माओवादी नेताहरूले आफ्नै टाउकोमा 'राँको' झोस्लान् ?
काठमाडौँ : सशस्त्र सघर्ष गरिरहँदा माओवादी भित्र भन्ने गरिन्थ्यो आफ्नो टाउकोमा आफैँले राँको झोस। अर्को साथीले कमी कमजोरी गर्छ भने पनि आगो सल्काइदेऊ। जसको अर्थ हुन्छ गल्ती तुरुन्त स्वीकार गर र अर्को पटक गल्ती दोहोर्याउन।
आफ्नो टाउकोमा आफैँ आगो लगाउने भनेको आफ्ना कमी कमजोरी स्वीकार गर्ने र त्योबाट मुक्त हुनको लागि कोसिस गर्ने भन्ने त्यसको भाव हो।
शुद्धीकरण भित्रबाट हुनुपर्छ भन्ने माओवादीले २०६४ को संविधानसभाको चुनावमा झन्डै दुई तिहाइको बहुमत ल्याएको थियो।
उस्तै खालका पुराना दलबाट जनता दिक्क थिए। हामी अरू भन्दा फरक हौँ भन्ने माओवादीको अपिललाई जनतले पत्याए।
प्रत्यक्ष निर्वाचित कार्यकारी र गणतन्त्र नेपालको प्रथम राष्ट्रपति भनेर पुष्पकमल दाहाल प्रचण्डको अनुहार देखाएर माओवादीले भोट तानेको थियो। अरू दलहरूलाई परिवर्तन विरोधी देख्ने माओवादीले भ्रष्ट्राचार गर्दैनौ भनेर कसम खाए।
तर सत्तामा पुगेपछि अन्य दलहरू भन्दा फरक हुन सकेनन्। सत्ता यात्रा सुरु गरेपछि माओवादीको ओरालो यात्रा सुरु भयो। शान्ति प्रक्रियापछिको डेढ दशक माओवादी अन्य सांसदवादी दल भन्दा फरक हुन सकेन। थप बदनाम भयो।
नेताको जीवनशैलीसँगै व्यवहार बदलिए। नीति बदलिए। त्यसको प्रभाव जनमतमा पर्ने नै भयो। पहिलो संसदीय निर्वाचनमा पाएको सफलता खस्कँदै सानो दलमा पुग्यो माओवादी।
आखिर किन कमजोर भो पार्टी? पुस ११ गतेबाट हुने राष्ट्रिय सम्मेलनमा समीक्षा गर्ने बताएको छ उसले। राजनीतिक प्रतिवेदनको तयारीमा छन् प्रचण्ड । उनले नेता कार्यकर्ता सुविधाभोगी भएको, जनतासँग नगएकाले माओवादीको क्षयीकरण भइरहेको उल्लेख गर्ने गरेका छन्।
उनले जनतामा गएर पार्टीलाई देशको सबैभन्दा ठुलो दल बनाउन सकिने प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रचण्डसँगै माओवादीका अन्य नेताहरूले समेत पुरानो साख फर्काउने दाबी गर्छन्। नेताले भने झैँ सहज छ त साख फर्काउन ?
राजनीतिक विश्लेषक नरेन्द्रजगं पिटर माओवादीले कसरी निर्मम समीक्षा गर्न सक्छ त्यसमा भर पर्ने बताए।
'माओवादी सुध्रेमा पनि पुरानो साख फर्काउन कठिन छ। स्वभाव चरित्र अभ्यास धेरै फेरिसक्यो। ६४ साल तिरको अवस्था त अहिले छैन,' पिटरले भने' नाराको मार्केटिङ र आफ्नै क्यापिटलाइज्ड गर्न सक्ने अवस्था छैन। आँफैले आफैँलाई टाउकोमा राँको कति झोस्न सक्दछ त्यसका आधारमा मात्रै ६४ अवस्था पुग्न सक्छ।'
आफूभित्रको कमजोरी अरूले भन्दा आफैँले चिन्न सकिने र अरूले चिनेर टिप्पणी गर्नुभन्दा आफैले गर्नु वस्तुवादी हुने माओवादी नेता लेखनाथ न्यौपाने बताउँछन्। अहिले टाउकोमा राँको लगाउने कुरा पार्टीभित्र ज्वलन्त विषय भएको उनको भनाइ छ।
‘संस्थागत हिसाबले र संस्थाभित्रका नेता कार्यकर्ताहरूले आफ्नो समस्या पहिल्याएर सङ्घर्ष गर्ने आँट गरेनौ भने बाहिरको सङ्घर्षको धरातल पनि मिल्दैन र त्यसको नेतृत्व गर्ने कुरा त टाढाको भइहाल्यो,’ उनी भन्छन्।
उनले अब सुधार अवलम्बन गरेन भने पार्टी सिद्धिने बताए। पार्टीको पहिचान सकिएपछि हुनु र नहुनको के अर्थ नरहने उनको मत छ।
'मुख्य सुधार्नुपर्ने भनेको नेता कार्यकर्ताको आचरण र सोसँग जोडिएका कैयौँ विषयहरू, आर्थिक विषयसँग जोडिएका विषयहरू नातागोता, परिवार र गुटसँग जोडिएका विषयहरू छन्,'न्यौपानेले थपे' अब आत्म समीक्षा गरेर जनताका माझमा नगए पुरानो साख फर्काउन सकिँदैन।'
शिक्षामन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेल समीक्षाको विषय नै टाउकोमा राँको लगाउने विषय रहेको बताउँछन्।
‘त्यही समीक्षा हो, जनयुद्ध हुँदा आफ्नो टाउकोमा आफैँ राँको लगाउने थियो भने अहिले पनि त्यही छ। आफ्नो कमीकमजोरी प्रति समीक्षा गरेर जनताको बिचमा फेरि पनि आत्मालोचना हुँदै जानुपर्छ र अगाडी बढ्नुपर्छ भन्ने प्रस्ताव छ,' उनले भने।
उनले राष्ट्रिय सम्मेलनमा पार्टीको निर्मम समीक्षा गर्ने बताए। कमी कमजोरी जनता प्रतिका निष्ठा र योजनाहरूलाई अन्य पार्टीले भन्दा फरक ढङ्गले लिएर जान सक्यो भने साख फर्काउन सकिने उनको मत छ।
पुष १०, २०७८ शनिबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।