हिक्मतको हिम्मत : जसले बादी बालबालिकाको संरक्षणमा सबै सम्पत्ति सिध्याए

हिक्मतको हिम्मत : जसले बादी बालबालिकाको संरक्षणमा सबै सम्पत्ति सिध्याए

सुर्खेत : ठूलो जहान। घरको आर्थिक स्थिति कमजोर भएकाले राम्ररी खान-लाउन पनि धौधौ। बुबा एक जनाले ज्याला-मजदूरी गरेर कमाएको पैसाले १४ जनाको परिवार पाल्नुपर्ने बाध्यता।

यस्तै दुःखमा पले-बढेका हुन्, दुल्लु नगरपालिका-१, दैलेखका २९ वर्षीय हिक्मत बादी।

चार भाइ, सात दिदीबहिनीमध्येका जेठा हिक्मतको सानैदेखि पढ्ने रुचि थियो। तर उनले कहिल्यै कापी-कलम बोकेर स्कुल जान पाएनन्। न त ड्रेस नै लगाउन पाए। तैपनि, आफैंले गाउँघरमा काम गरेरै भए पनि कक्षा १२ सम्मको अध्ययन गाउँकै स्कुलबाट पूरा गरे हिक्मतले।

उनले आफ्नो विद्यार्थी जीवन र अभावै अभावमा गुजारा चलाएको पारिवारिक जीवनबाट धेरै पाठ सिक्ने मौका पाए। जब उनले कक्षा १२ पास गरे अनि आफ्नो समुदाय र त्यहाँका बालबालिकाको विषयमा सोच्न थाले। उनी विगत पाँच वर्षदेखि बादी समुदायका बालबालिकाको क्षेत्रमा काम गर्दैआएका छन्।

दैलेखमा बादी समुदायको अवस्था एकदमै दयनीय थियो। १६२ घरधुरीमध्ये सबैका बालबच्चा विद्यालय जाँदैनथे। कोही गए पनि चार/पाँच कक्षा पढेर बीचमैं पढाइ छोडर भारत जान्थे भने कोही गाउँमै लागुपदार्थ सेवन गर्ने, सडकमा गीत गाउने र १२/१३ वर्षको उमेरमै विवाह गर्थे।

यो अवस्थाका बारेमा नजिकैबाट बुझेका थिए हिक्मतले। उनले आफ्नो समुदायमा यस्तो अवस्थाको अन्त्य कसरी गर्न सकिन्छ भनेर योजना बनाए। त्यसका लागि उनले बादी समुदाय शिक्षित हुन जरुरी ठाने। आफैं आर्थिक स्थिति कमजोर भएका उनका लागि बादी समुदायलाई शिक्षित बनाउने सपना पूरा हुने अवस्था थिएन।

‘मेरो गाउँमा बादी समुदायको साह्रै बिचल्ली थियो। गाउँमा पढे/लेखेको त कोही पनि नहुने। दुई/चार कक्षा पढेर छोड्ने, भारत जाने गर्थे। बिहान-बेलुकाको खानलाई पनि साहुकै घर धाउनुपर्ने, मजदूरी गर्नेपर्ने,’ उनले भने, ‘यो अवस्था हटाउन बादी समुदायका बालबालिकालाई शिक्षा दिनुपर्छ भन्ने सोच ममा आयो।’

त्यसका लागि आफूले प्रदेशको राजधानी सुर्खेतमा केही सानोतिनो व्यापार-व्यवसाय गर्ने र पछि गएर बादी समुदायको छुट्टै होस्टेल खोलेर सबै बालबालिकालाई निःशुल्क पढाउने लक्ष्य र सोचका साथ उनले ६ वर्ष अगाडि फेन्सी पसल खोले। भाइ विदेश भएका कारण उनलाई फेन्सी पसल राख्न सहज भयो। भाइले आर्थिक सहयोग गरेपछि उनको फेन्सी व्यवसाय राम्रै चल्यो।

त्यसको कमाइबाट हिक्मतले एउटा फोर्स गाडी पनि किने। बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थाहरुसँग पनि चिनजान बढ्यो। उनले आफ्नो योजना सबैलाई सुनाउन थाले। गैरसरकारी संघ-संस्थाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेपछि उनलाई होस्टेल खोल्न सहज भयो।

फोर्स गाडी र फेन्सी व्यवसाय राम्रै चलेपछि उनले सुर्खेतमैं हिक्मत होस्टेल प्रालि खोलेर दैलेखबाट बादी समुदायका ४४ जना बालबालिकालाई ल्याएर पढाए। पहिले-पहिलो आफ्नै व्यक्तिगत खर्चबाट ४४ जनालाई पालनपोषण, लुगाकपडा, औषधि-उपचार र शिक्षा दिए। केही महिनापछि उनलाई लव एण्ड होप नेपालले ३८ जना र बाल रोग विषशेज्ञ डा. नवराज केसीले ६ जना बालबालिकाको जिम्मा लिएपछि अलि सहज भयो।

उनी होस्टेल सञ्चालकका हिसाबले मात्रै नभएर बालबालिकाको दैनिक विद्यालय जानेदेखि घर नफर्कने बेलासम्मको रेखदेख गरी र अभिभावकत्व  समेत लिन्छन्।

