विनयशील विश्वप्रकाश र आक्रामक गगनबीच कस्तो होला महामन्त्री सहकार्य !
काठमाडौं : डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसमा जो-जो एकै पटक महामन्त्री भएका छन्, उनीहरुको सम्बन्ध त्यहीबाट चिसो भएको छ। त्यसको एउटा उदाहरण हो, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको सम्बन्ध। महामन्त्री भएदेखि नै यी दुई नेताबीच चिसोपना बढेको थियो।
१३औं महाधिवेशनबाट डा. शशांक कोइराला महामन्त्रीमा निर्वाचित भए भने मनोनित महामन्त्री भए पूर्णबहादुर खड्का। खड्का शेरबहादुर देउवाका सहयोगी भइहाले। उनले देउवालाई सघाए। शशांक निष्क्रिय महामन्त्री बन्दा यी दुईबीचको सम्बन्धमा भने यो पदले उचार-चढाव ल्याएन।
१४औं महाधिवेशनमा आएर कांग्रेसमा दुई महामन्त्री नै निर्वाचित हुने प्रावधान राखियो। अनि महामन्त्रीमा जिते राजनीतिमा सधैं एक-अर्काको शुभेच्छुकको रुपमा देखिने विश्वप्रकाश शर्मा र गगन थापाले। यी दुवैको नारा एकै छ- परिवर्तित कांग्रेस।
पार्टीको विधान अनुसार पार्टी सभापतिपछिको शक्तिशाली पद महामन्त्री नै हो। विधानमा उल्लेख गरिएको महामन्त्रीको अधिकारमा केन्द्रीय कार्यालयको सञ्चालन, निर्णय कार्यान्वयन गर्ने, सभापतिको सहयोगी, पार्टी संगठन, पार्टी सदस्यता दिने लगायतका अधिकार महामन्त्रीकै हो।
पपुलर मतका आधारमा हेर्ने हो भने विश्वको भन्दा गगनले बढी मत ल्याएका छन्। राजनीतिमा क्रियशीलता हेर्ने हो भने गगनभन्दा विश्व सिनियर हुन्। विश्व नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा गगन त्यही कार्यसमितिको उपाध्यक्ष थिए। पार्टीको विधानमा कसलाई, केको आधारमा जिम्मेवारी दिने भन्ने उल्लेख नभएकाले सभापतिलाई दुईमध्ये जो सहज लाग्छ, उसैलाई महत्वपूर्ण जिम्मेवारी दिन विधानले रोक्दैन।
निर्वाचित दुई महामन्त्रीको सम्बन्ध सौहार्द्र नै छ। तर पार्टी सभापति शेरबहादुर देउवाको सम्बन्ध दुवैसित उत्तिकै हार्दिकतापूर्ण छैन। त्यसमा पनि गगनभन्दा विश्व सभापति देउवा निकट नै हुन्। यो आधारमा कार्यविभाजन र जिम्मेवारी बाँड्दा गगनभन्दा विश्वले प्राथमिकता पाउने सम्भावना बढी देखिन्छ।
१५औं महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा पनि वर्तमान महामन्त्रीलाई हेरिएको छ। त्यसका लागि महामन्त्रीको रुपमा कसले कस्तो भूमिका निर्वाह गर्छ, त्यसको प्रभाव पर्छ नै। १४औं महाधिवेशनमा उनीहरुले एक हजार मत सँगै ल्याएकाले महाधिवेशन प्रतिनिधिको सन्देश दुवै मिलेर अगाडि बढ भन्ने नै देखियो। यस्तो बेलामा यी दुवैको सम्बन्ध चार वर्ष यत्तिकै सौहार्द्र रहला भन्ने प्रश्न पनि छ।
एकै समूहमा अट्दैनन् दुवै
