कांग्रेसका नयाँ चालक : चाँडो पुर्याउलान् कि दुर्घटनामा पार्लान् !
काठमाडौँ : नयाँ चालक हुनु अवसर र चुनौती दुवै हो। होस् पुराएर चलाए समयभन्दा छिटो अनि सकुशल गन्तव्यमा पर्याउन नि सक्छन्। दुर्घटना गराउन नि सक्छन्।
नेपाली कांग्रेसको उपसभापतिदेखि सह महामन्त्रीसम्म नयाँ चालक चुनिएका छन्। यीनको हकमा पनि यो लागू हुन्छ नै। परिवर्तन अनि विधान अनुसार पार्टी सञ्चालनको उनीहरूको नारा महाधिवेशन प्रतिनिधिले पत्याए। नेतृत्वको जिम्मेवारी दिए। अब परीक्षा पदाधिकारीकै हो।
उपसभापति पूर्णबहादुर खड्का बाहेक फ्रेस अनुहार छन् पदाधिकारीमा। खड्का अघिल्लो पटक मनोनीत महामन्त्री थिए ।
महामन्त्रीमा प्रभावशाली दुई युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यबाट महामन्त्री बने।
अर्का उपसभापति धनराज गुरुङ, सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव, बद्री पाण्डे र उमाकान्त चौधरी निर्वाचित भए। कांग्रेसको तेस्रो धार मानिने कृष्णप्रसाद सिटौला समूहका उमाकान्त चौधरी देउवा समूहबाट सह महामन्त्रीमा विजयी बने।
कांग्रेसको १३ औँ महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो। सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, दुई जना सह महामन्त्री र कोषाध्यक्ष पदाधिकारी थिए । तर अहिले विधान संशोधन गरेर कांग्रेसले पदाधिकारी १४ जनाको बनाएको छ।
प्रवक्ता समेत काग्रेसको पदाधिकारी बैठकमा जान पाउने भएकोले प्रवक्ता सहितलाई आधार मान्दा कांग्रेसमा १५ जना पदाधिकारी रहनेछन्।कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट प्रस्ताव भई पूर्ण बैठकले पारित गर्नुपर्नेछ ।
'आवश्यकता अनुभव र परिपक्वता सभापतिमा अब एक पटक देउवा' भन्दै मुख्य चालक सिटमा पुरानै खेलाडी पुगेका छन्। नयाँ पदाधिकारीको जिम्मेवारी अब कांग्रेसको रुट तय गर्ने अनि आवश्यकता अनुसार गियर र ब्रेकको सुझाव दिने हो। नमाने दबाब दिने बाहेक अर्को विकल्प छैन। गन्तव्यमा पुर्याउने नपुराउने मूल चालककै मुडमा भर पर्ने निश्चित छ।
बढी दवावदिँदा चाँडै दुर्घटनामा पर्ने जोखिम त छँदै छ।
‘मुख्य कुरा नेतृत्व परिवर्तन नै हुनुपर्ने थियो त्यो हुन सकेन तल्ला पदहरूमा नयाँ र पुराना मान्छेहरूले खासै अर्थ राख्दैन’ राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईँ भन्छन्' उपसभापति र महामन्त्री पार्टीभित्र प्रभाव पार्न सक्ने खालका छन्।'
उनी देउवा नै बहुमतमा गए, पदाधिकारीमा पनि उनकै बहुमत हुँदा देउवा शैलीमा पार्टी चल्दा नयाँ ड्राइभरले गाडी चलाउँदा कि समयमा पुराउँछ कि दुर्घटनामा पर्छ, तर कांग्रेसमा इतरपक्षको कार्यशैली र देउवाको कार्यशैलीले घच्च घच्च भएर चल्ने विश्लेषक चापागाईँ थप्छन्।