बादी सरोकार मञ्चको स्थापना
४४ जना मात्रै पढाएर उनको लक्ष्य पूरा हुन सक्थेन। दैलेखका बालबालिका मात्रै नभएर कर्णालीका सबै जिल्ला र अन्य प्रदेशका समस्यामा परेका बालबालिकालाई ल्याउने सपना उनमा थियो। बादी समुदायका हक-अधिकार र बालबालिकाको शिक्षामा पहुँच पुर्यााउने उद्देश्यले पाँच महिनाअघि उनले बादी सरोकार मञ्च सुर्खेत दर्ता गरे।

अरु सदस्यहरुले त्यसको अध्यक्षमा हिक्मतलाई नै बनाए। त्यसपछि उनी कर्णालीका बादी बस्तीहरुमा अभियान लिएर पुगे। ती बस्तीहरुमा पुग्दा अवस्था एकदमै दयनीय थियो। 

कतै बालबालिका चार पाँच कक्षाको पढाइ छोडेर भारत गएका, जाँड-रक्सी र कुलतमा फसेका, यौन व्यवसायमा लागेका, बालविवाह, बहुविवाहमा संलग्न भएका बालबालिका भेटिए। आँखै अगाडि यस्ता समस्या देखेपछि उनले अभिभावक र बालबालिकालाई लामो समयसम्म सम्झाइ-बुझाइ गरे। कर्णालीका रुकुमपश्चिम, जाजरकोट, दैलेख, कालिकोट, सुर्खेत र सुदूरपश्चिमका अछाम र कैलालीबाट गरी ७६ जनालाई सुर्खेत ल्याएर राखेका छन्।

‘म आफैं बादी समुदायमा जन्मिएर हुर्केको मान्छे। हाम्रो समुदायको चेतनाको स्तर निकै कम छ। म आफैं पनि धेरै कुराको अभाव झेलेको मान्छे हुँ। मेरो समुदायका बालबालिकाले यस्तो अभाव नभोगून् भनेर सबै बालबालिकालाई होस्टेलमार्फत शिक्षा दिन लागेको हुँ,’ हिक्मतले भने। 

उनका दुई छोरा र श्रीमती पनि बालबालिसँगै बस्दै आएका छन्।

बादी आन्दोलनका नेतृत्वकर्ता
हिक्मत बादी समुदायको हक-अधिकारका लागि गत वर्षको फागुन १० गतेदेखि २६ गतेसम्म कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि गरिएको बादी आन्दोलन संघर्ष समितिका संयोजक समेत हुन्।

कर्णाली सरकारले बादी समुदायसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन्।

बादी समुदायको भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी, कला, संस्कृति, सिपमूलक तालिम तथा आय–आर्जनका विषय सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए। कर्णाली प्रदेशभरि बादी समुदायको जनसंख्या ६ हजार ७ सय ८९ रहेको छ।

होस्टेल चलाउनै सकस
हिक्मत होस्टेल प्रालि र बादी सरोकार मञ्च दुवै ठाउँका बालबालिका गरी १२० जना हुन्छन्। ५ वर्षदेखि १८ वर्षसम्म उमेर समूहका बालबालिका होस्टेलमा बस्छन्। जसमध्ये ७५ जना बालिका छन् भने ४५ जना बालक छन्।

४४ जनालाई विभिन्न संघ-संस्था र व्यक्तिहरुले सबै खर्चहरु हेरिरहेका छन्। ७६ जनालाई एक्लै हिक्मतले व्यहोरिरहेका छन्। ‘दुई वटा घरको मासिक भाडा एक लाख ४० हजार तिर्छु। यी सबै खर्च व्यवस्थापन गर्दा फेन्सी पसल र गाडी समेत बेचिसकें,’ उनले भने।

अब आफूसँग केही सम्पत्ति नभएको बताउने हिक्मतले अहिले पसलहरुबाट उधारोमा रासन ल्याएर खुवाइरहेको र आर्थिक अभावकै कारण ७६ जना बालबालिका विद्यालय समेत जान नपाएको सुनाए। उनीहरुलाई पढाउनका लागि हिक्मत प्रत्येक संघ-संस्था र व्यक्तिहरुलाई गुहार्दै हिँडिरहेका छन्।

७६ जना बालबालिकाको लागि सबै खर्च महिनामा आठ लाख हुने गरेको उनले बताए।

‘आफ्नो समुदायका बालबालिकाको लागि मैंले मसँग भएको सबै सम्पत्ति बेचिसकें। उनीहरुको शिक्षाको लागि सबै तहका सरकारसँग बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन,’ हिक्मतले भने, ‘४४ जनालाई त संघ-संस्थाले हेरेका छन्। तर ७६ जनाको लागि मलाई अहिले मुस्किल परिरहेको छ।’ 

बादी समुदायका बालबालिकाको प्रदेश सरकारले अभिभावकत्व लिई उनीहरुलाई शिक्षामा पहुँच पढाउनुपर्नेमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।

पुष ५, २०७८ सोमबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।