कांग्रेसको प्रवक्ताबाट बिदा हुँदै शर्माले भने- 'नेताहरूले कम बोल्दा समस्या आधा घट्छ'

कांग्रेसको प्रवक्ताबाट बिदा हुँदै शर्माले भने- 'नेताहरूले कम बोल्दा समस्या आधा घट्छ'

काठमाडौंः नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूले कम बोल्दा समस्या आधा घट्ने बताएका छन्। सोमबार बिहान शर्माले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्। 

'बोल्ने कुरालाई आधा घटाउँदा समस्या पनि आधा घट्छ। विषयप्रधानभन्दा पनि एक अर्कालाई गाली गर्ने काममा नेताहरू उत्रने गरेका छन्, यो राम्रो राजनीतिक संस्कार होइन', उनले भने। 

यस्तै उनले नेपाली कांग्रेसको डिजिटल टीम एनसीडब्ल्यूआईएन (नेपाली कंग्रेस वाइड इन्फर्मेसन नेटवर्क)को सञ्जाल देशका सातै वटा प्रदेशमा रहेको जनाउँदै नयाँ टीमलाई सो सञ्जाल हस्तान्तरण गरिने पनि बताए। उनले अर्को महाधिवेशनलाई डिजिटलाइजेसनका लागि टीम तयार रहेको पनि बताए।

यस्तै आजैको कार्यक्रमा उनले आफू पार्टीको प्रवक्ताबाट अलग्गिएको पनि बताएका छन्। 'महामन्त्रीमा निर्वाचित भएसँगै पार्टीको प्रवक्ताबाट अलग्गिएको छु', उनले भने। 

शर्माले आगामी महाधिवेशनको लागि समेत ठीक समयमा सुन्दरीजलमा गएर घोषणा गर्ने बताएका छन्। 'अहिले महामन्त्रीको जिम्मेवारीलाई पूरा गर्नेछु। पाका र युवा समेटेर अघि बढ्छु', शर्माले भने। 

पुष ५, २०७८ सोमबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।