सफलताको कथा: पैसा त बाख्राको खोरमा पो रहेछ !
सुर्खेत : पञ्चपुरी नगरपालिका-५ का ३२ वर्षीय रमेश विश्वकर्मा पाँच वर्ष भारत बसे। घरको कमजोर आर्थिक अवस्थाका कारण कक्षा ६ मा पढ्दापढ्दै उनी बुबासँग भारत गएका थिए।
१० वर्षकै उमेरमा भारत गएका उनले सुरुमा होटलमा भाँडा माझ्ने काम गरे। विस्तारै कुकको काम सिकेका रमेश विस्तारै कुक म्यान बने।
बाल्यकाल र युवा अवस्थाको आठ वर्षसम्म होटेलमैं बिताए रमेशले। महिनामा कमाउने १०/१२ हजार रुपैयाँले जहान-केटाकेटी पाल्न र घर खर्च चलाउनमै सीमित भएपछि उनले कतार गएर धेरै पैसा कमाउने सपना बुने।
नेपाल आएर होटेलमा नै काम गर्न कतार उडे। कतारमा उनले होटेलमा कुक म्यानको काम गरे। कतारमा पनि रात-दिन काम गर्दा समेत सोचे अनुसार कमाइ भएन। उनी साहुसँग डेढ लाख रुपैयाँ ऋण लिएर कतार उडेका थिए।
अर्काको देशमा १८ घण्टा काम गर्दा पनि ३०/३२ हजार रुपैयाँभन्दा बढी कमाउन नसकेपछि उनले गाउँ फकिएर केही गर्ने योजना बनाए।
गाउँ फर्किएपछि कृषि गर्ने योजना बनाए। २०७७ सालको चैतमा लकडाउन थियो। उनले गाउँ फर्किएर सिर्जनशील पशुपालन फर्म दर्ता गरे। सुरुमा बाख्रा र खसी गरी २० वटाबाट व्यवसाय सुरु गरे।
व्यवसाय सुरु गर्दा रमेशसँग खासै पैसा पनि थिएन। कतारबाट फर्किँदा उनीसँग ५० हजार रुपैयाँ मात्रै बचेको थियो। समूहबाट ५० हजार रुपैयाँ ऋण र ५० हजार रुपैयाँ आफूसँग भएको पैसाबाट बाख्रा खरिद गरे।
तीन महिनापछि २० वटा खसी र बाख्रा बेचेर फेरि ५० वटा खसी र बाख्रा किने। ती बाख्रा, खसी बेचेर आएको आम्दानीले ऋण तिरेर फेरि ५० वटा बाख्रा खरिद गरेका रमेश अहिले वार्षिक पाँच लाख रुपैयाँको कारोबार गर्छन्। बाख्रा पालनमा उनलाई श्रीमतीले सहयोग गरेकी छिन्।
आर्थिक अभावका कारण बीचैमा पढाइ छोडेर भारत गएका रमेशले जीवनमा धेरै संघर्ष गर्नुपर्यो। कहिले कापी-कलम किन्न नसकेर विद्यालय नगएको त कहिले खाली खुट्टा विद्यालय गएको अहिले पनि उनी झलझली सम्झन्छन् ।
‘मैले पैसाकै लागि धेरै दुःख गरें। भारतमा आठ वर्ष काम गरें। कतारमा पनि दुःख गरें। घरमैं बसेर यत्तिको आम्दानी हुन्छ भन्ने थाहा पाएको भए पहिल्यै यो व्यवसायमा लाग्थें,’ रमेश भन्छन्, ‘लगनशील भएर मिहिनेत गरे स्वदेशमैं विदेशभन्दा धेरै कमाउन सकिँदो रहेछ।’
घरको जेठो छोरो, सबै जिम्मेवारी उनैमाथि थियो। बुबाले कमाएको पैसाले भाइ-बहिनीलाई पढाउने कि जहानलाई पाल्ने समस्या भएपछि आफू बाध्य भएर विद्यालय पढ्न छोडी भारत गएको उनले बताए। प्रहरीको अफिसर बन्ने लक्ष्य राखेका रमेश अहिले सफल कृषक भएका छन्।
आफूलाई होटेल लाइनको अनुभव भए पनि बालबच्चासँग घरमैं बसेर आम्दानी गर्न सकिने भएपछि बाख्रा पालन रोजेको उनी बताउँछन्। खसी-बाख्रा बेच्न कुनै बजार धाउनु नपर्ने घरमै व्यापारीहरु लिन आउने गरेकोले यो व्यवसायलाई अझै बढाउने सोच रमेशको छ।
अब उनले गाउँमै खसी बाख्राको स्पेशल परिकार बनाउने लक्ष्य राखी कटेज खोल्ने र यहाँका खसी-बाख्रा काठमाडौं, पोखरा र बुटवलसम्म पुर्याउने लक्ष्य राखेका छन्।
आमा-बुबा, श्रीमती र छोरा-छोरीसहित रमेशको ६ जनाको परिवार छ। बिहानदेखि साँझसम्म खसी-बाख्राको स्याहार व्यस्त हुने उनी खोरमा बाख्रा होइन, पैसा र जिन्दगी देख्ने गरेको बताउँछन्।
‘अहिले म आफ्नो परिवारसँगै आनन्दले जीवन बिताइरहेको छु। मेरो सपना त प्रहरी अफिसर बन्ने थियो। तर म अहिले एउटा किसान भए पनि खोर भित्रका मेरा बाख्रालाई बाकसमा राखेका पैसा र त्यो पैसामा आफ्नो जिन्दगी देख्छु,’ रमेशले भने, ‘खाने समयमा खाएको छु, घुम्ने समयमा घुमेको छु। आफ्ना आवश्यकता यसैबाट परिपूर्ति भएका छन्।’
पुष १, २०७८ बिहीबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।