माओवादीमा उत्तराधिकारीको प्रतिस्पर्धा : प्रचण्डपछि नारायणकाजी कि कृष्णबहादुर महरा ?

माओवादीमा उत्तराधिकारीको प्रतिस्पर्धा : प्रचण्डपछि नारायणकाजी कि कृष्णबहादुर महरा ?

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सम्मेलनको लागि दस्ताबेज तयारीमा व्यस्त छन्। २०६४ को पहिलो संविधानसभामा सबैभन्दा ठुलो दल बनेको माओवादी अहिले कमजोर अवस्थामा छ। पुस ११ बाट हुने राष्ट्रिय सम्मेलनमा पार्टी कमजोर बन्दै गएकोबारे समीक्षाको तयारी भइरहेको छ।

गत फागुन २३ को सर्वोच्चको फैसलापछि माओवादी केन्द्रको नाम फेर्ने समेत तयारी थियो। ‘माओवादी नाम नै घाँडो भयो’ भन्ने सम्मका गुनासो केन्द्रीय सदस्यले राखेका थिए। तर जनयुद्धको विरासत जोगाउनुपर्ने भन्दै बहुमत स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरूले नाम फेर्न मानेनन्।  

यही बेला प्रचण्डले कहिले पार्टी नै विघटन गर्न मन लागेको भन्दै दिक्दारी व्यक्त गरे त कहिले नाम बदल्नेबारे बहस पनि चलाएका नै हुन्। उनले अवकाश लिएर बस्न मन लागेको धारणा सार्वजनिक रूपमा व्यक्त गरे पनि उनको उत्तराधिकारी भने देखिएको छैन पार्टीमा।

उनले आफ्नो चाहनाले भन्दा पनि पार्टीको आवश्यकताले नेतृत्वमा बस्न बाध्य भएको बताउने गरेका छन्। उनले पार्टीबाट अवकाश लिएर पुस्तक लेख्न मन भएको धेरै अगाडि नै बताएका हुन्। उनले पार्टीको एक कार्यक्रममा सबैलाई मिलाएर अगाडि लैजान सक्ने नेतृत्व नै नपाएको भन्दै मञ्चमा रहेका नेताहरूतिर हेर्दै मुख बिगार्दै भनेका थिए' नेतृत्व लिन्छु भन्नेहरू त छन् तर सबैलाई मिलाउन सकेका हैनन्।'

उनले सार्वजनिक मञ्चहरूमै राख्ने धारणाले उनी पार्टीको नेतृत्व छाड्न राजी भए जस्ता देखिएका छन्। तर आफूपछिको उत्तराधिकारी समेत निर्माण गर्न सकेका छैनन्। न त पार्टीमा नेतृत्व चयनमा लोकतान्त्रिक विधि नै अपनाउन सकेका छन्।

बहुपदमा जाँदै माओवादी

अहिले माओवादी केन्द्र एकात्मक अध्यक्षात्मक प्रणालीमा चलेको छ। यसले पार्टीमा नेतृत्व विकास नभएको भन्दै अब बहुपदमा लैजाने तयारी भइरहेको छ। माओवादीको अन्तरिम विधान २०७८ ले पार्टीलाई बहु पदाधिकारीमा लैजाने तयारी गरेको छ। हालको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव भनिएको छ । तर, विधानमा कुन पदाधिकारीको सङ्ख्या कति हुने भन्न उल्लेख छैन । अन्तरिम विधानमा भएको पदाधिकारी ग्यारेण्टेड छैनन् । राष्ट्रिय सम्मेलनबाट पदाधिकारीका पद र सङ्ख्या यकिन हुनेछ ।

अब पार्टीमा समावेशी, महिला र खुला गरेर पाँच उपाध्यक्ष बनाउने तयारी छ।  प्रचण्डपछि एक जना वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष एक र चार जना उपाध्यक्ष हुने गरी प्रचण्डले तयारी गरेका छन्। एक नेताका अनुसार नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने तयारी छ। पार्टी प्रवक्ता कृष्णबहादुर महरा पनि वरिष्ठ उपाध्यक्षको लाइनमा छन्। अध्यक्ष प्रचण्डको रुचि पनि महरालाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन्। अहिलेको लागि जे पदाधिकारी भए पनि प्रचण्डको उत्तराधिकारीको रूपमा वरिष्ठ उपाध्यक्षलाई अघि सार्ने योजना माओवादी भित्र छ।

महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको चर्चा छ। चीनमा उपचाररत पुन राष्ट्रिय सम्मेलनअघि नै नेपाल फर्कने बताइएको छ। उपाध्यक्षमा आधा दर्जन बढी आकाङ्क्षी देखिएका छन्। देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, हरिबोल गजुरेलमध्येबाट उपाध्यक्ष चयन हुने सम्भावना छ। महरा, भुसाल, यादव र गुरुङको उपाध्यक्ष बन्ने सम्भावना बलियो देखिन्छ। प्रचण्ड पछिको नेतामा नारायणकाजी श्रेष्ठ या कृष्णबहादुर महरामध्ये को हुने भन्ने अझैँ टुङ्गिएको छैन।