विश्वप्रकाश र गगन दुवै कांग्रेसभित्र र बाहिर उत्तिकै लोकप्रिय छन्। उनीहरुमाथि आश गर्नेको जमात कति छ भन्ने त उनीहरुको जितसँगै देखिएको उत्साहले नै देखाउँछ। तर यी दुई जना सधैं एकै समूहमा भने बस्न सकेका छैनन्।
१३औं महाधिवेशनमा गगन सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए। उनी पौडेल समूहका शशांक कोइराला र तत्कालीन देउवा समूहका आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग भिडेका थिए। त्यसबेला कोइराला विजयी भए। अहिले गगन संस्थापन इतर समूहबाट चुनावी मैदानमा उत्रिएका थिए। विश्व र गगन दुवै एकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न सकेनन्। मिनेन्द्र रिजाल उपसभापतिमा जान नमान्दा उनी प्रकाशमान सिंह समूहतिर लागेर महामन्त्री भए।
संस्थापन इतर समूहमै रहेका विश्वप्रकाश १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मनोनित हुन नसकेपछि देउवा समूहतिर निकट भएका थिए। उनी आफू मात्रै उता लागेर आफ्नो समूहका अन्यलाई भने तत्कालीन संस्थापन समूहमै छाडेका थिए।
१३औं महाधिवेशनमा देउवा समूहबाट निर्वाचित केन्द्रीय सदस्य भएका विश्वप्रकाश र केद्रीय सदस्यमा मनोनित गगनबीच पार्टी प्रवक्ताका लागि प्रतिस्पर्धा भएको थियो। प्रारम्भमा गगन रोजेका देउवाले पछि मुड बदलेर विश्वप्रकाशलाई पार्टीको प्रवक्ता बनाएका थिए। प्रारम्भमा दुवै समूहबीच घोचपेच चले पनि त्यसले सम्बन्ध नै बिगार्ने तहसम्म भने पुगेन।
विद्यार्थी जीवनबाटै प्रतिस्पर्धी
विश्वप्रकाशको जन्म २०२७ पस ६ मा भएको हो भने गगनको जन्म २०३३ साउन ४ मा। राजनीतिमा पनि गगनभन्दा विश्वप्रकाश सिनियर हुन्। विश्वप्रकाश २०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी स्कुलको नेविसंघ सभापति भएका थिए।
४३-४५ मा मेची क्याम्पस नेविसंघ सभापति, २०४७ मा नेविसंघ झापा सभापति हुँदै उनी २०४८ मा नेविसंघ केन्द्रीय सदस्य भएका थिए। २०५३ मा नेविसंघ महामन्त्री हुँदै २०५७ मा उनी नेविसंघ केन्द्रीय सभापति भए। २०७२ मा कांग्रेस केन्द्रीय सदस्य भएका विश्वप्रकाश संसदीय राजनीतिमा भने दुई पटक पराजित भइसकेका छन्।
यता, गगन २०४६ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल कांग्रेसको सदस्य भएका थिए। २०४६ को जनआन्दोलनमा उनी बाल कांग्रेसकै रुपमा सहभागी भएका थिए। २०५१ बाट स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिमा हामफालेका उनी सदस्य, सचिव हुँदै २०५५ मा सभापति भएका थिए।
२०५७ मा विश्वप्रकाशको कार्यसमितिमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष भएका गगन २०५९ मा नेपाल विद्यार्थी संघको महामन्त्रीमा निर्वाचित भएका थिए। चितवनमा भएको नेविसंघको महाधिवेशनमा उनी अध्यक्षका आकांक्षी थिए। उता प्रदीप पौडेल पनि सोही पदका आकांक्षी थिए।
