कथा वाचक साइग्रेसको जादुले सारेगामापाका जज र प्रतियोगी लट्ठै

कथा वाचक साइग्रेसको जादुले सारेगामापाका जज र प्रतियोगी लट्ठै

काठमाडौँ : उपयोग गर्न जाने सामाजिक सञ्जाल वरदान हो लुकेको प्रतिभाका लागि। केही न केही पहिचान नबनाई मिडियाले पत्याउँदैन सामान्य व्यक्तिहरूलाई। अब प्रतिभा देखाउने ठाउँ नै नपाई कसरी देखाउनु आफ्नो प्रतिभा।

त्यस्ताका लागि युट्युब होस् या मनोरोगी बढायो भनेर आरोप खेपिरहेको टिकटक यदि सकारात्मक काममा प्रयोग गर्ने हो भने यसले जीवनको बाटो नै बदलिन सक्छ। त्यस्तै एक उदाहरणीय पात्र बनेका छन् साइग्रेस पोखरेल।

नेपालमा सङ्घर्ष गर्दागर्दै डेनमार्क पुगेका उनलाई यही प्लेटफर्मले एक जादुई कथा वाचकको पहिचान बनाइदिएको छ। उनको फ्यान फलोइङ अपत्यारिलो छ। उनले नेपालमा कथा वाचन टुरै चलाए जहाँ थामिनसक्नुको भिड थियो।

अधिकांश युवा पुस्तामाझ रुचाइएका उनी जहाँ गए उनको स्वागत कुनै चर्चित सेलिब्रिटीलाई भन्दा कम भएन। उनलाई अहिले नेपालमा कार्यक्रमहरूमा सहभागी हुन भ्याई नभ्याई छ। सहज रूपमा कथा वाचन गर्ने उनले गर्ने कथा वाचनको शैली नै उनको जादु हो।

साई बाबाको भक्त परिवारमा जन्मिएका उनलाई उनका परिवारले अनौठो नाम राखिदिएका थिए साइग्रेस। उनै साइग्रेस हालै बालबालिकाको गायन सम्बन्धी रियालिटी सो सारेगामापा लिटिल च्याम्पस्मा गएका थिए।

कार्यक्रमको होस्ट रिमालाई उनको नाम उपनाम जस्तो लागेको रहेछ। उनले कार्यक्रममा आएको मौका छोपेर सोधी हालिन्' साइग्रेस तपाईँको रियल नाम हो कि टाइटल?'

उनले आफ्नो नामको रहस्य खुलाउँदै भने' हैन रियल नामै हो। म अनि मेरो परिवार साई बाबाका भक्त। रामको प्रसाद रामग्रेस भनेझैँ म साइभक्त त्यसैले साइग्रेस।'

कार्यक्रमका सहभागीहरूलाई उनले निकै सकारात्मक प्रतिक्रियाहरू थिए। कार्यक्रममा सहभागी प्रयुश गौतमले ' आजभोलि हरेक साँझ म मातिन थालेछु' गाएका थिए। ब्लकबस्टर प्रस्तुति बन्यो उनको यो प्रस्तुति। उनले पहिलो पटक ग्रान्ड जुरी र जुरीबाट पूर्ण अङ्क पाए।

उनको गायनबारे साइग्रेसको प्रतिक्रिया थियो' म मातिने त गर्दिन तर तपाइको गायनले भने नशा लागेको अनुभव भयो।'

कार्यक्रममा उनले आफ्नाबारे धेरै कुरा खुलाए। कति खुलिसकेका कुरा कति नयाँ। कार्यक्रमकी अर्की प्रतियोगी अभिज्ञा घिमिरे उनको कथाको नियमित श्रोता रहिछिन्। उनले घरमा जति गाली खाए पनि उनको सबै कथा सुन्ने गरेको र त्यसले आफूलाई सकारात्मक ऊर्जा दिने बताइन्।

उनले साइग्रेसलाई अगाडि नै देख्दा सपना जस्तै लागिरहेको भन्दा उनी मञ्चमै आएर घिमिरेसँग भेटेका थिए।

उनले आफ्नो खुसी आफैँभित्र अन्तर्निहित हुन्छ भनेर प्रोत्साहित गरे।

पेन्सिल बनाएर त्यसको मालिकले भन्यो' पेन्सिल त बनिस् तर तैँले कस्तो लेख्ने भन्ने कसले प्रयोग गर्छ त्यसमा भर पर्छ भने। उनले कार्यक्रममा आफ्नो उही परिचित स्वरमा कथाहरू सुनाए।

प्रतियोगीहरू निकै रमाए। यस अगाडि आएका विशेष अतिथिभन्दा साइग्रेसको उपस्थिति साँच्चिकै विशेष बनेको थियो सारेगामापामा। गीत गाउन उनको स्वर फिट हुने रहेछ। शास्त्रिय संगीत सिकाका उनले कार्यक्रममा आफ्नै नयाँ गीत सुनाएका थिए।

पुष १, २०७८ बिहीबार ०१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।