अक्षरसँग खेल्दै आमाहरू

अक्षरसँग खेल्दै आमाहरू

छोरा-बुहारी, छोरी र नातिहरू अमेरिका भएका कारण रेनुका बेलाबेलामा अमेरिका जान्छिन्। 

६ वर्षअघि अमेरिका गएका बेला जताततै अंग्रेजी अक्षर लेखेको देख्दा उनलाई त्यहाँ एक्लै घुम्न, सपिङ गर्न आँट आएन। अंग्रेजी अक्षर उनलाई ‘कालो अक्षर भैंसी बराबर’ लाग्यो। अक्षर चिन्न नसक्दाको पीडा त्यहाँ बढी महसुस भयो। कक्षा ४ सम्म स्वअध्ययन गरेकी भए पनि रेनुकालाई सजिलै अक्षर चिन्न मुस्किल भयो। २ वर्ष अमेरिका बसेर उनी नेपाल फर्किइन्। ‘नेपालमा रहँदा भन्दा पनि विदेश गएपछि पढाइको अझ बढी महत्व थाहा पाएँ,’ रेनुकाले भनिन्।

नेपाल आएपछि रेनुकालाई पढ्ने इच्छा भयो। उनी बुटवल- ६ स्थित साधना महिला विद्यालयमा कक्षा ७ मा भर्ना भइन्। अहिले उनी कक्षा १० मा पढ्छिन्। ५७ वर्षकी रेनुका अहिले अक्षरसँग खेल्न थालेकी छन्।

‘पढ्ने रहर सानो उमेरमा थियो। ऊ बेला बुबाले बाहुनकी छोरी पढ्न जाने हैन भनी घरमै गुरुलाई बोलाएर पढाउन लगाउन भयो। तर शिक्षा नहुँदा जहाँ पनि ठक्कर खानुपर्ने भएपछि साना नानी-बाबुहरु सँगसँगै बसेर पढ्न थालेकी छु,’ उनले भनिन्।

रेनुका अहिले एसइईको तयारीमा छिन्। उत्कृष्ट अंक ल्याउने उनको अपेक्षा छ। ‘नजानेको कुरा कक्षाकै भाइबहिनीसँग सिक्न पाइन्छ। पढ्दा धेरै खुसी लागेको छ। भएको सम्पत्ति स्याहार गर्दा पनि त पढाइ चाहिने रहेछ। त्यसैले यहाँ पढ्न आएकी हुँ,’ उनले भनिन्।

गुल्मी हुँगा झेर्दी स्थायी घर भई बुटवल बस्दै आएकी गंगा न्यौपाने किराना र फलफूलको पसल गर्थिन्। छोरा रोशन न्यौपाने विदेश गए। छोरी ज्योति न्यौपानेको विहेबारी भएपछि पसल चलाउने सबै जिम्मा गंगाको काँधमा आयो।

बजार जान्थिन्, सामान ल्याउँथिन्, बिक्री गर्थिन्। तर पसलमा नाफा–घाटाको भेउ नै पाइनन्। लगानी मात्रै गरिन्, फाइदा भए जस्तो लागेन। उनी पसलमा सामान खरिद गरेका बिल बिजक अरु कसैलाई हेर्न लगाउँथिन्। 

एक दिन पसलका आएको बिलमा रकम फरक परे जस्तो लाग्यो। उनले त्यो बिल अरु व्यक्तिलाई देखाइन्। क्रस चेक गर्दा १ सय रुपैयाँ फरक पर्यो। त्यसपछि पसलका हिसाब राखिदिने ती व्यक्तिलाई १ सय फरक परेको बताइन्। उनले ‘तपाईं त बाठी हुनुहुँदो रहेछ। तपाईंलाई थाहा हुन्छ हुन्न भनेरै हिसाब गडबड गरेको हुँ’ भनेर जवाफ दिए।

अक्षर नचिनेकै कारण ठगिएको महसुस भएपछि गंगालाई पढ्ने रहर पलायो। त्यसपछि उनी पनि साधना महिला विद्यालयमा पुगिन्।

गंगा अहिले कक्षा ६ मा पढ्छिन्। एक कक्षा फड्र्को मारेकी उनी अहिले अक्षर चिन्न थालेकी छिन्। ‘पैसा जम्मा गर्न जाँदा बैंकमा साथी चाहिने, नपढ्दा हिसाब पनि गोलमाल भएको शंका लाग्यो। त्यसपछि मात्र पढ्न लागेकी हुँ,’ उनले भनिन्।

उनलाई यो पढाइको अवसर भाग्यले जुराएको जस्तो लाग्छ। ‘कोभिड महामारीपछि पसल छैन। तर पनि सिक्ने क्रम जारी छ। साना नानीसँग बसेर पढ्न पाउनु भाग्यले जुराएको जस्तो लाग्छ,’ उनले भनिन्।

