टेकु अस्पतालका डा. विमल: आफैं कोरोना सङ्क्रमित भए, विष पिएकी युवतीलाई यसरी बचाए

टेकु अस्पतालका डा. विमल: आफैं कोरोना सङ्क्रमित भए, विष पिएकी युवतीलाई यसरी बचाए

२०३६ साल। डा. विमल शर्मा चालिसे ११ वर्षका बालक थिए। बुवा आयुर्वेद चिकित्सक थिए। अनि बुवाको जागिर थियो-  मुगुको नखर्जी भन्ने ठाउँको आयुर्वेद औषधालयमा।

विमल त्यति बेला ‘नखर्जी निम्न माध्यामिक विद्यालय’मा सात कक्षामा पढिरहेका थिए। एक दिन विद्यालयबाट फर्किने क्रममा जे भयो, त्यसले विमलको भाग्य कोर्यो।  

चकचके उमेरका उनी र उनका साथीहरू अनुशासित भएर घर फर्कने कुरै थिएन। एउटा साथी बाटोमा भेटिएको रुख चढ्न गएछन्। रुखमुनि अर्को रुख पनि रहेछ। छड्के पारेर काटिएको। तीखो।  

ती साथी रुखबाट एक्कासी खसे। अनि सोझै बजारिए तलपट्टीको तीखो रुखमा। उनको दाहिनेतर्फको छाती त्यो रुखको टुप्पोमा जाकियो। छातीबाट छेडिएको रुखको टुप्पो पछाडी पिठ्यूँबाट निक्कियो।  

विमल र उनका साथीको होसै उड्यो। कसोकसो साथीलाई त्यहाँबाट निकाल्ने 'प्लान' बनाए। कसैले खुट्टा, कसैले हातबाट उचाले। कसैले जिउमा समाएर उचाले। बल्ल बल्ल ती साथी निस्के। 

त्यसपछि उनलाई विमलका बुवाले काम गर्ने नखर्जी आयुर्वेद औषधालयमा लगियो। बुवाले उपचार गर्न थाले। छेडिएको छाती र ढाडमा पट्टी लगाइदिए। औषधि लगाइदिए। थप उपचारको लागि मुगु सदरमुकाम पुग्नुपर्थ्यो। त्यहाँ पुग्नै दुई दिन लाग्थ्यो। त्यसैले सामान्य उपचार गर्दै घरमै राखियो।  

विमलका ती साथीको आयुर्वेदिक औषधि र जडिबुटीबाट घरायासी उपचार भयो। उपचार सफल पनि भयो। ती साथी बाँचे। कुनै आधुनिक चिकित्सा विज्ञानको साहराबिनै बाँचे। विमललाई यो घटनाले गहिरो प्रभाव पार्यो। उनी बुवाजस्तै डाक्टर बन्ने सोच बुन्न थाले। 

बुवा नभएको भए साथी गुम्ने थिए भन्दै गम्न थाले। उनको बाल मस्तिष्कमा पर्यो- ज्यान बचाउन त डाक्टरै चाहिने रहेछ। म जसरी पनि डाक्टर बन्नुपर्छ।  

तर, विमललाई एउटा कुराको साह्रै पछुतो छ। ती साथी भेट्न नपाएकोमा। मुगु छोडेदेखि उनले ती साथीलाई भेट्न पाएका छैनन्। कस्तो छन् कुन हालमा छन् भन्ने पनि थाहा छैन। विमललाई ती साथी भेट्ने साह्रै रहर छ जसले सृजना गरेको परिस्थितीका कारण उनी आज डाक्टर भएका छन्।  

जता बुवा उतै विमल
कविराजका रूपमा कार्यरत बुवाको सरुवा जताजता हुन्थ्यो विमलको परिवार पनि उतैउतै जान्थ्यो। त्यसै कारण स्थायी घर बागलुङको जैदी भए पनि २०२५ मा म्याग्दीको राखुमा जन्मिए विमल। सात कक्षासम्म त उनको पढाइ पनि नियमित भएन। 

बागलुङको जैदीमै एक कक्षामा केही दिन पढेका थिए। तर, दुई र तीन कक्षा पढ्न पाएनन्। स्याङ्जाको आरुचौरमा बुवाको सरुवा भएपछि त्यहाँ उनले सिधै चार कक्षामा भर्ना भएर पढे। पाँच कक्षा पढिरहेको बेला फेरि मुगुको नखर्जीमा बुवाको सरुवा भएको थियो। 

त्यहाँ पनि केही समय पढ्न पाएनन्। कारण त्यहाँ विद्यालय नै थिएन। बुवाआमाले घरमै पढाउँथे उनलाई। पछि विद्यालय खुल्यो र सोझै सात कक्षामा भर्ना भएका थिए उनी। 

तर, सात कक्षामा अध्ययन थालेकै वर्ष बुवाको बागलुङ जिल्लाको बलेबास्थित पयूँपाटा भन्ने ठाउँमा सरुवा भयो। त्यहाँ आठ कक्षामा भर्ना भए। बल्ल आठ, नौ र दश कक्षा एउटै विद्यालयमा पढ्न पाए। त्रिभुवन माध्यामिक विद्यालयबाट उनले १५ वर्षको उमेरमा २०४० मा एसएलसी उत्तीर्ण गरे।

