बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई कैद सजायको आदेश 

बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई कैद सजायको आदेश 

सुर्खेत : राउटे समुदायकी युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई सुर्खेत जिल्ला अदालतले पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले  ‘राप्ती पहिचान डट कम’ अनलाइनका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई उक्त सजाय तोकेको हो।

२०७८ जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुल्ने गरी बुढा मगरले आफ्नो अनलाइनमा तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए। 

पत्रकार बुढा मगरले पीडकको तर्फबाट बहस गरेका वकिलहरू मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीका विरुद्धमा मानहानि हुने गरी  फेसबुकमा स्ट्याटस लेखेपछि वकिल त्रयले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्ने गरी अनलाइनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्ट्याटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

बुढामगरले फेसबुकमा यस्तो लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरूको जिरहलाई निरह पार्ने गरी सवालको जवाफ दिएको छु।’

संवेदनशील विषयमा समाचार सामग्रीहरू प्रकाशन÷प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी नरेन्द्र प्रसाद पोख्रेलले जानकारी दिए।

‘सजाय तोकिएका पत्रकारले सोमबार अदालतमा हाजिर भई बयान दिएका छन्। सूचना अधिकारी पोख्रेलका अनुसार कानुन आकर्षित हुने क्रियाकलाप गरिएका सञ्जाल मार्फत आदेश भएको २४ घण्टाभित्र क्षमायाचना  गर्ने, उक्त क्षमायाचना गरिएका सामग्रीहरू ६ महिनासम्म पब्लिक नै राख्नुपर्ने र सात दिनभित्र क्षमायाचना गरिएका सञ्जालका स्कृनसटहरु अदालतमा पेस गर्नुपर्ने छ। १६ घण्टा अगाडी उनले आफू सञ्चालक रहेको अनलाइनमार्फत क्षमा मागेका छन्। 

गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा जेठ २१ गते राउटे युवतिमाथि बलात्कार भएको थियो। 

भिडियो समेत बाहिर आएपछि युवतिमाथि जबरजस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भूपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ।

पुष ६, २०७८ मंगलबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।