बुटवलकै सोममाया गुरुङ साधनमा कक्षा २ मा पढ्छिन्। श्रीमान रिटायर्ड भारतीय आर्मी। तीन छोरामध्ये जेठो सुजित पनि आर्मीबाट अवकाश भएर निस्के। माइलो छोरा महेश भारतीय आर्मी छन्। कान्छो छोरा भुपेन्द्र बुटवलमै व्यापार गर्छन्। ५७ वर्षकी सोममायाको दैनिकी भने स्कुलमा छ।

‘जेठा र माइलाका छोराछोरी पनि पढ्छन्। म पनि अक्षर चिन्न थालेकी छु,’ उनले भनिन्। कुनै बेला श्रीमानले भारतबाट पठाएको पैसा निकाल्दा औंठा छाप लगाउने सोममाया अहिले आफैं नाम लेखेर पैसा निकाल्न सक्छिन्। ‘घरकालाई चौराहा जाने भनेर सुटुक्क निस्केर अक्षर चिन्न थालेकी हुँ। अक्षर चिन्दा खुसी छु,’ उनले भनिन्।

रेनुका, गंगा र सोममाया र प्रतिनिधि पात्र मात्र हुन्। उनीहरु जस्तै पाका उमेरका आमाहरु अहिले बुटवलको साधना महिला विद्यालयमा ५० भन्दा बढीले अध्ययन गर्दै आएका छन्। 

वि.सं. २०६३ सालमा स्थापना भएको साधना महिला विद्यालय आमाहरुले पढ्ने विद्यालयको रुपमा चिनिन्छ। यस क्षेत्रकी महिला अगुवा सावित्रा अर्यालको अगुवाइमा स्थापना भएको यो विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या २ सय ६३ रहेको विद्यालयकी प्राचार्य विष्णु गौतमले बताइन्। भर्ना धेरै भए पनि नियमित विद्यालय आउनेको संख्या भने १ सय ५० को हाराहारीमा छ।

‘पाका उमेरका धेरै हुनुहुन्छ। कतिले घरमा नातिनातिना हेर्नु पर्दा कक्षामा नियमित हुन पाउनुहुन्न। कतिपय अन्यत्र बसाइ सर्दा पनि विद्यालयमा आउन सक्नुहुन्न,’ प्राचार्य गौतमले भनिन्।

‘अधुरो शिक्षा पूरा गरौं, पढ्नलाई उमेरले छेक्दैन’ भन्ने नारासहित स्थापना भएको विद्यालयमा अहिले कक्षा १ देखि १० सम्म अध्ययन हुन्छ। यहाँ ४० वर्षदेखि माथि उमेर समूहका महिला ५० प्रतिशत छन्। २५ वर्षदेखि माथि ३० प्रतिशत र १२ वर्षदेखि माथिका २० प्रतिशत महिलाले यहाँ पढ्दै आएका छन्।

वि.सं. २०६३ सालमा कक्षा ६ देखि १० सम्म गुठी विद्यालयको रुपमा स्थापना भएको यो विद्यालयमा पछि २०६९ सालमा कक्षा १ देखि ५ सम्म कक्षा सुरु गरियो। 

विद्यालयमा अहिले ११ जना शिक्षक र १ कार्यालय सहयोगी छन्। तीमध्ये २ वटा मात्र सरकारी दरबन्दी हो। बाँकी शिक्षकलाई विद्यालयले बुटवल उपमहानगरपालिका र संघीय सरकारबाट आउने अनुदानबाट तलब खुवाउँदै आएको छ।

‘हामीले जति पनि शिक्षक राखेका छौं, उहाँहरुलाई सरकारी तलब स्केल दिन सकिएको छैन, न्यूनतम तलब दिएर राखेका छौं,’ प्राचार्य गौतमले भनिन्।

कुनै समय आर्थिक संकटमा परेको यो विद्यालय अहिले विस्तारै तंग्रने क्रममा छ। १४ धुर जग्गामा रहेको यो विद्यालयमा भवन थप गर्न आवश्यक जग्गा छैन। ‘विद्यालयको प्राङ्गण छैन। कार्यक्रम गर्नका लागि हल आवश्यक छ। ट्रसको हल बनाउन माग गरेका छौं,’ उनले भनिन्।

विद्यालयमा अहिले बनिरहेका भवन पनि चन्दादाता, सांसद विष्णु पौडेलको सांसद् विकास कोष, उपनगरपालिका, तत्कालीन जिल्ला विकास समिति, शिक्षा कार्यालय लगायतको पहलमा १ करोड बढी खर्च गरेर बनाएको उनले बताइन्।

पुष ७, २०७८ बुधबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।