रियालिटी शोमा अनुमति नलिई सिमसिमे पानीमा गाएपछि गायिका रेखाले दिइन् मुद्दा हाल्ने चेतावनी

रियालिटी शोमा अनुमति नलिई सिमसिमे पानीमा गाएपछि गायिका रेखाले दिइन् मुद्दा हाल्ने चेतावनी

काठमाडौँ : अनुमति नै नलिई रियालिटी शोहरुमा आफ्नो गीतको प्रयोग गरेपछि गायिका रेखा शाहले तत्काल आफ्नो गीत विना अनुमति प्रयोग नगर्न आग्रह गर्दै गरेमा कानुनी कारबाहीमा जाने चेतावनी दिएकी छिन्।

उनले गाएको सर्वकालिक गीत 'सिमसिमे पानीमा' अधिकांश रियालिटी शोका सहभागीहरूले गाउने गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै सो गीतको प्रतिलिपि अधिकार आफूसँग रहेको तर अनुमति नै नलिई विभिन्न रियालिटी शोहरुमा प्रयोग भइरहेको भन्दै उनले अर्काको सम्पत्ति विना अनुमति प्रयोग गरेर पैसा कमाइरहेको आरोप लगाएकी छिन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्',मेरो रचना/सङ्गीत (शब्द/लय) रहेको गीत ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ रेडियो नेपालमा गाएर स्वर्ण पदक पाएको ३० वर्ष पुगिसकेको छ। आज मेरो पहिचान नै त्यही गीत बनेको छ। मसँग प्रतिलिपि अधिकार सुरक्षित रहेको मेरो गीत मेरो अनुमतिबिना विभिन्न रियालिटी शोहरू गाइएका छन्।'

उनले प्रतिभा पहिचान गर्ने हो भनेर कुनै आयोजकलाई प्रतिक्रिया नदिएको तर अहिले आएर त्यही प्रतियोगिताहरूमा विजेता बनेका भाइबहिनीहरूले व्यावसायिक प्रयोजनका निम्ति गाइने स्टेज शोहरूमा गाउँदै पैसा कमाइरहेको देखेको भन्दै अनुमतिबिना म्युजिक ट्र्याक बनाई गाएकोले एउटा स्रष्टा र सर्जकमाथि अन्याय र हेपाहा प्रवृत्ति देखा परेको महसुस भएको बताएकी छिन्।

'आगामी दिनमा त्यसरी व्यावसायिक प्रयोजनका निम्ति मेरो गीत प्रयोग नगरिदिनुहुन अनुरोध छ। साथै, मेरो अनुरोधलाई बेवास्ता गरी प्रयोग गरेमा प्रतिलिपि अधिकार अनुसारको कानुन र अनुमतिबिना कसैको सम्पत्तिको भोग चलन बापतको ठगी मुद्दा अनुसारको कानुनी कारबाही गरिने जानकारी गराउँदछु,' उनले लेखेकी छिन्।

अहिले नेपालमा गायन सम्बन्धी तीन वटा रियालिटी शो प्रसारण भइरहेका छन्। बालबालिका सम्बन्धी 'सारेगामापा लिटिल् च्याम्पस्' र 'द भोइस् किड्स' प्रसारण भइरहेको छ भने अर्को नेपाल आइडलको अडिसन राउन्ड चलिरहेको छ। उनले  भाई-बहिनी भनेर बालबालिका सम्बन्धी रियालिटी शोलाई सङ्केत गरे पनि यी दुईमध्ये कुन चैँ कार्यक्रममा उनको गीत विना अनुमति प्रयोग भयो सो खुलाएकी छैनन्।

पुष ८, २०७८ बिहीबार १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।