कांग्रेस पदाधिकारीमा अल्पमतको उदय तर बहुमत देउवाकै

काठमाडौँ : नेपाली कांग्रेसको १३ पदाधिकारीमा संस्थापन समूहबाट ८ जना निर्वाचित भएका छन्। उपसभापतिमा एक र दुवै महामन्त्री संस्थापन समूहले गुमाए पनि सह महामन्त्रीमा आफ्ना पक्षका उम्मेदवारको जितपछि शेरबहादुर देउवा सहज बहुमतमा भने पुगेका छन्।
आठ सह महामन्त्रीमध्ये शुक्रवार सकिएको मतगणनामा ६ जना संस्थापन समूहका उम्मेदवारले जितेपछि देउवाले सहज बहुमत पाएका हुन्।
कांग्रेस विधान अनुसार पदाधिकारीमा १ सभापति, २ उपसभापति २ महामन्त्री र ८ सह महामन्त्री र १ कोषाध्यक्ष रहने व्यवस्था छ। सबै पदको निर्वाचन भयो। कोषाध्यक्ष पछि मनोनीत हुनेछन्। संस्थापनले १३ मा ८ पदाधिकारी जित्दा शेखर कोइराला समूहले चार र एक प्रकाशमान सिंह समूहका उम्मेदवारले जितेका छन्।
सभापतिमा संस्थापन समूहका देउवाले जिते। २ उपसभापतिमा पूर्णबहादुर खड्का देउवा समूहका हुन् भने धनराज गुरुङ शेखर समूहका। महामन्त्रीमा निर्वाचित गगन थापा कोइराला समूहका हुन् भने विश्वप्रकाश शर्मा सिंह समूहका हुन्।
सह महामन्त्रीमा महिला क्लास्टरबाट विजयी महालक्ष्मी उपाध्याय डीना, जनजाति क्लस्टरबाट निर्वाचित भीष्मराज आङ्देम्बे, खस-आर्य क्लस्टरमा निर्वाचित किशोरसिंह राठौर, मुस्लिम क्लस्टरमा निर्वाचित फर्मुल्लाह मन्सुर, थारू क्लस्टरमा निर्वाचित उमाकान्त चौधरी र मधेसी क्लस्टरबाट निर्वाचित महेन्द्र यादव देउवा प्यानलका हुन्।
दलिततर्फबाट निर्वाचित जीवन परियार, अल्पसङ्ख्यकतर्फबाट निर्वाचित बद्री पाण्डे संस्थापन इतरका हुन्।
१३ पदाधिकारीमा देउवा प्यानलबाट सभापति सहित उपसभापति १ सह महामन्त्री ६ गरी ८ पदाधिकारी निर्वाचित भए। इतरपक्षमा १ उपसभापति २ महामन्त्री र २ सह महामन्त्री गरी ५ पदाधिकारी छन्।
पदाधिकारीमा लगभग ६०–४० को अनुपातमा निर्वाचित भए। १३ पदाधिकारीमा ५ पदाधिकारी इतरपक्षबाट हुनु ३८.४७ प्रतिशत हुन आउँछ। ६१.५३ प्रतिशत पदाधिकारी संस्थापन पक्षबाट निर्वाचित भएका छन्। यसले देउवाले चाहेमा बहुमतका आधारमा पदाधिकारीबाट निर्णय गराउन सक्नेछन्।
सभापतिमा निर्वाचित धनराज गुरुङ आफूहरू अग्नि परीक्षामा रहेको बताउँछन्। महाधिवेशनमा रूपान्तरणका पक्षमा मत मागेको र त्यसको सुरुवात सभापतिबाट हुने उनको भनाइ छ।
‘रूपान्तरणको कुरा शब्दजालमात्रै थियो भन्ने परिस्थिति बन्यो भने हामी नालायक बन्छौँ। पार्टीभित्रको पहिलो रूपान्तरण हुनुपर्छ भनेर महाधिवेशनको मैदानमा यो नारा घन्काएर लिएका थियौँ। हामीले रूपान्तरण र परिवर्तनको पक्षमा मत माग्यौँ। हामी विजयी पनि भयौँ। रूपान्तरणको अभियान हामीले सभापतिबाट सुरु गर्छौँ,’ उनले भने
एक कार्यकाल बिताइसकेका देउवा कार्यसम्पादनमा कमजोर रहेकाले उनको कार्यसम्पादन अब पदाधिकारीले सुधार्ने उनको भनाइ छ। ‘विधि र विधानबमोजिम चल्ने पार्टी बनाउँछौँ। हिजो हामीले विधि र विधान मिच्यौँ, २ महिनाभित्र विभाग गठन गर्ने कुरा विधानमा लेखिएको छ। तर, पाँच वर्ष पुग्दा पनि विभाग गठनको लागि पत्राचार भइरहेको छ। हामी विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा छौँ,’ गुरुङले भने।
अब पार्टीमा हिजो जस्तो प्रतिशतको भागबन्डा नहुने सह महामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय डीन बताउँछिन्। अबको राजीनिति स्थानीयदेखि आम निर्वाचन केन्द्रित हुने उनले बताइन्।
'योगदान गरेका साथीहरूलाई महत्त्व दिँदै स्थान दिन सबैको चासो हो। त्यसैले अब व्यक्तिवादी र गुटगट भन्दा पार्टी केन्द्रित राजनीति हुन्छ,उपाध्यायले उकेरासँग भनिन्।
आन्तरिक रूपमा प्रतिस्पर्धा लोकतान्त्रिक हुने उनको भनाइ छ।
‘यो देउवाको अन्तिम कार्यकाल हो। अबको नेतृत्वले हिजोको जस्तो सभापतिसँग विमति राखेर जाने अवस्था देख्दिन। जति साथीहरू आउनुभएको छ उहाँहरूको भविष्य नै पार्टीको भविष्य हो। जुन पक्षको भए पनि पार्टीलाई सङ्गठित बनाउने अवसर हो। अधिकांश युवा आउनुभएकाले यो कार्यसमितिलाई चुनौती होइन अवसर छ,’ उनले भनिन्।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसमा धेरै परिवर्तन भएको बताउँछन्। ‘हिजोको जस्तो देउवाको केन्द्रीय कार्यसमिति रहेन। उपसभापति र महामन्त्रीमा पार्टी भित्रको प्रतिपक्षको उदय भएको छ। शेखर कोइरालाको नेतृत्वमा उदय भएको सो समूहले पार्टी मेरिटको आधारमा चल्नुपर्छ भनेर दबाब सिर्जना गर्छ। हिजोजस्तो बालुवाटारमा बसेर वा बुढानीलकण्ठमा बसेर पार्टीको निर्णय गर्ने छुट नयाँ कांग्रेसले दिँदैन। पाएको म्यान्डेटको सम्मान हुने गरी निर्णय हुनेछ।’
पार्टीभित्र सशक्त र रचनात्मक हस्तक्षेप गर्न सक्ने पर्याप्त शक्ति आर्जन पदाधिकारीमा रहेको र केन्द्रीय सदस्यमा पनि सोही प्रकारको नतिजा आउन सक्ने आचार्यको विश्लेषण छ।
पुष २, २०७८ शुक्रबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।