सहमतिबाट नेतृत्व चयन गर्ने माओवादी प्रदेश १ कमिटीको प्रयास असफल
नेतृत्व चयनका लागि पुस ७ गते बुधबार प्रदेश कमिटीको बैठक बोलाइएको पार्टीको विधान अनुसार प्रदेश कमिटीमा निर्वाचित सदस्यहरूले पदाधिकारी छनौट गर्नुपर्ने व्यवस्था भएकाले बैठक बोलाइएको प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङले बताए।
विधानमा २५९ सदस्यीय प्रदेश कमिटी रहने व्यवस्था छ।
मंसिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न अधिवेशनले नेतृत्व टुङ्गो लगाउन सकेन। पदाधिकारी चयन हुन नसकेपछि प्रदेश सदस्यहरूबाटै नेतृत्व चयन गर्ने निर्णय भयो। अधिवेशनले २५१ सदस्यीय कमिटी गठन गरे पनि शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रममा २७६ जना सहभागी भएपछि विवाद भएको छ। सदस्य सङ्ख्याको विवादका कारण निर्वाचन प्रक्रियामा कति जनाले भोट हाल्न पाउने भन्ने विषय नै टुङ्गो लागेको छैन।
यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो। सहइन्चार्ज काङ्माङको संयोजकत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी कार्यदलका सदस्य छन्। कार्यदलको सोमबार बसेको बैठकमा पनि कुनै सहमति जुटेन। मंगलबार पुनः प्रदेश १ का केन्द्रीय सदस्यहरूको बैठक बस्ने भएको छ।
पदाधिकारी छनौटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरूले जोड दिएका छन्।
प्रदेश पदाधिकारीका आकाङ्क्षी
प्रदेश अध्यक्षको लागि पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी र देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङ लगायतले दाबी गरेका छन्।
महिला उपाध्यक्षमा सङ्खुवासभाकी इन्दिरा मिश्र, झापाकी सरूँ न्यौपाने, मोरङकी विनीता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतको दाबेदारी छ। यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिंह राजवंशीले दाबी गरेका छन्। खुल्ला उपाध्यक्षमा भने सुनसरीका भोला बस्नेतको मात्र दाबेदार देखिएको छ।
यस्तै सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीका आइन्द्र विक्रम बेघा, धनकुटाका ऋषिराम ढुङ्गाना, ओखलढुङ्गाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन्।
सहसचिवमा सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका भानु मैनाली र मोरङकी रचना राईले दाबी गरेका छन्। कोषाध्यक्षमा धेरैले चासो नदेखाए पनि सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारीलगायतले दाबी गरेका छन्।
पुष ५, २०७८ सोमबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।