सुर्खेतमा मापसे गरेर सवारी चलाउनेलाई कारबाहीसँगै सचेतना कक्षा
सुर्खेत : सुर्खेतमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको पाइएपछि कानुनले तोकिएको कारबाहीसँगै एक दिनको सचेतना कक्षा लिनुपर्ने भएको छ।
मापसे सेवन गरेर सवारी साधन चलाउनेको संख्यामा वृद्धि हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मादक पदार्थ सेवन गर्ने सवारी चालकलाई कानुन बमोजिम कारबाहीसँगै एक दिनको सचेतनामूलक कक्षा पनि दिने भएको हो।
बिहीबारबाट सचेतना कक्षा सुरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए।
बिहीबाट सचेतना कक्षामा ३० जना सहभागी भएको प्रमुख आचार्यले बताए।
उनका अनुसार एक हप्तामा दुई दिन सचेतना कक्षा सञ्चालन गरिने छ। उक्त कक्षामा मदिरा सेवन गरेर सवारी साधन चलाउँदा हुने जोखिम र क्षतिबारे चालकलाई सचेत गराइने छ।
मादक पदार्थ सेवन गरेर सवारी चलाएकै कारण सडक दुर्घटना बढ्न थालेको त्यसको न्यूनीकरणका लागि यस्तो अभियान थालिएको उनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार चालु आर्थिक वर्षको हालसम्म सुर्खेतमा मदिरा सेवन गरेर सवारी साधन चलाउने एक सय ९२ जना चालक कारबाहीमा परेका छन्।
पुष ९, २०७८ शुक्रबार १०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।