिज सार्न चलचित्र संघले दबाब दिएको थियो।
नेपाल चलचित्र संघले ‘कठपुतली’ र ‘चपली हाइट ३’ का निर्मातालाई एउटै टेबुलमा राखेर छलफल गराएपछि अर्जुन कुमारले फिल्मको रिलिज सार्ने निवेदन संघमा बुझाएका हुन्। उनले चलचित्र संघको निर्णयको सम्मान गर्दै बाध्य भएर आफूले फिल्मको रिलिज सारेको बताए।
पुष ११, २०७८ आइतबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।