गोल्डेन माइकमा आइडलका जजले चलाखी गरेकै हो त !
काठमाडौँ : काठमाडौँको सामाखुसीमा बस्दै आएका गोर्खाका मदन गुरुङ जब नेपाल आइडलको काठमाडौँ अडिसनमा सहभागी भए पहिला त्यति राम्रो रेस्पोन्स नगरेझैँ गरे जजहरूले।
उनले 'मागेर पाउने भए म' बोलको गीत सुनाएका थिए। काठमाडौँमा दोहोरीमा गाउने उनी छानिने/नछानिने पक्का थिएन। किनकि काठमाडौँ अडिसनमा प्रतिभाको लाइन लामै थियो।
उनले गाउन शुरुगर्दा नै गायिका शुवानीको अनुहारले आश्चर्यको भाव देखाइसकेको थियो। तपाईँलाई देख्दा त्यस्तो लाग्दैन। क्या बोल्ड अनि क्लिन भोइस् भनेर सुगम पोखरेलले सकारात्मक सङ्केत देखाइसकेका थिए।
तर पहिलो गीतबाट रिजल्ट आएन। उनलाई कौडा भाका गाउन लगाए तीनै जना जजले। उनले खुलेर गाए। तै पनि निर्णय आएन। तीनै जना जज छलफलमा जुटे।
मदन नर्भस भइरहेका थिए। तेस्रो गीतको अफर आयो। 'फेवातालमा साइली' गाए। सुवानीले पियानो बजाएर साथ दिइन्।
आफूले कस्तो गाएझैँ लाग्छ भनेर जजले सोध्दा खै भन्छन्। उनी नछानिने भइयो भन्नेमा पुगे। जति पटक असफल भए पनि नेपाल आइडलमा आइरहने बताए उनले। जजहरूले सरप्राइज दिँदै उनलाई दोस्रो राउन्डमा मात्रै हैन सिधै गोल्डेन माइक दिए। उनी खुसी हुने नै भए।
एक सिजनमा तीन वटा गोल्डेन माइक हुन्छ। त्यसमा पहिलो माइक पोखरा अडिसनमा राजकुमार परियारले पाइसके। अब बाँकी एक माइक छ। यो सिजनमा एक प्रतियोगी सबैतिरको अडिसनमा आएको आयै छन् गणेश सुवेदी। उनी जता पनि असफल भए छानिन। पोखरामा पनि असफल भएका उनी काठमाडौँ अडिसनमा पनि पक्कै आउँछन् नै।
यसअगाडि उनीबारे उकेरामा प्रकाशित समाचारमा एक पाठकले उनी सिजन ३ मा विजेता रवि ओडसँगै गाएकाले काठमाडौँ अडिसनमा गोल्डेन माइक पाउने दाबी गरेका थिए। हामीले खोज्दा ती पाठकको दाबी सत्य देखियो। उनले ओडसँग मायाले बाँध लौ रेसम गाएका रैछन्। यो पछि चैँ आइडलका निर्माण टिमले कार्यक्रममा मसला थप्न उनलाई हरेक अडिसनमा घुमाइरहेझैँ लाग्यो है। हेरौँ न कतै तेस्रो माइक उनकै लागि पो हो कि!
पुष ९, २०७८ शुक्रबार ०१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।