धुर्मुस-सुन्तलीले सम्पत्ति विवरण सार्वजनिक गर्लान् त ?

धुर्मुस-सुन्तलीले सम्पत्ति विवरण सार्वजनिक गर्लान् त ?

यो बिचमा उनीहरूको आर्थिक स्रोत घर मात्र चल्नसक्ने केही कम्पनिको एम्वेसडर हुँदा आउने रकमै हो। मुख्य स्रोत टेलिसिरियल खेल्न छाडिसके। स्टेजमा यी दुवै हराइसके। एउटा फिल्म बनाए। त्यो पनि फ्लप भयो। नेपाल बाहिर कार्यक्रम हुन छाडिहाल्यो।

स्थायी आम्दानीको बलियो स्रोत देखिन्न। तर जीवनशैली भने मध्यमवर्गका कलाकारबाट उच्च वर्गको कलाकारमा उक्लिसकेको उनीहरूको दैनिकबाट देखिन्छ। उनी निकटहरू नै उनीहरूको जीवनशैली देखेर कलाकार भन्दा त समाजसेवा पो फाइदाजनक रैछ भन्ने प्रतिक्रिया दिन थालेको सुनिन्छ। नाममा नाम पनि, दाममा दाम पनि।

भूकम्पबाट घरवारहिन भएकालाई सामूहिक बस्तीमा बसाउने अभियान हुँदै अन्तर्राष्ट्रिय रङ्गशालामा पुगेर फ्लप भएका उनीहरू अहिले १७ करोडको ऋणसहित रङ्गशाला भरतपुर महानगरपालिकालाई सुम्पने अभियानमा लागेपछि आलोचना भइरहेको छ।

परियोजनाको पारदर्शिता, पूर्ण लेखा परीक्षणसँगै कलाकार हुँदाताकाको उनीहरूको सम्पत्ति अनि समाजसेवी भएपछिको सम्पत्ति विवरण सार्वजनिक गर्न समेत माग हुन थालेको छ। सम्पत्ति विवरण व्यक्तिगत गोपनीयताको विषय हो। तर उनीहरूले यो बिचमा जति परियोजना गरे ती आम नागरिकबाट चन्दा उठाएका हुन्। यसमा ठुलो रकम विदेशमा श्रम गर्न गएका नेपालीको पसिनाको अंश छ।

उनीहरूले सबै परियोजनाको विवरण सार्वजनिकै भएको दाबी गर्दै आएका छन्। तै पनि शङ्का भो। अब शङ्का भइसकेपछि निराकरण गर्ने दायित्व उनीहरूकै त हो। त्यसैले यो बिचको सम्पत्ति विवरण सार्वजनिक गरेर शङ्का निवारण गरेर फेरि कलाकारितामा फर्किए भइहाल्यो। गर्लान् त ?

पुष ७, २०७८ बुधबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।