मातृका पथमा सुजाता-शशांक
कांग्रेसको १४ औँ महाधिवेशन त्यही बिग्रहको वरिपरि घुम्यो। कोइराला परिवार भित्रका डा. शेखर, डा. शशांक र सुजाताको एकता नहुँदा १४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको मुद्दा ओझेलमा पर्यो। यी तीनजनाविच एक जनालाई उम्मेदवार बनाएर अगाडि बढ्ने सहमति भएको थियो।
तर सभापतिका बलिया प्रत्याशीमा शेखर देखिएपछि अन्य २ जनाले अन्त्यमा धोका दिए। सुजाताले त देखिने गरिनै सभापतिको पहिलो चरणमा प्रकाशमान सिंहलाई सघाइन्। दोस्रो चरणमा शेरबहादुर देउवालाई। शशाङ्क कतै नखुल्ने भन्दै भित्रभित्रै देउवालाई सभापतिमा दोहोरिन सहज बनाए। जो अगाडि बढ्न सक्छ उसलाई सघाउने आफ्नै वाचाबाट पछि दुवै पछि हट्दा शेखर कांग्रेसभित्र वैकल्पिक नेताको रूपमा उदाए। दुवैको राजनीतिक यात्रा धरापमा पर्यो।
सभापतिको अन्तिम तयारीमा रहेका शेखरले पनि आफ्नै भाइ-बहिनी मिलाउन सकेनन्। सुजाता प्रकाशमान समूहमा लागे पनि शशाङ्कले अन्तिमसम्ममा सहयोग गर्ने उनको आशा थियो। त्यसैले त विश्वप्रकाश शर्मालाई टिममा ल्याउने मन हुँदाहुँदै शशाङ्कका उम्मेदवार मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाए। तर शशाङ्कले साथ दिएनन्।
हुन त कांग्रेसको स्थापनाकाल देखिनै कोइराला परिवार भित्र असहयोगको शृङ्खला उस्तै छ। २००४ साउन १ मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसबिच एकीकरण भएर नेपाली कांग्रेस बन्यो। २००६ चैत २७ मा कलकत्तामा भएको महाधिवेशनले मातृकाप्रसाद कोइराला सभापति निर्वाचित भए। बिपी कोइरालालाई सभापति बनाउने गणेशमान सिंहको योजना असफल भयो। आफ्नै सहोदर भाइ बिपीलाई मातृकाले सभापति बनाउन चाहेनन्।
२००७ सालमा प्रजातन्त्र आएपछि बिपी र मातृकाबिच द्धन्द बढ्यो। बिपी गृहमन्त्री भए। दरबार र राणासँग सम्बन्ध सुमधुर हुन नसकेपछि उनले राजीनामा दिए। दरबार र भारतको साथ पाएका मातृका २००८ मङ्सिर १ प्रधानमन्त्री नियुक्त भए। कांग्रेस भित्र भारतीय हस्तक्षेप बढेपछि बिपीले असन्तुष्टि व्यक्त गरेका थिए। बिपी विरुद्ध मातृका अनवरत लागी नै रहे।
त्यही बिचमा कांग्रेसको ५ औँ महाधिवेशन जनकपुरमा २००९ जेठ १० देखी १३ सम्म भयो। बिपी सभापतिमा निर्वाचित भए। पार्टीले मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दियो। मातृका सहित महावीर शमशेर, मोहनविक्रम शाह, नारदमनी थुलुङ लगायतले पार्टीबाट राजीनामा दिए। त्यसपछि बिपीले कारबाही गरी पार्टीबाट निष्कासित गरिदिए। त्यस लगत्तै भद्रकाली मिश्र लगायतले जन कांग्रेस पार्टी खोले भने मातृकाले राष्ट्रिय प्रजा पार्टी गठन गरेका थिए।
