गिरिजाप्रसादसँग जुध्दाजुध्दै उकालिएका नेता

गिरिजाप्रसादसँग जुध्दाजुध्दै उकालिएका नेता
तस्बिर : विकाश कार्की।

सधैँ राजनीतिक लफडा भइरहने त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै २०५१ बाट सुरु भएको उनको राजनीतिक यात्रा सचिवहुँदै २०५५ मा स्ववियु सभापति हुँदासम्म क्याम्पसमै समेटिएको थियो। नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा लागिरहेका उनका लागि अवसरको ढोका शक्तिसँग भिड्दा नै बनेको छ।

सङ्घको अध्यक्ष हुन गिरिजाप्रसाद कोइरालासँग बढेको टकराबसँगै सडकमा गणतन्त्रको नारा लगाउँदा झन्डै पार्टीको कारबाहीमा परेका उनका लागि भने यी सबै टकराब फलदायी बन्दै गए। पार्टीभित्र उनलाई धेरै नेताहरूले नरुचाए पनि पार्टी बाहिर भने उनको छवि बलियो बन्दै गयो।

२०५७ मा सङ्घको उपाध्यक्ष अनि २९५९ मा महामन्त्री बनेका उनले सङ्घको अध्यक्ष बन्न निकै प्रयास गरे। पोखरामा भएको अधिवेशनमा उनी बलियो उम्मेदवार थिए। तर पार्टी नेतृत्वले हस्तक्षेप गर्दा लफडा भएपछि अधिवेशनै हुन सकेन। त्यसपछि चितवनमा भएको अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने प्रयास गरेका थिए। अन्तमा उनले प्रदीप पौडेललाई साथ दिएर चित्त बुझाए। पार्टीभित्रको सङ्घर्षमा उनले गुमाएको भनेको उही सङ्घको अध्यक्ष हुने अपुरो सपना मात्र हो।

पार्टीको विद्यार्थी सङ्गठनको नेतृत्व गर्न नपाए पनि माओवादी सशस्त्र सङ्घर्षसँगै बढेको गणतन्त्रको माहौलले उनलाई सडकमा आन्दोलनको नेतृत्व गर्ने अवसर दियो। पार्टीले औपचारिक रूपमा गणतन्त्र कि संवैधानिक राजतन्त्र भन्ने निर्णय नै नगर्दा उनी गणतन्त्रको पक्षमा उभिँदा राज्य द्रोहको मुद्दा समेत खेपे। उनी कारागार पुगे पनि राजनीतिक उचाइमा यसले सघायो नै। केही समयमा उनी रिहा भए।

प्रारम्भमा गणतन्त्र जिन्दावादको नारा लगाउँदा कारबाही गर्न तम्सिएको पार्टीपछि आफैँ गणतन्त्रमा जाने निर्णयमा पुग्यो। यसमा नरहरि आचार्यले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। २०६२-०६३ को आन्दोलनमा उनी युवा नेताको आइकन बन्न सफल भए। संयुक्त विद्यार्थी आन्दोलनले गगन अनि रामकुमारी झाँक्रीको राजनीतिक छवि देशभर फैलाउने काम गरेको थियो।

बलियो छवि बनेपछि नेताहरूले उनलाई अस्वीकार गर्न सकेनन्। उनी २०६४ मा समानुपातिक सांसदको रूपमा संसद्मा प्रवेश गरे। उनको राजनीतिक यात्राले गति लियो। २०६७ मा उनी पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० को संविधान सभाको दोस्रो निर्वाचनमा उनी काठमाडौँको क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फको उम्मेदवार बने र जिते।

२०७२ मा उनी पार्टीको महामन्त्रीको उम्मेदवार बनेर पराजित भए। २०७३ मा नौ महिना स्वास्थ्य मन्त्री भएका उनी २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट सांसद बने।

लोकप्रियताले जोगाएको नेता

कोइराला परिवारसँगको उनको सम्बन्ध बढी हेटकै देखिन्छ। तै पनि उनको चुलिएको लोकप्रियताले उनलाई सधैँ किनारामा राख्न भने सकेन पार्टीले

त्यसमा उनलाई साथ दियो वाक कलाले। विध्यार्थीकालदेखि नै उम्दा भाषणकला रहेका उनी परिवर्तनको अजेण्डा पहिल्याउन सफल देखिन्छन्। त्यसले उनलाई अलोकप्रियतातिर धकेलेन। दुई पटक संविधान सभाका सदस्य भएको बेलामा उनको संविधान सभा भवनमा बोल्ने कलाको प्रशंसा नै भएको थियो। सार्वजनिक सरोकारको विषयमा नडराई प्रस्ट आफ्ना कुरा राख्न सक्छन् उनी।

२०७४ मा कांग्रेस प्रतिपक्षी भएपछि उनले कमजोर देखियो संसद्मा। उनले पार्टीको तर्फबाट एक्लो प्रतिपक्षको भूमिका निर्वाह गरे। उनले संसद्मा गरेका अधिकांश सम्बोधन भाइरलै भए। केपी ओली सरकारको चुलिएको अलोकप्रियताले थापाको शाब्दिक प्रहार नागरिकले रुचाए।

पार्टीका शीर्ष नेताहरूले त्यति नरुचाउने अनि प्रतिस्पर्धी दलका नेता र कार्यकर्ताले पनि बढी प्रहार गरिरहे पनि उनी आफ्नो बलले टिकिरहे। यसले उनको लोकप्रियताको ग्राफ घटाएन। बरु बढायो।