त्यो बेलामा विश्वप्रकाश अमेरिकामा थिए। उनी नेपाल फर्किएपछि पौडेलको पक्षमा माहोल बनाएर गगनलाई ब्याक गराएका थिए। त्यो बेलामा भने यी दुईको सम्बन्धमा केही खटपट आएको दुवैको सम्बन्धबारे जानकार बताउँछन्।
'विश्व दाइले हस्तक्षेप नगरेको भए गगन अध्यक्ष हुनसक्थे। उनी सहित संघका अधिकांश पूर्वअध्यक्षहरु प्रदीपको पक्षमा उभिएपछि गगन दाइ ब्याक हुनुपरेको थियो, 'चितवन अधिवेशनबारे जानकार एक विध्यार्थी नेताले भने।
२०६०/०६१ मा राज्य विरुद्धको आरोप खेपेका गगनका लागि २०६२/०६३ को जनआन्दोलन नै राजनीतिको टर्निङ प्वाइन्ट बन्यो। २०६४ मा संविधान सभामा मनोनित सदस्य भएका उनी २०६७ मा कांग्रेस महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य भए।
२०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट सदस्य भएका गगन २०७४ मा सोही क्षेत्रबाट सांसद भए। २०७२ सालको कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मदेवार बनेका उनी २०७३ मा स्वास्थ्य मन्त्री भएका थिए।
समान संगठन शैली, भिन्न स्वभाव
विश्वप्रकाश र गगनको संगठन शैली समान खालको देखिन्छ। तर यी दुवैको स्वभाव अलि फरक देखिन्छ। गगन आक्रामक भाषणमा केन्द्रित हुन्छन् भने विश्वप्रकाश तर्कसहित मिठो शैलीमा भाषण गर्छन्। गगन आफ्नै समूहमा बढी रमाउँछन्। उनको आफ्नै प्रचार संयन्त्र छ।
विश्वप्रकाशले गगनलेझैं आफ्नै प्रचार संयन्त्र र सचिवालय बनाएका छैनन्। उनी बाहिर बढी नै घुलमिल हुन्छन्। मिठो बोल्ने उनको शैलीले प्रशंसक बढाउन सघाएको देखिन्छ भने गगनको आक्रमकताले लोकप्रिय बनाएको छ।
यी दुवैको समान विशेषता भनेको तत्काल धारणा बनाएर बोल्न सक्छन्। मासक्रेज राम्रो भएकाले निर्वाचन लगायतका पार्टीको कार्यक्रममा यी दुवैको माग उच्च हुने गरेको छ। प्रतिस्पर्धीसँग समेत विश्वप्रकाश हार्दिकतापूर्ण प्रतिस्पर्धाको माहोल बनाउन सक्छन्।
गगनका हकमा प्रतिस्पर्धीसँग हार्दिकतापूर्ण प्रतिस्पर्धा कम देखिन्छ। २०७० मा होस् या २०७४ को निर्वाचनमा होस्, उनको प्रचार शैलीदेखि सबै रणनीति आफ्ना प्रतिस्पर्धी विरुद्ध आक्रामक नै देखियो। विश्वप्रकाश कसैको प्रशंसामा उदार देखिन्छन्।
संसदको निर्वाचनमा होमिँदा विश्वप्रकाशले सामाजिक सञ्जालमा गगनलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याउँदै मत मागिदिएका थिए। यस्ता काममा गगन अलि कमजोर देखिए पनि निर्वाचनको समयमा भने झापा गएर विश्वप्रकाशका लागि भोट मागेका थिए।
विश्व वैचारिक रुपमा बिपीको समाजवादबाट बढी नै प्रभावित देखिन्छन्। गगनको राजनीतिक तथा आर्थिक रणनीति बिपीको समाजवादभन्दा अलि भिन्न भएर आएको उनले महामन्त्रीको रुपमा सार्वजनिक गरेको अवधारणा पत्रले पनि देखाएको छ।
देउवाले जुधाउँलान् कि सँगै हिँडाउलान्?