कांग्रेसको छैटौँ महाधिवेशनमा सुवर्ण शमशेर सभापति भए। उनकै पहलमा मातृका नेतृत्वका राष्ट्रिय प्रजा पार्टीसँग कांग्रेसको एकता भयो। २०१४ जेठ ११ र १२ गते विराटनगरमा विशेष महाधिवेशन गरी बिपी सर्वसम्मत सभापति भएका थिए। त्यसपछि मातृका कुनै पनि विशेष भूमिकामा देखा परेनन्। उनको सन्तान पनि कांग्रेसमा लागेनन्। बरु कम्युनिस्ट राजनीतिमा सक्रिय भए।
१४ औँ महाधिवेशनमा मातृकाकै भूमिकामा देखा परे सुजाता र शशाङ्क। धोखा र असन्तोषको प्रतिमूर्तिको रूपमा देखा परिन् सुजाता। सुरुमा सभापति बनाउने अभियानमा लागेकी उनले अन्तिम अवस्थामा साथ दिइनन्। गणेशमान पुत्र प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिइन्। कुल ४७३४ महाधिवेशन प्रतिनिधिमध्ये ४५६४ मत खसेको थियो। त्यसमा कोइरालाले ६ सय ४ मत मात्र पाइन्।
प्रारम्भमा तीनमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउन उनले नै पहल गरेकी थिइन्। उनको चाहना शशाङ्कमा थियो। अन्तिम समयमा शशाङ्क सभापतिको उम्मेदवार हुन नसक्ने मोडमा पुगे। वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति गर्ने भनिएपछि त्यो सम्भव भएन। अन्ततः शेखरले सभापतिमा उम्मेदवारी दिए। शेखर उमेद्धवारीपछि सुजाता बदलिइन्।
पहिलो चरणमा ५० प्रतिशत मत कट्न नसकेपछि चुनाव दोस्रो चरणको मतदान हुने बिहान सुजाता प्रकाशमानको घरमै पुगेर शेखरलाई सघाउन नहुने भन्दै दबाब दिएको निकट स्रोतले बतायो। उनी उपसभापतिमा पराजित हुनेमा पक्का थिइन्। त्यसैले प्रकाशमानमार्फत देउवासमक्ष विधान संशोधन गरेर महिला उपसभापति थप्न राजी गराएकी थिइन्।
सुजाताले समूह बदलेपछि शशाङ्कले खुलेर शेखरलाई सघाएनन्। देउवाले उपसभापतिको अफर गर्दा लोक लाजले जान सकेनन्। तर अप्रत्यक्ष रुपमा देउवालाई सघाए नै।
सुजाता र शशाङ्कको कुण्ठा
पहिला शेखर र शशाङ्कलाई मिलाउन सुजाता नै सक्रिय देखिएकी थिइन्। उनले बुबाको नामबाट खोलिएको गिरिजाप्रसाद कोइराला फाउन्डेसन मार्फत शेखर र बिपी पुत्र शशाङ्कलाई एकमत बनाउने कोसिस गरेकी थिइन्। २०७५ मङ्सिर २ मा जिपी फाउन्डेसन प्रदेश १ को आयोजनामा विराटनगरमा तीन जनाले एकताको सन्देश दिन एउटै माला लगाएका थिए।
निवास अगाडी नै रहेको जिपी फाउन्डेसनको भवन उद्घाटनका क्रममा पार्टी र जनताको लागी आफू त्याग गर्न पनि तयार रहेको शंशाकले बताएका थिए। उता शेखरले भने सहमतिमै उम्मेदवार छनौट हुने र पार्टीलाई सशक्त रूपमा ल्याउने बताएका थिए।
सोही मञ्चबाट सुजाताले कोइराला परिवार एक हुनुको विकल्प नभएको बताएकी थिइन्। कोइराला परिवारसँग कांग्रेस कार्यकर्ताको ठुलो अपेक्षा रहेकोले त्यसलाई पुरा गर्न पनि एक हुनुको विकल्प नरहेको उनको भनाइ थियो।
त्यसको ३ महिना पछि २०७५ फाल्गुन ४ मा वीरगन्जमा पनि सुजताकै पहलमा तीन जनाले एउटै माला लगाए। दाजुभाइ मिलाएर पार्टी नेतृत्वमा कोइरालालाईनै पुर्याउने उनले अधिकतम मेहनत गरेको जस्तै देखियो। काठमाण्डौमा पनि बारम्बार उनले कोइराला परिवारको छलफल चलाइन् ।