‘नयाँ टिम छ कार्यशैली हेर्न बाँकी छ। पुरानाहरू त परीक्षण भैसकेका हुनुहुन्छ। देउवाकै शैली फेरिएन भने नयाँ साथीहरूले कसरी काम गर्छन् हेरौँ। हामीले केन्द्रीय समितिमा पनि हेरेका साथीहरू भएकाले काँचो टिम भन्न नमिल्ला। यद्यपि काँचा भनिएकाबाट अपेक्षा छ ।’ एक पूर्व पदाधिकारीले भने ।
कोही अन्तर्वार्तामा व्यस्त कोही प्रोपोगन्डामा
सभापति र उपसभापतिमा जितेकाहरू केन्द्रीय समिति कस्तो बन्छ प्रतीक्षामा छन्। सभापति देउवा प्रधानमन्त्री निवास बालुटारमा शुभकामना दिन आएको कामना ग्रहण गरिरहेका छन्। तर पराजित शेखर कोइराला हियाउने गतिविधि गरेका छैनन्। पूर्णबहादुर आफ्ना राजनीतिक गुरु कृष्णप्रसाद भट्टराईको आश्रम गएर आशीर्वाद लिए।
महामन्त्री गगन थापाले महामन्त्री भएमा गर्ने अवधारणा सार्वजनिक गरिसकेका छन्। कांग्रेस कुन बाटोमा हिँड्नुपर्छ, आगामी निर्वाचनमा गठबन्धन कि एकल सबै प्रस्ट छन् उनका।
महामन्त्री भएपछि अब उनको जिम्मेवारी त्यही अवधारणा कार्यान्वयनको प्रयासमा केन्द्रित हुनुपर्नेमा उहीँ पुरानै शैलीका अन्तर्वार्तामा व्यस्त छन्। उनी कार्यान्वयन भन्दा प्रचारमै बढी केन्द्रित देखिए। यसले गगन बोल्ने मात्र हुन्न गर्ने हैनन् भन्नेको मत बलियो बनाउने छ। अब बोल्ने भन्दा काम गर्ने जिम्मेवारी हो उनको अब।
अर्का महामन्त्री विश्वप्रकाश शुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालय पुगेर जमिनमा ढोगे। उनले यहीँको माटोको टीका लगाएर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए। त्यसैले जितपछि त्यही फर्कनु जायजै हो। तर उनी कहिले जनआन्दोलनका ज्युँदा सहिदको घर पुगिरहेका छन् त कहिले सशस्त्र द्वन्द्व घाइते भेट्न। जसले राजनीतिक परिवर्तनका लागि योगदान दिए तीनको सम्मानजनक जीवनयापनको व्यवस्थापन राज्यको जिम्मेवारी हो।
सरकारमा कांग्रेस नेतृत्व छ। उनी कांग्रेस महामन्त्री भएकाले त्यसको व्यवस्थापन उनको पनि जिम्मेवारी हो अब। फगत घर-घर धाउनु नियत सफा नै भए पनि पब्लिक प्रोपोगन्डा बढी देखियो।
१४ औँ महाधिवेशनमा पदाधिकारीमा पुगेकाबाट १५ औँ महाधिवेशनमा नेतृत्व दाबी गर्ने सम्भावना छ। यसमा विश्वप्रकाश र गगननै अगाडि बढ्न नि सक्छन्। त्यसैले यी दुईको कार्यशैलीलाई मिहिन ढङ्गले हेरिनु नाजायज पक्कै हैन। बोली अनुसार उनीहरूबाट चर्चा र प्रोपोगन्डा भन्दा ब्यवहारमा परिपक्व कार्यशैलीको अपेक्षा जायज नै हो।
‘महामन्त्री सहमहामन्त्रीहरुले परिपक्व भएर सभापतिमा प्रतिस्पर्धा गर्न जान्छन् १५ औँ महाधिवेशनमा,’ कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठ भन्छन्'मततादाहरुले विवेक प्रयोग गरेकाले वर्तमान टिमबाट आशावादी छु।'
पुष ३, २०७८ शनिबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।