‘अहिले पार्टीभित्रको कोणबाट हेर्दा स्वाभाविक ढङ्गले प्रतिगमन विरुद्धको आन्दोलनको संयोजन कमरेड प्रकाश (नारायणकाजी) जीले गर्नुभयो। त्यो सबैले देखेको कुरा हो। अहिलेको पार्टीमा पहिले नेकपा अन्तर्गतको सचिवालयका प्रचण्ड र प्रकाश हुन्,’ एक स्थायी कमिटी सदस्यले उकेरासँग भने ‘हामी अरू स्थायी कमिटीमा छौँ। यो पछिको नेता वा उत्तराधिकारीमा प्रचण्डको विश्वास छैन। अहिले उहाँ नेताहरूको पनि नेता हो। अरू नेताहरू पनि पार्टी भित्र हुनुहुन्छ। प्रचण्डको वरिपरिबाटै समाजवादी क्रान्तिको नेपाली मोडेल बनाउने तयारी छ। त्यसो हुन सकेमा माओवादी क्रान्ति पनि सही दिशामा जान्छ, त्यही ढङ्गले यसलाई बुझौँ न।’

सभामुख रहँदा संसद् सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार प्रयासको अभियोगमा राजीनामा दिएका महरा अदालतबाट सफाइ पाएसँगै पुनः पार्टीमा सक्रिय भए । लामो समय दाहालसँग निकट रहेर काम गरेका उनी दाहालको रोजाइका पात्र हुन्। पार्टीमा श्रेष्ठपछिको तेस्रो वरियतामा रहेका महरा प्रचण्डको रोजाइमा परे पनि नैतिक धरातल कमजोर भएकाले विपक्षीका लागि राजनीतिक मुद्दा हुन्छ कि भन्ने डर पार्टीका नेताहरूमा देखिन्छ ।

अर्कोतिर नारायणकाजिमाथि पार्टीभित्रै गुट जन्माएर अराजकता फैलाउने प्रयास गर्ने तथा शक्तीका लागि मरिहत्ते गर्ने नेताको आरोप लाग्ने गरेको छ। उनीमाथि सशस्त्र द्धन्द्धमा सहभागी नभई त्यसको जस लिने नेताको रुपमा सशस्त्र संघर्षबाट आएका नेताहरुले त्यति रुचाउँदैनन्।

नारायणकाजीलाई उत्तराधिकारी बनाऊँ आफ्नो गुटको स्वार्थ बाहेक हेर्दै नहेर्ने। कृष्णबहादुर महरालाई बनाऊँ नैतिक पतनको आरोपमा अदालतले त सफाइ दियो तर समाजले अझैँ दिएको छैन। अर्को समस्या जनयुद्धका सहयात्री हेर्ने कि जनआन्दोलनको। यही प्रश्नको वरिपरि प्रचण्ड अहिले रुमल्लिइरहेको देखिन्छ।

प्रचण्ड पछिको नेता को हो भन्ने प्रश्नमा केन्द्रीय सदस्य हितबहादुर तामाङ  अहिले यो सान्दर्भिक प्रश्न नै नभएको बताउँछन्।

'अहिले दोस्रो तहको नेता भनेको नारायणकाजी नै हुनुहुन्छ। अध्यक्षका अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने, आवश्यक पर्दा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने काम उहाँबाट हुन्छ,’ उनले भने।

उनी  वरियताको क्रम अनुसार साङ्गठनिक नेतृत्वमा आउन सक्ने सम्भावना रहेको बताउँछन्। उनले को सिनियर अनि को जुनियर त्यो स्थायी नहुने बताए।

जनयुद्धका सहकर्मी भएकाले महरालाई उत्तराधिकारीको रूपमा देखाउनै पर्ने र श्रेष्ठलाई छाड्दा ०६३-६४ पछिको पार्टी एकीकरण पछिका कार्यकर्तालाई सम्बोधन नहुने दबाबमा अध्यक्ष प्रचण्ड देखिएका छन्।

प्रचण्डलाई एकताको भाव पनि देखाउनु छ। नारायणकाजीलाई बाहिर राखेर त्यो देखाउन सकिँदैन। जनयुद्धभन्दा बाहिरबाट आएकालाई पनि हामीले स्थान दिन्छौँ भन्ने म्यासेज दिनुपर्ने भएकाले प्रचण्डले स्वीकार गर्नुपर्ने देखिन्छ।

'माओवादीमा एउटा जनयुद्धबाट आएको र अर्को अन्य पार्टीबाट आएको शक्ति छ। जनयुद्धकै शक्तिहरूलाई च्याप्दाखेरि एकताबाट आएका शक्ति बिच्किन सक्छन् र अरू आउन चाहँदैनन् भन्ने म्यासेज जाँदा नारायणकाजीलाई च्याप्नु इच्छा नभए पनि राजनीतिक विवशता हो,’ राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्'  जनयुद्धबाट आएकाले मात्र पार्टी कब्जा गर्ने हो भने अरूलाई हामी त साक्षी किनारा रहेछौँ भन्ने म्यासेज जान सक्ने र त्यसले राष्ट्रिय राजनीतिमा पनि माओवादीको हिस्सालाई तलमाथि पार्न सक्ने दबाबमा प्रचण्ड देखिन्छन्।'

पुष ८, २०७८ बिहीबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।