२०७६ मङ्सिर २९ गते कोइराला निवास विराटनगर पुगेर शशाङ्कले शेखरलाई सहयोग गर्ने बताए। त्यसपछिका विभिन्न कार्यक्रममा पनि उनी शेखरप्रति उदार देखिएका थिए। शेखरदालाई सहयोग गर्ने भन्दै वक्तव्य दिए। तर निर्णायक मोडमा भने लुके। भाइको साथ खोजी रहेका शेखरको रमिता हेरेरै रमाए शशाङ्क।
अशिर्वादले उदाएकी सुजाता
मुलत २०४८ सालमा कांग्रेसले बहुमत प्राप्त गरेर प्रधानमन्त्री बनेका तत्कालीन महामन्त्री गिरिजाप्रसाद प्रधानमन्त्री भए। त्यस लगत्तै ‘प्रथम महिला’ बनाइएकी सुजाता सुषमा कोइराला मेमोरियल ट्रष्टमार्फत समाजसेवामा लागिन्। त्यही समाजसेवाको आडमा कांग्रेस राजनीतिमा सक्रिय भइन् उनी।
नवौँ महाधिवेशनमा सुनसरी जिल्ला सदस्य भएकी उनी दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइन्। २०६२-६३ पछि उनी एक्कासि राष्ट्रिय राजनीतिको केन्द्रमा पुगिन्। बुबा गिरिजाप्रसादको आशीर्वादले उनलाई पार्टी र सरकारको बाटो सधैँ खुल्ला रह्यो। एघारौँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य निर्वाचित भएपछि उनी अन्तर्राष्ट्रिय विभाग प्रमुख भइन्। गिरिजाप्रसाद नेतृत्वको मन्त्रीमण्डलमा विना विभागीय मन्त्री भइन्।
गिरिजाप्रसाद मोरङ क्षेत्र नम्बर १ र तत्कालीन सुनसरी क्षेत्र ५ बाट निर्वाचित भए। उनले पनि दुवै क्षेत्रमा प्रभाव बढाइन्। त्यसमध्ये सुनसरी ५ उनको प्रमुख रोजाइमा पर्यो। पहिला संविधानसभा निर्वाचनमा सुनसरी ५ बाट पराजित भए पनि उनी उपप्रधान तथा परराष्ट्र मन्त्री भइन्। जुन हालको ४ नम्बर क्षेत्र पर्छ।
सोही क्षेत्रबाट ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित भएका हुन्। पछिल्लो समय सुनसरीमा उनको प्रभाव कम हुँदै गएपछि मोरङतिर आँखा लगाउन थालेकी छिन्। मोरङ १ मा डा. मिनेन्द्र रिजाल विजयी भएपछि रिजालको विरुद्धमा अभियान चलाउँदै गाउँमा पुगेकी छिन् उनी। महामन्त्रीमा पराजित भएसँगै सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका रिजाललाई हटाएर आफू उम्मेदवार हुने तयारीमा छिन् सुजाता।
कांग्रेसको सभापतिको रूपमा हेरिएका शशाङ्क महामन्त्रीका रूपमा असफल भए। उनी संस्थापनइतर समूहको नेतृत्व गर्दै पदाधिकारी बनेका थिए। तर पाँच वर्षमा उनले पार्टीमा सङ्गठन विस्तार आफ्नो प्रभाव बढाउने कुनै काम गरेनन्। केवल बिपीको छोराको पहिचानकै बलमा उनी अगाडि बढ्न खोजेका थिए।
तर शेखर आफैँ सक्रिय भइदिँदा शशाङ्क र सुजाता दुवै अप्ठ्यारोमा परे। शेखर निरन्तर चार वर्ष सक्रिय भए। उनले १३ औँ महाधिवेशन सकिए लगत्तै सभापतिको उम्मेदवारी दाबी गरेका थिए। शेखर अगाडि बढ्दा पनि सुजाता र शशाङ्कको सक्रियता बढेन। अन्तमा जब निर्णायक मोड आयो दुवैले उनलाई नेतृत्वमा पुग्नबाट रोक्न सक्दो प्रयास गरे।
पुष ५, २०७८ सोमबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।