नागरिकता नभए पनि मतदाता बनाउनुपर्ने सत्ताधारी दल जसपाको घातक माग

नागरिकता नभए पनि मतदाता बनाउनुपर्ने सत्ताधारी दल जसपाको घातक माग

काठमाडौँ : सत्ताधारी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाण पत्र नै नभएकालाई समेत मतदानको अधिकार दिन माग गरेका छन्। निर्वाचन आयोगले नयाँ मतदाताहरूको नाम दर्ता गरिरहेको बेलामा उनले गैर नागरिकलाई समेत मतदानको अधिकार दिने विवादास्पद माग गरेका हुन्।

मतदान भनेको नागरिकको कानुनी अधिकारी हो। र नागरिक हुन नागरिकता अनिवार्य छ नेपालमा। तर उनले विभिन्न समस्याका कारण नागरिकता पाउन नसकेकाहरूलाई मतदानमा सहभागी नगराउनु असंवैधानिक र अन्तर्राष्ट्रिय कानुन विपरीत हुने दाबी गरेका छन्।

उनले फेसबुकमा लेख्दै लाखौँ जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौँ नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको उनको दाबी छ। उनले नागरिकता पाउन योग्यहरूले नागरिकता नपाएको भन्ने आडमा गैर नागरिकले समेत मतदान गर्नु पाउने घातक माग गरेका छन्।

‘निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानुनका विपरीत र मानवता विरोधी कार्य हुन्’ उनले लेखेका छन्, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था थिएन।’

नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैर नागरिक हुन नसक्ने यादवको तर्क छ। उनले नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको भएको र राज्यले आफ्नो जिम्मेवारी पूरा नगर्दा त्यसको सजाय जनताले भोग्नुपर्ने भन्दै प्रश्न गरेका छन्' यो कस्तो न्याय हो?'

पुष ४, २०७८ आइतबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।