प्रतिभाभन्दा भोटको पावर बढी भएपछि बाहिरिइन् दिया

प्रतिभाभन्दा भोटको पावर बढी भएपछि बाहिरिइन् दिया

काठमाडौँ : परिपक्व र मीठो स्वरका कारण सारेगामापा लिटिल च्याम्पसको टाइटलको दाबेदार मानिएकी दिया सोनार प्रतियोगिताबाट आउट भएकी छिन्।

भारत सिलगुडीकी उनको स्वरमा दर्शक लट्ठ्याउन सक्ने खुबी छ। तर त्यही दर्शकबाट आउनुपर्ने भोट भने आइदिएन। उनको परिपक्व स्वरकै कारण सङ्गीतकार न्ह्यु बज्राचार्यले उनको स्वरमा गीत रेकर्डिङ गर्ने वाचा गरेका थिए।

कार्यक्रम प्रस्तोता अभिनेत्री रीमा विश्वकर्माले उनको म्युजिक भिडियोमा अभिनय गर्ने मौका दिन आग्रह गरिन्। बटम थ्रीमा पर्दै जोगिँदै आएकी उनी शनिवारको कार्यक्रममा साताको उत्कृष्ट प्रतियोगी बनिन्। जुन एपिसोडमा उनी उत्कृष्ट बनिन् त्यही नै उनको अन्तिम प्रस्तुति बन्यो प्रतियोगिताको।

आफू आउट भएको थाहा पाएपछि उनी निकै भावुक भइन्। केही समय कुनै प्रतिक्रिया नै दिन सकिनन्। जज अनि कार्यक्रमका सहभागी पनि स्तब्ध भए। साँच्चै प्रतिभाकै खोजी गर्ने कार्यक्रमको उद्देश्य हो भने दिया सहजै टप थ्रीमा पर्ने प्रतियोगी हुन्। तर भोटको खेलोले गर्नु गर्छ।

उनी प्रतियोगिताबाट बाहिरिए पनि सङ्गीत क्षेत्रमा उनको भविष्य राम्रो देखिन्छ। रियालिटीका विजेता भन्दा सहभागी हिट भइरहेका पनि छन्। पैसाले भोट किन्न सकिन्छ। तर प्रतिभा किन्न कहाँ सकिन्छ र।

शनिवार वाइल्ड कार्डबाट  प्रेरणा ओली र आदित्य विश्वकर्मा  भित्रिएका छन्। यी दुबै यस अगाडि बाहिरिएका थिए। जजहरुले उनीहरूलाई फर्काएका हुन्।

पुष १०, २०७८ शनिबार २३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।