डान्स च्याम्पियनको क्या बिजोग पारा

डान्स च्याम्पियनको क्या बिजोग पारा

काठमाडौँ अहिले रियालिटी शोको भिडमा डान्स सम्बन्धी रियालिटी शो डान्स च्याम्पियन चलिरहेको छ। कार्यक्रम ब्याटल राउन्डसम्म पुगिसक्दा पनि यसले दर्शकमाझ खासै प्रभाव पार्न सकेको छैन।

डान्स इन्डिया डान्सको कन्सेप्ट लिएर इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस् प्रालिले बनाएको कार्यक्रममा न प्रस्तोता जम्न सकेका छन् न जजहरू नै प्रभावकारी देखिएका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका प्रतियोगी समेत रहेका छन्। प्रतियोगीहरूको कलाले भने दर्शकलाई त्यति चासो जगाउन सकेको छैन।

प्रतियोगितामा अभिनेत्री निरुता सिंह, जगत रावल अनि आश्मा विश्वकर्मा जज छन्। कुन कार्यक्रमलाई दर्शकले रुचाए कुनलाई त्यति वास्ता गरेनन् भनेर पहिल्याउने टिआरपी पद्धति नेपालमा छैन।

कुन कार्यक्रम हिट भयो कुन फ्लप भनेर छुट्टाउने माध्यम अहिले युट्युबमा कति भ्युज पाए अनि कति कमेन्ट भन्ने नै हो। ८ लाख १९ हजार सब्सक्राइवर भएको ओएसआर रियालिटीमा राखिएको कार्यक्रमको भ्युज अन्य रियालिटी शोको तुलनामा अति कम छ।

बिहीबार प्रसारण भएको ब्याटल राउन्ड राखिएको २० घण्टा कट्दा पनि एक लाख भ्युज पाउन सकेको छैन। 

कार्यक्रमको मुख्य समस्या स्टेजमा देखिन्छ। स्टेज निकै सानो बनाइएको छ। समूहमा डान्स गर्न प्रतियोगिहरुलाई अलि अप्ठ्यारो परेको प्रस्टै देखिन्छ। अर्को समस्या प्रतियोगीविचको प्रतिष्पर्धा पनि हो। ब्याटलमा सिङगललाई समूहसँग प्रतिष्पर्धा गराइएको देखियो।

लाइट सिस्टम अनि साउन्ड सिस्टमसँगै क्यामरा वर्क पनि चित्त बुझ्दो देखिँदैन कार्यक्रमको। प्रसारित कार्यक्रमको आधारमा थोरै क्यामरा क्रुबाट काम चलाए जस्तै देखिएको छ।

कार्यक्रमका हरेक एपिसोडमा कपि राइटको समस्या दिने गरेको छ। ब्याटल राउन्डको दोस्रो प्रस्तुति दर्शकले प्रतियोगीको हाउँभाउँले बुझ्न बाध्य भए। म्युजिकमा कपी राइट लाग्ने भयले म्युट गरियो। क्या बिजोग क्या।

कार्यक्रमको प्रारम्भबाटै किरकिर बनाइरहेको जज जगतको नेपाली बोली अझै सुध्रिन सकेको छैन। हिन्दी टोनमै उनी प्रतिक्रिया दिइरहेका हुन्छन्। निरुता र आश्माले भने आफ्नो शैलीमा सुधार गरेको देखिन्छ।

कार्यक्रम प्रस्तोता बनेका 'फुलन्देकी आमा' बनेका उमेश राइका लागि कमेडी शो नै ठिक छ। उनी डान्स रियालिटीमा जमेनन्।

पुष २, २०७८ शुक्रबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।