कांग्रेस उपसभापतिमा मिश्रित परिणाम : शेखर समूहबाट धनराज, देउवाबाट पूर्णबहादुर

कांग्रेस उपसभापतिमा मिश्रित परिणाम : शेखर समूहबाट धनराज, देउवाबाट पूर्णबहादुर

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा मिश्रित नतिजा आएको छ। शेरबहादुर देउवा समूहबाट पूर्णबहादुर खड्काले जितेका छन् भने शेखर समूहबाट धनराज गुरुङले जितेका छन्। सभापतिमा पहिलो चरणमै देउवाले २२ सय मत ल्याएका थिए। उपसभापतीमा प्यानल अनुसारको मत परेको देखिएन।

शेखर कोइराला समूहका चन्द्र भण्डारी र देउवाका विजयकुमार गच्छदार भने पराजित भए। भण्डारी चौथोँ भए। गच्छदार झिनो मतले पराजित भए। गुरुङ र भण्डारी पार्टीका केन्द्रीय सदस्य थिए। खड्का पार्टीको महामन्त्री र गच्छदार उपसभापति थिए।

कांग्रेस छाडेर मधेस केन्द्रित राजनीतिमा लागेका गच्छदार १३ औँ महाधिवेशनपछि पार्टीमा फर्किएका थिए। उनी ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका प्रतिवादी हुन्।

खड्का देउवाका निकट नेता हुन्। स्वतन्त्र उम्मेदवार बनेका महेश आचार्यले जीत निकाल्न नसके पनि सम्मानजनक मत पाए। प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाता कोइरालाले सिंहभन्दा बढि मत ल्याएकी छिन्। 

उपसभापतिको नतिजाले महाधिवेशन प्रतिनिधीहरुले पार्टीको २ समूहलाई मिलाउने गरी मतदान गरेको देखियो। उपसभापतिको हकमा प्रतिनिधिले गुटभन्दा उम्मेदवारलाई प्राथमिकता दिएको देखियो। गुरुङको जितपछि ४० प्रतिशत मत ल्याएका शेखर समूह पार्टीमा केही बलियो हुने भएको छ।

बिहीबार महामन्त्रीको मत गणना गर्ने तयारी छ। महामन्त्रीमा देउवा समूहबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल र शेखर समूहबाट मिनेन्द्र रिजाल र गगन थापा प्रतिस्पर्धामा छन्। प्रकाशमान समूहबाट विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन्।

पुष १, २०७८ बिहीबार ००:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।