सय मतको बन्डलमा गडबड गरिएको त्यही २ मतले जिते धनराजले

सय मतको बन्डलमा गडबड गरिएको त्यही २ मतले जिते धनराजले
तस्बिर : दिपेन्द्र अधिकारी

काठमाडौँ :  निर्वाचनमा सबैभन्दा ठुलो साथ मतदाताको चाहिन्छ। कहिलेकाहीँ मतदातासँगै भाग्यले साथ नदिँदा परिणाम आफ्नो पक्षमा आउन सक्दैन। नेपाली कांग्रेसको उपसभापतिको उम्मेदवार बनेका विजयकुमार गच्छदारका लागि यस्तै भयो। ५५ मत बदर भएको अन्तिम मत परिणाममा उनी धनराज गुरुङसँग २ मतले पराजित भए।

निर्वाचनमा अपराजित गच्छदारलाई हैन धनराज गुरुङलाई साथ दियो भाग्यले। छिन्नभिन्न भएको संस्थापनइतर समूहमध्ये शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका धनराज गुरुङ २ मतले गच्छदारलाई पराजित गर्दै नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टीको उपसभापतिमा निर्वाचित भए। धनराजको १९०८ मत आएको थियो भने गच्छदारको १९०६ मत आएको थियो।  

उनी यस अगाडि केन्द्रीय सदस्य थिए। पार्टीले पहिलो पटक उपसभापतिको निर्वाचन गरेको हो। यस अगाडि मनोनीत हुने गरेका थिए। गच्छदार संस्थापन समूहका उम्मेदवार। धनराजको जीतसँगै उपसभापतिमा संस्थापन र संस्थापनइतर समूहका दुई उम्मेदवारले जितेका छन्।

धनराज निर्वाचित भएको मत परिणाम चुहिएको डेढ घण्टापछि मात्रै केन्द्रीय निर्वाचन समितिले औपचारिक रूपमा मत परिणाम सार्वजनिक गरेको थियो।  यदि उनले मत गणनामा शङ्का गरेर एक सयको बन्डलको पुन गणना गराउन नलगाएको भए उनको र गच्छदारको मत बराबर हुने रहेछ।

सय मत गन्दा उनले ४१ मत पाएको भनिएपछि उनले शङ्का गरेर पुन गन्न माग गर्दा उनले ४३ मत पाएको पुष्टि भयो। त्यही २ मतले उनी विजयी भए।

उनले आफूले मत गणना हेर्दा एक गणकले आफ्नो नाममा आएको २ मत गच्छदारकोमा जोडेको देखेपछि पुन गणना गराउन माग गरेको र पुन गन्दा गणकको गल्ती देखिएको जानकारी गराए। 

'रेजा लगाउनेले मेरो नाममा आएको २ मत विजय दाइकोमा जोड्नु भएको रहेछ। मैले पुन गन्न लगाएपछि सयमा मलाई ४१ मत नभई ४३ मत आएको पुष्टि भयो। त्यही २ मत नै निर्णायक भयो।'

प्रारम्भिक मतगणनामा अग्रता लिएपछि उनी आफैँ मतगणनास्थलमा आएका थिए। उनले आफू जित्ने भएर नआएको तर मतगणना निष्पक्ष भएको छ छैन भनेर हेर्न मात्र आएको र मत गन्ने एक गणकले गनेको चित्त नबुझेपछि सय मत पुन गन्न लगाएको बताए। उनले यो जानाजान नभई अनजानमा भएको हुनसक्ने तर आफूले बेलैमा देखेकाले सच्याउन सकेको सञ्चारकर्मीहरूलाई बताए। 

उपसभापतिमा पूर्णबहादुर खड्काले सबैभन्दा धेरै २१२१ मत पाए। तेस्रो भएका चन्द्र भण्डारीले १५८० मत पाए। प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेकी सुजाता कोइरालाले ६४४ मत पाइन्। यो सिंहले पाएको भन्दा दोब्बर हो।

संस्थापनइतर समूहमा रहेकी उनले अन्तिम समयमा समूह परिवर्तन गरेर सिंहको समूहबाट उपसभापति बनेकी थिइन्। स्वतन्त्र उम्मेदवार बनेका महेश आचार्यले ५८९ मत पाए। विमलेन्द्र निधिको समूहकी उम्मेदवार दिब्यश्वरी शाहले १३२ मत पाइन्। गणनामा ५५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

पुष १, २०७८ बिहीबार ०२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।