गणेश लामा अब 'गुन्डा नाइके' हैन कांग्रेस केन्द्रीय सदस्य,पार्टीमा गृहमन्त्री खाँण र उनको हैसियत समान
काठमाडौँ : गुरु भनेको गुरु नै हुन्। चेलाका लागि त्याग त गर्न तयार हुन्छन् नै। राजनीतिमा असल छवि बनाउन नसके पनि राजनीतिको असल गुरु बन्दै विजय गच्छदारले चेला गणेश लामालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनाउन सफल भएका छन्।
उनको प्रयास त गुरु-चेला एकै पटक केन्द्रमा जाने थियो। त्यसका लागि उनले आफूलाई संस्थापन शेरबहादुर देउवा प्यानलबाट उपसभापति र चेला लामालाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउन सफल भएका थिए।
उपाध्यक्षमा उनी धनराज गुरुङसँग पराजित भए। लामालाई ३५ केन्द्रीय सदस्यमध्ये ३२ मा पार्न सफल भए।
लामालाई गुन्डा नाइकेबाट नेताको छवि बनाउन गच्छदारकै योगदान छ। उनले लामालाई तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य बनाएका थिए। उनी गृहमन्त्री हुँदा लामा प्रहरीको सूचिमा गुन्डा नाइके नै थिए।
लामा गृहमा गएर गृहमन्त्रीको सचिवालयमा बस्न थालेपछि आलोचना हुँदा रत्नाकर वाल्मीकि भएजस्तै आफूले लामालाई सुधार्न पार्टीमा ल्याएको दाबी गरेका थिए। उनको दल कांग्रेसमा विलय भएपछि गच्छदार उपसभापति भए। तर लामालाई केन्द्रीय सदस्य बनाउन सकेनन्।
लामा कांग्रेसमै बसे। २०७४ को निर्वाचनमा प्रदेशको उम्मेदवार बने। एमाले-माओवादी गठबन्धनसँग जित्न सकेनन्। कांग्रेस महाधिवेशनमा उनले आफ्नै आपराधिक चेला दावा लामालाई काभ्रेको एक गाउँ पालिकाको सभापति बनाउन सफल भए। आफू महाधिवेशन प्रतिनिधि बन्दै देउवाको समूहमा बसेर केन्द्रीय सदस्य नै बने।
कानुन छल्न राजनीतिक संरक्षण
दिनेश अधिकारी चरी मारिएपछि लामा प्रहरीको हिट लिस्टमा थिए।पुष्कर कार्कीको सरुवा भयो। महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनालको लिस्टमा रहेको थाहा पाएपछि उनी काठमाडौँमा कमै सार्वजनिक हुन्थे।
कुमार श्रेष्ठ 'घैटे' मारिएपछि नेताहरू नै विरोधमा उत्रिए। गुन्डाहरू पलाएन भए। गुन्डामाथि प्रहरी हाबी भएपछि व्यवसायीले उजुरी दिन थाले। किनेको बिटुमिनको पैसा नदिएपछि लामा विरुद्ध उजुरी पर्यो। उनी ठगीमा समातिए। पछि केस मिलाए।
उनी तिलगंगामा हतियारसहित समातिए। आफूलाई अन्यले गोली हान्ने प्रयास गरेको भन्दै बच्न खोजेका उनैले गोली चलाएको प्रहरीले निष्कर्ष निकाल्यो र अवैध हतियारको मुद्दा अगाडि बढायो। त्यसयता उनी पक्राउ परेका छैनन्। कांग्रेसमा लागेपछि प्रहरीले पनि उनलाई निगरानीमा राखेको छैन।
'अब प्रधानमन्त्रीको निवासमै आउजाउ गर्नेलाई कसरी निगरानीमा राख्ने?' लामाबारे एक प्रहरी अधिकारीले भने' उनको हैसियत आफ्नो जिल्लामा लैजाने प्रहरी प्रमुख सिफारिस गर्ने भइसक्यो। यस्तोमा प्रहरीले मात्र चाहेर केही हुन्न।'
इन्द्रावती दोहन गरी उनले क्रसर राखेका थिए। निर्माणसम्बन्धी कम्पनीबाट सडकको ठेक्का हात पार्दै आएका छन्। काभ्रेमा उनको अनुमतिबिना ढुंगाखानी चलाउन सम्भव नै छैन। उनले सहयोगीको नाममा समेत निर्माण कम्पनी चलाउँछन्।
हिजो सार्वजनिक रूपमा राजनीतिक संरक्षण नहुँदा त उनको आतङ्क चल्थ्यो नै। अब त दलको संरक्षक मात्रै हैन। उनी र बिपी पुत्र शशाङ्क कोइराला, गृहमन्त्री बालकृष्ण खाँण र उनको एकै हैसियत बनेको छ' १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य।'
अब उनलाई पार्टीको बलमा ठेक्कापट्टामा प्रभाव बढाउन थप सजिलो हुने पक्का छ। राज्यका कुनै निकाय बाधक बने दर्हो संरक्षण गर्ने दल छदैछ।
पुष ४, २०७८ आइतबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।