कार्ड साट्दा देउवाले हेरिरहे, प्रचण्ड र नेपाल हाँसिरहे
काठमाडौँ : माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अतिथिका रूपमा निम्त्याइएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अर्कै व्यक्तिको नाम भएको कार्ड परेपछि एक सहयोगीले मञ्चमै आएर साटिदिए।
प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले बल्ल आफूले अर्काको नाम भएको कार्ड लगाएको चाल पाए। उनले अर्को कार्डको नाम पल्टाएर हेर्दा नजिकै बसेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्को छेउमा बसेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल हाँसिरहेका थिए।
पहिलो राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले आजै मात्र अतिथिहरूलाई महाधिवेशनमा निम्ता गरेको थियो।
महाधिवेशनमा कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका अध्यक्ष सहभागी छन्। अन्य दलले प्रतिनिधि पठाएका छन्। कार्यक्रमको उद्घाटन यस अगाडिको भन्दा फरक देखिएको थियो। माओवादीले पञ्चेबाजा र सांस्कृतिक झाँकी सहित आठौँ महाधिवेशनको उद्घाटन गरेको छ।
पुष ११, २०७८ आइतबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।