एमाले सुर्खेतको अधिवेशन व्यवस्थापनका लागि ८ वटा समिति गठन

एमाले सुर्खेतको अधिवेशन व्यवस्थापनका लागि ८ वटा समिति गठन

सुर्खेत : एमाले सुर्खेतको जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने भएको छ। शनिवार एमाले सुर्खेतले पत्रकार सम्मेलन गर्दै सुर्खेत जिल्लाको आठौँ जिल्ला अधिवेशन गर्न मिति तय गरिएको जनाइएको हो।

अधिवेशनका लागि सहभागी हुने प्रतिनिधि पुस १७ गतेभित्र वडाबाट छनोट गरिने  प्रचारप्रसार समितिका संयोजक गङ्गाराम तिमिल्सिनाले जानकारी दिए। वडाबाट प्रतिनिधि छनोट गर्दा अन्य जाती तथा जनजाति क्षेत्रबाट ३० जना पार्टीका क्रियाशील सदस्य बराबर १ जना प्रतिनिधि र दलित क्षेत्रबाट २० जना बराबर १ जना प्रतिनिधि छनोट हुने भएका छन्।

सुर्खेत जिल्लामा ९९ वडा छन्। जसमा एमालेका एक हजार दुई सय ८० जना पार्टीका क्रियाशील सदस्य रहेका छन्। जिल्ला अधिवेशनले एक सय पाँच जना कार्यसमिति सदस्य चयन गर्ने पार्टीका अध्यक्ष ध्रुवकुमार शाहीले बताए।

उनका अनुसार जिल्ला अधिवेशनका लागि सर्व सहमतको प्रयासबाट प्रतिनिधि छनोटको प्रक्रिया सुरु गरिने छ। ‘प्रतिनिधि छनोट गर्दा सकेसम्म सर्वसहमतीको प्रयास गर्नेछौँ’ अध्यक्ष शाहीले भने, ‘सर्व सहमति हुन नसकेका वडाहरूमा निर्वाचन गरेर भए पनि प्रतिनिधि छनोट हुनेछन्।’

एमालेको जिल्ला अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरिएका छन्। पार्टीको जिल्ला कमिटी बैठकबाट आठ वटा समिति गठन गरिएको हो। पार्टी अध्यक्ष समेत रहेका ध्रुवकुमार शाहीको नेतृत्वमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृत बहादुर बिसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र प्रचार–प्रसार समितिको संयोजकमा गङ्गाराम तिमिल्सेनालाई जिम्मेवारी तोकिएको छ।

यस्तै, हल तथा मञ्च व्यवस्थापन समिति संयोजकमा हरिहरनाथ योगी, खाना तथा खाजा व्यवस्थापन समिति संयोजकमा पूर्ण प्रसाद पौडेल, स्वयंसेवक परिचालन व्यवस्थापन समिति संयोजकमा चतुर्भुज शाही र अतिथि सत्कार समिति संयोजकमा सुशीला विकलाई जिम्मेवारी दिइएको छ।

एमाले सुर्खेतले पार्टीको जिल्ला कमिटीको सचिवालयमा सदस्य थप गरेको छ । जिल्ला कमिटी सदस्य समेत रहेका डम्मर तिवारी, हरिहरनाथ योगी, गङ्गाराम तिमिल्सेना, ऋषि गिरी, खड्का भट्टराई, पूर्ण प्रसाद पौड्याल र यज्ञ ढकाललाई सचिवालय सदस्यमा थप गर्ने निर्णय समेत गरेको छ।

यसै गरी, टिकाराम सोमै, सुशीला विक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी र जीतबहादुर सिंहलाई समेत जिल्ला कमिटीको सचिवालयमा थप गर्ने निर्णय गरेको प्रचार–प्रसार समिति संयोजक गङ्गाराम तिमिल्सेनाले जानकारी दिए।

पुष १०, २०७८ शनिबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।