दुई महामन्त्रीमध्ये कसलाई कुन भूमिका दिने, त्यो विधानत: सभापति शेरबहादुर देउवामै भरपर्छ। पदाधिकारीमा संस्थापन इतर समूहको राम्रो उपस्थिति रहे पनि बहुमतको आधारमा निर्णय गर्न देउवा सुविधाजनक बहुमतमा छन्। केन्द्रीय सदस्यमा पनि २५-१० देखाइरहेको छ।
महामन्त्रीको रुपमा यी दुवैको सम्बन्ध कस्तो हुन्छ, त्यो सभापति देउवाको भूमिकाले समेत निर्धारण गर्छ। गगन-देउवा अनि विश्वप्रकाश-देउवाको सम्बन्ध हेर्ने हो भने देउवाका हकमा गगनभन्दा विश्वसँग सहकार्य गर्न नै सहज देखिन्छ।
१४औं महाधिवेशनको मुखैमा प्रकाशमान समूहमा गए पनि विश्वप्रकाशले पाँच वर्ष पार्टी प्रवक्ताका रुपमा देउवालाई सघाए। यो बीचमा विश्वप्रकाश र देउवाबीच खटपट भएका समाचार बाहिरिएनन्। उनले आफ्नो सार्वजनिक छवि देउवाको गलत निर्णयका कारण हुनसक्ने ड्यामेज नियन्त्रणमा उपयोग नै गरेका हुन्।
उनको स्वभाव विपक्षीसँग समेत मिल्न सक्ने भएकाले देउवाका लागि सहज पात्र हुन सक्छन्।
गगन आक्रामक छन्। उनको शैली नै सहकार्यभन्दा बढी संघर्षप्रधान देखिन्छ। महामन्त्रीको उम्मेदवार बन्दा उनी खुला रुपमै शेखर कोइरालाको पक्षमा लागेका थिए। दोस्रो चरणको निर्वाचनमा पनि दिनभर शेखरसँगै उभिएर उनका लागि मत मागे। विश्वले प्रकाशमानको समूहमा बसे पनि सभापतिमा सिंहलाई मत बढाउन सघाएनन् भन्ने त सिंहको मत संख्याले नै देखायो। दोस्रो चरणको निर्वाचनमा उनी मौन बस्न सक्थे। तर बसेनन्। उनले प्रकाशमानको जे निर्णय हो मेरो पनि त्यही हो भन्दा सामाजिक सञ्जालमा भक्कु आलोचना समेत भेटेका थिए।
१४औं महाधिवेशनमा यी दुवैको भूमिकाले पनि देउवाले गगनको साटो विश्वप्रकाशलाई महामन्त्रीको मुख्य जिम्मेवारी दिने देखिन्छ। यो अवस्थामा देउवाले गर्ने निर्णयमा विश्वप्रकाश समेत सहमत हुँदा गगन विश्वप्रकाश विरुद्ध समेत आक्रामक हुने सम्भावना बलियो देखिन्छ।
विश्वप्रकाश भन्छन्- गगनको क्षमताको प्रशंसक हुँ
दुवैले महामन्त्रीमा जितेपछि उनीहरुका समर्थक खुसी भए। दुवैले एकअर्कालाई बधाई पनि दिए। जितपछि दुवैले एक-अर्काको प्रशंसा समेत गरेकै हुन्। तर दुवै एकै ठाउँमा हुँदा पनि अंकमाल गरेर तस्बिर भने खिचेनन्।
व्यक्तिगत लाभ-हानि हेर्ने हो भने यी दुईमध्ये एक महामन्त्रीमा विजयी भएको भए भावी राजनीतिक यात्रामा सहज हुनसक्थ्यो। दुवै एकै पटक महामन्त्री भएकाले प्रतिस्पर्धा त हुने नै भयो। प्रतिस्पर्धा स्वस्थ हुन्छ या प्रकाशमान-सिटौलाजस्तै बन्छ?
विश्वप्रकाश गगनसँगको आफ्नो सम्बन्ध राम्रो रहेको बताउँछन्। उनीसँग नेविसंघमा काम गरेको राम्रो अनुभव रहेको र संसदमा समेत प्रभावकारी भूमिका निभाएको उनले बताएका छन्।
‘गगनसँग नेविसंघमा सँगै काम गरेको अनुभव छ। गगनको क्षमताको प्रशंसा गर्छु। संसदमा राम्रो भूमिका गरेका छन्। मन्त्री हुँदा पनि राम्रो काम गरे। व्यक्तिगत रुपमा पनि सम्बन्ध राम्रो छ। पार्टीमा एकै पदमा जिते पनि काम गर्ने क्रममा सल्लाह र परामर्श हुन्छ नै,’ गगनबारे विश्वप्रकाश भन्छन्।
विश्वप्रकाशसँगको सम्बन्धबारे गगनसँग प्रतिक्रिया लिने प्रयास सफल भएन। उनको सचिवालयमा पटक-पटक सम्पर्क गर्दा अति व्यस्त भएको प्रतिक्रिया आयो।
पुष ४, २०७८ आइतबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।