डान्स च्याम्पियनमा जज जगत नै गायब

डान्स च्याम्पियनमा जज जगत नै गायब

काठमाडौँ : डान्स सम्बन्धी रियालिटी शो डान्स च्याम्पियनले डान्स प्रेमीमाझ जिज्ञासा बढाउन नसकेपछि स्टेज सेटअपदेखि कार्यक्रमको मोडलै बदलेको छ।

कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम भए पनि यसले दर्शकको मन जित्न सकेन। त्यसमा कार्यक्रम सञ्चालक, जजहरूको प्रतिक्रिया अनि कार्यक्रमको डेकोरेशन पनि कारण थियो।

त्यसमा लामो समय भारतमा बसेका तर डान्सका पोख्त जगत रावलको हिन्दी टोनको नेपाली बोलीले पनि कार्यक्रम कस्तो-कस्तो पारिरहेको थियो।

यी सबै कारणले हुनसक्छ कार्यक्रम दर्शकमाझ जम्न सकेन। त्यसैले।होला निर्माण टिमले नवौँ एपिसोडमा गएर कार्यक्रमको सेटअपदेखि फर्म्याटसम्म बदलेका छन्।

कार्यक्रमै नयाँ झैँ गरी टप २० छानिनुलाई ग्राण्ड प्रिमियर नामकरण गरियो। कार्यक्रममा अब गेस्ट बोलाउन थालियो। जज बस्ने स्थानको सेट अप अलि हेर्न लायक बनाइयो।

कार्यक्रममा तीन जना जज थिए। आश्मा विश्वकर्मा, जगत रावल अनि निरुता सिंह। सातौँ एपिसोडमा जगत देखिएनन्। जगतको ठाउँमा गेस्ट हास्य कलाकार कक्रोजलाई राखियो।
जगतले शो छाडेका हुन् या एक एपिसोडमा मात्र अनुपस्थित भएका हुन् निर्माण टिमले खुलाएका छैनन्। कार्यक्रम सञ्चालकले पनि तेस्रो जज अनुपस्थित भएको कारण नखुलाएकाले रावलले शो छाडेको हुनसक्छ।

सन् २००९ देखि भारतमा डान्स गर्दै आएका रावल पोख्त कोरियोग्राफर हुन्। उनी सन् २००९ मै भारतको डान्स रियालिटी शो बुगीउगीमा सहभागी भएका थिए। 

पुष ९, २०७८ शुक्रबार ०९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।