गिरिजाप्रसादसँगको तितो सम्बन्धले सुजाता र सुशील  कोइरालासँग पनि उनको सम्बन्ध उति राम्रो सुमधुर हुन सकेन। शशाङ्कसँग तितो सम्बन्ध नभए पनि उनी आखिरमा शेखर कोइरालाको समूहमा बसेर पार्टीको महामन्त्रीमा निर्वाचित भए।

सडकमा पपुलर भएका धेरै नेता मन्त्री भएपछि खुइलिएका छन्। नौ महिना स्वास्थ्य मन्त्री भएका थापाको हकमा भने त्यो लागु भएन। केही निर्णय विवादमा तानिए। तर उनी अन्य नेताझैँ मन्त्री भएर अलोकप्रिय भएनन्। स्वास्थ्य सम्बन्धी नीतिहरू बनाए। मन्त्रालयको संरचनामा काम गरेर दाग नलागी सरकारबाट बाहिरिए।

जोखिमसँग रमाउने स्वभाव

उनी पार्टीभित्र जोखिम मोल्न तयार हुने नेताको रूपमा परिचित छन्। गिरिजाप्रसादको एकछत्र राज चलेको बेलामा उनीसँगै निहुँ खोज्ने, लगातार एमालेको उम्मेदवारले जित्दै आएको काठमाडौँको निर्वाचन क्षेत्र रोज्ने अनि पार्टीमा हस्तक्षेपकारी पदमा उम्मेदवार बन्ने उनको निर्णयमा जोखिम धेरै थिए। समर्थकहरूको साथ र निरन्तर भिड्न सक्ने स्वभावले उनी २०७८ मा आएर महामन्त्री बने।

दोस्रो प्रयासमा पनि असफल भएका भए उनको उकालो लागिरहेको राजनीतिक यात्राको ग्राम ओरालोतिर लाग्न सक्ने जोखिम थियो नै।

उनी अवसर चयन गर्न पनि माहिर छन्। अवसर खोज्दा उनले आफ्नो राजनीतिमा धेरै समूहहरू बदलेका पनि छन्। नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दा नेविसंघका पूर्व अध्यक्ष गोविन्दराज भट्टराई निकट थिए उनी। पछि विश्व प्रकाश शर्माको समूहमा लागेर उपाध्यक्षसम्म भए।

१२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भएका थापा सुशील कोइरालाको प्यानलबाट उठेका थिए। सुशील कोइरालाको निधनसँगै संस्थापन समूह बलियै रहेको बेलामा उनी संस्थापन समूहमा विद्रोह गरेर नयाँ समूह बनाएका कृष्णप्रसाद सिटौलातिर लागेर १३ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बने।

उनी महामन्त्रीको उम्मेदवार बन्दा उता शेरबहादुर देउवा समूहबाट उनकै ससुरा अर्जुन नरसिंह केसी उम्मेदवार थिए भने संस्थापनबाट शशाङ्क कोइराला। शशाङ्कले जिते। उनी पराजित भए पनि चर्चाका हिसाबमा उनलाई कुनै घाटा भएन। उनले ५ सय ८४ मत ल्याएका थिए।

१३ औँ महाधिवेशनमा पहिलो चरणमा सभापतिको टुङ्गो नलागेपछि भएको दोस्रो चरणको निर्वाचनमा सिटौलाले देउवालाई समर्थन गर्दा उनी भने मौन बसे। बिस्तारै उनी देउवासँग पराजित भएर संस्थापनबाट संस्थापनइतर बनेको रामचन्द्र पौडेलको बैठकमा देखिन थाले। सिटौलाको कार्यक्रममा देखिन छाडे।

उनी महामन्त्रीमा उम्मेदवार बन्ने तयारीमा लाग्दा अर्का केन्द्रीय सदस्य शेखर कोइराला सभापतिमा उम्मेदवारी दिने दुस्साहसी तयारी गरिरहेका थिए। उनी कोइरालातिर नजिक हुँदै गए।

महाधिवेशनको वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनमा भने सभापतिको उम्मेदवारको दाबी गरिरहेका प्रकाशमान सिंहसँग सहकार्य गरे। धेरैले यसपालि गगन र प्रकाशमान केन्द्रीय महाधिवेशनसम्म सँगसँगै जाने अनुमान गरेका थिए तर भएन।  

पौडेल पक्षले एकल उम्मेदवार टुङ्गो लगाउन नसकेपछि शेखरसँगै प्रकाशमान पनि सभापतिको उम्मेदवार बन्दा उनी शेखर समूहबाट महामन्त्रीको उम्मेदवार बने। आफ्नो समूहको सभापतिको उम्मेदवार पराजित भए पनि उनले बलियो रहेको भनिएको संस्थापन समूहका उम्मेदवारलाई पराजित गरेर सबैभन्दा धेरै मत ल्याएर महामन्त्री बने।

उनले सार्वजनिक कार्यक्रमहरूमा कांग्रेस कस्तो बनाउने भन्ने धेरै अवधारणाहरू सार्वजनिक गरिसकेका छन्। १४ औँ महाधिवेशनले भने अब अवधारणा पेस गरेर ताली मात्र लिने हैन अवधारणा व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारीमा पुगेका उनको कथनी र करनीको परीक्षण यही कार्यकालमा हुने पक्का छ।

पार्टीमा उनको भावी  भविष्य यही कार्यकालले तय गर्ने पक्का छ। अब लोकप्रिय भाषणले मात्र उनको लोकप्रियता धान्दैन। निरन्तर उकालिएको राजनीतिक यात्रालाई थप उकाल्ने हो भने अब नतिजा अनिवार्य छ। उनको स्वभावले मेरो समूहको सभापति नभएकाले, मेरो कुरा नसुनिएकाले जस्ता बहानाले कमजोरी लुकाउन सम्भव छैन।

पुष १, २०७८ बिहीबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।