डाक्टर बन्ने सपना 
एसएलसीपछि विमलले पर्वतको फलेवासस्थित पर्वत बहुमुखी क्याम्पसमा अध्ययन गरे। तर, उनको ईच्छा भने डाक्टर पढ्ने नै थियो। मुगुमा बुवाले साथीलाई उपचार गरेर बचाएको क्षण उनले भुलेका थिएनन्। 

यता क्याम्पसमा पहिलो वर्षको परीक्षा नजिकिँदै थियो। उनको डाक्टर बन्ने हुटहुटी यस्तो थियो कि क्याम्पसको परीक्षा समेत नदिइ काठमाडौं हानिए। काठमाडौं आएर नरदेवी आयुर्वेद क्याम्पसमा २०४२ मा प्रविणता प्रमाणपत्र तहमा भर्ना भए। आयुर्वेद तथा सामान्य चिकित्सा विषयको तीन वर्षे कोर्ष २०४५ मा पूरा गरे। 

अध्ययनपछि विमलको सरकारी जागिर यात्रा सुरु भयो। हेल्थ असिस्टेण्ट (एचए)का रूपमा २०४६ मा  कास्कीको देउराली हेल्थपोष्टमा जागिर सुरु भयो। त्यहाँ उनले करिब डेढ वर्ष काम गरे। त्यसपछि उनले म्याग्दीको बेनिस्थित जिल्ला जनस्वास्थ्य कार्यलयमा अर्को डेढ वर्ष काम गरे।

तीन वर्ष एचएका रूपमा काम गरेपछि विमल एमबीबीएस अध्ययनका लागि सन् १९९१ मा रुस पुगे। शिक्षा मन्त्रालयको सरकारी छात्रवृति कोटामा एमबीबीएस अध्ययन गर्न ‘लुभोव स्टेट मेडिकल युनिभर्सिटी’ पुगे।

अध्ययन सकेर विमल सन् १९९८ मा नेपाल फर्किए। त्यसपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पोष्टिङ भयो। त्यहाँ मेडिकल अधिकृतका रूपमा उनले काम गर्न थाले। 

डेढ वर्षपछि विमलको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सरुवा भयो। त्यहाँ पनि डेढ वर्षै काम गरे। त्यसपछि ओखलढुङ्गाको ‘रुम्जाटार प्राथमिक स्वास्थ्य सेवा केन्द्र’मा दुई वर्ष काम गरे। 

विमललाई थप अध्ययनको भोक थियो। उनी रुमजाटारपछि काठमाडौं आए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा छात्रवृति कोटामा एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट भए।  २०६० सालमा स्नातकोत्तर तहको ‘एमडी इन्टरनल मेडिसिन’ विषय अध्ययनका लागि भर्ना भए। २०६३ मा अध्ययन पूरा भयो। 

विशेषज्ञ चिकित्सकको लाइसेन्स पाएपछि विमल पुनः पोष्टिङ भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा नै पुगे। त्यहाँ उनले २०६३ देखि २०७० सम्म काम गरे। २०७० बाट ०७२ सम्म वीर अस्पतालमा काम गरे।  

 

विमलका बुवाको भने देहान्त भइसकेको छ। तर बुवासँग उनले एउटा प्रश्न भने गर्न पाएनन्- सामान्य जडिबुटी र आयुर्वेदिक विधिबाटै कसरी ती साथीको उपचार सम्भव भयो? कसरी ती साथी बाँचे? 

यसरी बाँचिन् विष पिएकी युवती 
विमलले साथी कसरी बाँचे भनेर त जानकारी पाएनन्।  तर आफ्नै कर्मका दौरान भने उनले धेरैलाई बचाए। तीमध्ये एउटा केस विष पिएकी युवतीको छ। 

१५ वर्षअघि। विष पिएकी करिब १८ वर्षकी युवतीलाई अस्पताल ल्याइयो। अस्पताल पुर्याउँदै युवतीको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। चिकित्सकहरूमा आश लगभग मरिसकेको थियो।

उपचार प्रयास पनि भएको हो। तर सुधार भएन। टीम थकित भइसकेका थिए। यद्यपि, हार मानिसकेको थिएनन्। ती युवतीलाई बचाउन सकेको कोसिस गरी नै रह्यो विमलको टीमले। निरन्तर सीपीआर गरिरह्यो। मुटुको चाल फर्काउने एक किसिमको विधिलाई चिकित्सकीय भाषामा सीपीआर भनिन्छ।  

सामान्यतया विष पिएका बिरामीको प्राण सजिलै नजाने भएकाले अन्तिम अवस्थासम्म उपचार प्रयास गर्न छाड्नुहुँदैन भन्ने विमलले सिकेका थिए। विमलको ज्ञानले काम पनि गर्यो। टीमको अथक मेहनत र लामो उपचारपछि युवतीको मुटुको चाल फर्कियो। ज्यान जोगियो।  

