लुम्बिनीले सरकारसँग माग्यो भवन निर्माण गर्न पैसा

बजेट अभावले स्थायी राजधानी दाङ देउखुरीमा पूर्वाधार निर्माणको काम रोकिएको भन्दै प्रदेश सरकारले केन्द्र सरकारसँग पैसा मागेको हो।
बजेट निकासा नहुँदा प्रदेश सभा भवन निर्माणको काम रोकिएको छ। प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले राजधानीका लागि पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारसँग बजेट माग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले जानकारी दिए।
प्रदेश मन्त्रिपरिषद्ले स्थायी राजधानी तोकिएको १ वर्ष पछि जग्गा प्राप्त गर्न पनि सिफारिस गरिएको शर्माले बताए।
मन्त्री शर्माका अनुसार दाङको भालुवाङ क्षेत्रमा पर्ने बन क्षेत्र तथा इलाका बन लमहीको मातहतमा रहेको जग्गा प्रदेश सरकारका नाममा स्वामित्व कायम गर्न मन्त्रिपरिषद्ले सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।
राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती मावि गढवाको जग्गा हस्तान्तरणका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि प्रदेश मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले भालुवाङको स्वास्थ्य चौकीलाई ५० शय्याको अस्पताल बनाउने, प्रदेशमा दर्ता भएका रेडियो, टेलिभिजनको नवीकरण शुल्क मिनाहा गर्ने, कपिलवस्तु र नवलपरासीमा पनि यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए।
पुष ८, २०७८ बिहीबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।