सैनामैनाको पुरातात्त्विक क्षेत्र सुकुम्वासीको नाममा अतिक्रमण
बुटवल : रुपन्देहीको बुद्धकालीन सभ्यताका महत्त्वपूर्ण पुरातात्त्विक वस्तु तथा अवशेष फेला परेको सैनामैना क्षेत्र सुकुम्वासीको नाममा अतिक्रमण हुन थालेको छ।
अतिक्रमणसँगै बुद्धकालीन कलाकृति देखिने वस्तुहरू स्थानीयले घरायसी वस्तुका रूपमा प्रयोग गर्दै आएका छन्।
सुकुम्वासीको अतिक्रमणले पुरातात्त्विक वस्तु तथा अवशेषको संरक्षण हुन सकेको छैन। अहिले नै सैनामैनाको पुरातात्त्विक क्षेत्र आसपासमा केही भूभाग सुकुम्वासीको नाममा अतिक्रमण भइसकेको छ।
केही वर्षअघि लुम्बिनी विकास कोषले सामान्य उत्खनन गर्दा थुप्रै पुरातात्त्विक बस्तुहरू भेटिएका थिए। तर त्यसयता सैनामैनाको न खोजी भएको छ न संरक्षण नै।
सैनामैना खुला संग्राहलयका रूपमा रहेकाले त्यसको संरक्षण आवश्यक रहेको संस्कृतिविद् डा. गितु गिरी बताउँछन्।
सैनामैना नगरपालिका गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ।
साबिकको पर्रोहा र दुधराक्ष गा.बि.स. एक आपसमा गाभिन गई २०७१ साल वैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्व बोकेको सैनामैना २०७५ साल कात्तिक १५ गते पर्यटन गन्तव्यको रूपमा घोषणा भएको क्षेत्र हो। नगरपालिकाको गहनाको रूपमा ऐतिहासिक पुरातात्त्विक सैनामैना क्षेत्र, स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरू, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र छन्।
सैनामैना नगरपालिका वाड नम्बर १ को विभिन्न स्थानमा बुद्धकालीन इट्टा, औजार, पुरातात्त्विक महत्त्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेका छन्। ती कुवाहरूलाई तारबार गरेर संरक्षण गरिएको छ।
सैनामैना नगरपालिकाले पुरातात्त्विक महत्त्वको सम्पदा संरक्षणका लागि सिरानटोलमा सैनामैना पुरातात्त्विक सङ्ग्रहालय समेत निर्माण गरेर बुद्धकालीन मूर्तिको संरक्षण गर्दै आएको जनाएको छ।
नगरपालिकाले समेत बुद्धकालीन सभ्यताको संरक्षणका लागि वृहत् गुरुयोजना बनाएर काम गर्न लागेको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताए।
पुष १०, २०७८ शनिबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।