विमलको टीममा खुशीको सीमै रहेन। उनी आफ्नो पेशाप्रति कृतज्ञ भए। बिरामी र उनको आफन्तको खुशीले विमल र उनको टीम हर्षित भयो।  

कोभिडमा नजिकका साथी समेत तर्किए 
डा. विमल कोरोना महामारीमा टेकु अस्पतालमा नै थिए। यही अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा रूपान्तरण पनि गरियो पछि। 

कोरोना महामारी फैलिएको समयमा सुरुसुरुमा त चिकित्सकहरूमा समेत भय थियो। त्यसमाथि पनि टेकु अस्पतालमा काम गर्ने भनेपछि अरू मान्छे नजिकिनै नखोज्ने। विमलले पनि भोगे यो समस्या। विमलले सुनाए, 'एक दिन एउटा डाक्टर साथीलाई चिया पिउन बोलाएको त, यो बाटो हिँड्नै डरलाग्छ भन्यो। भेट्न मानेन।’ 

त्यसो त चिन्ता उनलाई पनि नहुने कहाँ हो र! घरमा वृद्धा आमा, श्रीमती र दुई छोरीहरूलाई संक्रमणबाट जोगाउन उनी निकै सचेत थिए। तर जोगिँदा जोगिँदै पनि विमलका आमा र दुई छोरी कोरोना संक्रमित भए। पछि विमल पनि सङ्क्रमित भए। 

अवस्था गाह्रो गाह्रो भए पनि धन्न अस्पतालै भर्ना भने हुन परेन।   

संक्रमितको एक्स–रे रिपोर्ट हेर्दा चकित 
कोरोनाकै प्रसङ्गमा अर्को घटना पनि सुनाए विमलले। एक जना कोरोना संक्रमित पुरुषको एक्स–रे रिपोर्ट हेर्दा डा. विमल झस्किएछन्। ती पुरुष उपचारका लागि टेकु अस्पताल पुगेका थिए। सङ्क्रमण उच्च विन्दुमा थियो। 

तर, अस्पतालमा खुट्टा हाल्ने ठाउँ समेत थिएन। उनले छातीको एक्स–रे पनि गरेका थिए। अस्पताल भर्ना हुनुपर्ने उनले बेड नपाएपछि आकस्मिक कक्षको ढोका बाहिरबाटै चिकित्सकको परामर्शमा औषधि बोकेर घर फर्किए। घरमा नै अक्सिजनको व्यवस्थापन गरेर अक्सिजन लिए।  

दुई महिनापछि ती पुरुष फलोअपका लागि पुनः टेकु अस्पताल पुगे। डा. विमलले तिनको एक्स–रे रिपोर्ट हेरे। विमल चकित परे। मनमनै सोचे– धन्न बाँचेछन्। 

एक्स–रे रिपोर्टमा तिनको छाती अत्यन्तै खराब भएको देखिएको थियो। पछि विमलले उनको कुरा सुने। आइसीयूमा राखेर उपचार गर्नुपर्ने तिनी चिकित्सकले दिएको औषधि र घरमै अक्सिजन लिएको भरमा बाँचेछन्।

यस्तो गम्भीर अवस्थाको बिरामी बाँचेको देख्दा उनी निकै आश्चर्यमा पनि परे। पुलकित पनि भए। 

माछा उपहार 
कतिपय बिरामी फलोअपमा आउँदा उपहार समेत बोकेर पुग्छन्। उपहार स्वीकार्न डा. विमललाई निकै असहज लाग्छ रे। उपहार नल्याउन उनी अनुरोध पनि गर्छन्।  तर उपहार आउने क्रम रोकिएको भने छैन। 

केही वर्षअघि उपहार पाएको घटना पनि सुनाए उनले। एउटा बिरामीले उनलाई फलोअपमा आउँदा माछा उपहार ल्याइदिएकी रहिछिन्। कर्णालीकी करिब ५० वर्षकी महिलालाई ग्यास्ट्राइटिस भएको रहेछ। उपचारका लागि डा. विमलकहाँ छोरासँग पुगेकी थिइन्। 

उनीहरू आर्थिक रूपमा सबल नभएको विमलले ठम्याइसकेका थिए। उपचारपछि औषधि दिएर उनले तिनलाई बिदा गरे। सामान्य औषधिबाटै ग्यास्ट्राइटिस निको भएपछि वर्षौँदेखि रोग पालेर बसेकी महिलालाई ठूलै गुन लागेछ। 

केही महिनापछि ती महिला फेरि डा. विमललाई भेटन् पुगिन्। तर, त्यो दिन केही पाउन होइन, विमललाई केही दिन पुगेकी थिइन् उनी। विमललाई कर्णालीका माछा उपहार दिन पुगेकी थिइन् उनी। 

विमलले उपहार चाहिँदैन भनेर निकै भने। तर ती महिलाले निकै कर गरिन्। विमल हारे। माछा उपहार लिए। घरमा कर्णालीको माछा पाक्यो। विमलका छोरीहरूलाई माछा साह्रै मीठो लागेछ।

पुष १०, २०७८ शनिबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।