एक्ली महिला अधिवक्ता जसलाई पीडितले ‘भगवान’ मान्छन्
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-४ की गीता कोइराला सुर्खेतकी एक्ली महिला अधिवक्ता हुन्, जो दैनिक अदालत गई मुद्दाको कामकाज गर्छिन्। सानैदेखि मानव सेवा गर्न रुचाउने गीता अहिले पनि दीन-दुःखीको सेवामा रमाइरहेकी छिन्।
गाउँ-समाजमा कानुनी अनविज्ञताका कारण धेरै पीडितले न्याय नपाएको देख्दा उनलाई पीडा हुन्थ्यो। त्यसै कारण कानुन पढ्नैपर्छ भन्ने सोच उनमा आयो र कानुन विषय रोजिन्।
बेसहारा, गरिब र हिंसा पीडितहरुको सेवा गर्ने उद्देश्य लिएपछि उनका बुबा-आमाले पनि छोरीलाई न्याय क्षेत्रमा काम गरोस् भन्ने चाहना राखे।
२०७० सालमा कानुन विषयमा स्नात्तकोत्तर गरेकी गीताले आएएल पास गरेपछि २०५५ सालमा नेपाल बार काउन्सिलबाट अभिवक्ताको लाइसेन्स लिइन्। त्यसपछि निरन्तर कानुन व्यवसायीको रुपमा काम गर्दै आएकी छन्। उनले २०६२ सालमा अधिवक्ताको लाइसेन्स पनि पाइन्। केही वर्षसम्म अरुको ल फर्ममा काम गरिन्।
कानुन विषय पढेर या लाइसेन्स लिएका महिला सुर्खेतमा धेरै भए पनि दैनिक रुपमा अदालती अभ्यास गर्ने महिला अधिवक्ता गीता मात्रै हुन्।
केही समय विभिन्न मानवअधिकारवादी संघसंस्थासँग सहकार्य गरेर काम गरेकी गीता पाँच वर्षयता ‘गीताञ्जली ल फर्म’ मार्फत हिंसापीडित महिला, गरिब दीन दुःखी र बेसहाराको लागि काम गर्दै आएकी छन्।
उनीकहाँ करिब ९० प्रतिशत हिंसापीडित महिला आउने गर्छन्। कोही श्रीमानबाट अपहेलित, कोही श्रीमानले अर्को विहे गरेका, कोही आफ्नै सन्तानले घरबाट निकालेका जेष्ठ नागरिक, बलात्कारको सिकार बनेका महिला तथा किशोरीहरु उनीसँग आउने गर्छन्। शनिबार अदालती कामकारबाही नहुँदा उनी पीडितलाई सम्झाइ-बुझाइ गरे बस्छिन्।
उनीकहाँ आउने धेरैजसो आर्थिक अभाव कमजोर भएका हुन्छन्। ‘कतिपय पीडित महिला ‘गीता म्याम मसँग पैसा छैन, मलाई सहयोग गरिदिनूस् पछि कमाएर पैसा दिन्छु’ भनेर आउँछन्,’ उनी भन्छिन्, ‘त्यस्ता पीडितलाई जाहेरी र मुद्दा निःशुल्क लेखिदिन्छु। पीडितका लागि रोजगारीको व्यवस्था गरी सहज जीवन बिताउन सहयोग पनि गर्छु।’
उनीहरुको योग्यता र क्षमता अनुसारको काम खोज्दै विभिन्न संघसंस्थामा हारगुहार गर्छिन् गीता। सहयोग पाएका महिलाले उनलाई ‘गीता भगवान’ भनेर धन्यवाद दिन्छन्। आमाजस्तै हुनुहुन्छ भनेर सम्मान गर्छन्।
साँच्चै उनी दुःखी र हिंसापीडित महिलाको लागि भगवान नै बनेकी छिन्। तीन जना पीडित महिलालाई त उनले आफ्नो ल फर्ममा जागिर नै दिएकी छन्। कतिपय महिलालाई लत्ता-कपडा दिन्छिन् त कतिलाई औषधि उपचार गरिदिन्छिन्। कतिलाई कयौं दिनसम्म घरमा खाना खुवाएर पठाउँछिन्।
उनको लफर्ममा कानुनी किताब र मुद्दाका मिसिल मात्रै हुँदैनन्, गरिब र दीनदुःखीका लागि लगाउन कपडा, खाद्यन्न र भाँडाहरु पनि हुन्छन्। यी सामग्री उनले गाउँका अन्य मान्छेहरुसँग मागेर राखेकी हुन्छिन्। र, पीडितको आवश्यकता अनुसार बाँड्छिन्।
‘न्यायको लागि आउने महिला यतिसम्म हुन्छन् कि शरीरमा लगाएको कपडा पनि ठाउँठाउँबाट फाटेको हुन्छ,’ अधिवक्ता गीता भन्छिन्, ‘सात–आठ महिनाका गर्भवती हुन्छन्। कोही ७२ वर्षका आमाहरु हुन्छन्। सुत्केरी महिला बच्चा बोकेर आउँछन्। उनीहरूका बच्चाले दूध समेत खान पाएका हुँदैनन्। उनीहरूको समस्या देख्दा मन रुन्छ र सहयोग गर्न मन लाग्छ।’
आफूकहाँ आउने धेरैजसो महिला हिंसा, बलात्कारपीडित र पालनपोषण नभएका हुने उती बताउँछिन्। ‘कतिपय आफ्नै नातेदारबाट बलात्कार भएका घटना आउँछन् भने कतिपय अवस्थामा विवाह गर्ने सर्तमा बलात्कार भएपछि उनीहरूबाट जन्मिएका बच्चालाई स्वीकार नगरेकाहरु आउँछन्,’ उनले भनिन्, ‘एकातिर कुमारी आमाको दर्दनाक अवस्था हुन्छ भने अर्कोतिर उनीहरूबाट जन्मिएको बच्चाको बिचल्ली।’
कानुन व्यवसायीको तर्फबाट काम गरेवापत पाउने पैसाभन्दा पीडित व्यक्तिहरुलाई निःशुल्क गरेको सहयोगले आफूलाई आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन्।
हिंसा सहन नसकेर आत्महत्याको बाटो रोजेका महिला र किशोरीहरुलाई समेत उनले ज्यान जोगाएर पुर्नजीवन दिएकी छन्।
‘मानव सेवाभन्दा ठूलो धर्म केही छैन। व्यावसायिक वकिल होइन, सामाजिक वकिल बनेर सेवा गर्ने रहर छ,’ उनले भनिन्, ‘पुरुष वकिलभन्दा महिला वकिललाई काम गर्न धेरै गाह्रो रहेछ।’
अधिवक्ता गीताले करिब दुई सय जना महिलालाई मुद्दा, रोजगारी, ज्याला मजदूरी, विभिन्न सिपमुलक तालिममा सिफारिस समेत गरेकी छिन्।
उनको घरमा एक छोरा, एक छोरी र श्रीमान् गरी चार जनाको परिवार छ। उनका श्रीमान कृष्णराज उपाध्याय पनि अधिवक्ता हुन्। उनी काठमाडौंमा ल फर्म खोलेर काम गरिरहेका छन्। उनका छोराले काठमाडौंमै सिए पढ्दैछन् भने छोरी पनि बिए एलएलबी (कानुन) पढ्ने तयारीमा छिन्।
पुष ९, २०७८ शुक्रबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।