संस्थापनइतरका नेता आ-आफ्नै कोटरीमा फर्कन्छन् कि शेखरसँग टिक्छन् ?

संस्थापनइतरका नेता आ-आफ्नै कोटरीमा फर्कन्छन् कि शेखरसँग टिक्छन् ?

काठमाडौँ : केन्द्रीय सदस्यबाट एकाएक संस्थापनइतरको शक्तिशाली नेताको रूपमा उदाएका शेखर कोइरालाको अबको रणनीति के हुन्छ? , उनी १३ औँ महाधिवेशनबाट उदाएको कृष्ण सिटौलाकै शैलीमा कुनै गुटको नेताको रूपमा पार्टी र सत्तामा भाग खोजेरै १४ औँ महाधिवेशनको कार्यकाल कटाउँछन् या वचन अनुसार कार्यशैलीमा पनि कार्यान्वयन गर्छन् ?

१४ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व टुङ्गिएपछि कांग्रेसजन र उसका शुभेच्छुकको मनमा उब्जिएको प्रश्न यही नै होला। किनकि जुन महाधिवेशनबाट नयाँ गुटको जन्म भयो उसले गरिरहेको भागबन्डा नै हो। हिजो शेरबहादुर देउवाले गरेको पनि त्यही थियो। पछि रामचन्द्र पौडेल, शशाङ्क कोइराला अनि सिटौलाले पनि त्यही गरे।

१४ औँ महाधिवेशनको प्रतिस्पर्धा र नेताहरूको व्यवहारले हिजोको आकारमा संस्थापनइतर समूह देखिँदैन। पौडेल र शशाङ्कसहित प्रकाशमान सिंह र सुजाता कोइराला समेत अलग भइसकेका छन्। पौडेल र शशाङ्कको अलग गुट देखिइसकेको छैन। सिंह र सुजाताको नयाँ गठबन्धन भइसक्यो। त्यहाँ विश्वप्रकाश शर्मा कति समय टिक्छन् एकिन छैन।

शेखरसँग संस्थापनइतर समूहका वरिष्ठ नेताहरूदेखि युवा नेताहरू समेत खुलेका छन्। अर्जुन नरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, धनराज गुरुङ, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी अनि गगन थापा र गुरुराज घिमिरेसम्म समेटिएका छन्। यसमा वरिष्ठ नेताहरू पहिला पौडेलप्रति बफादार हुन् भने मिनेन्द्र शशाङ्क। उनीहरू चार वर्ष एकै ठाउँमा बस्छन् या आ-आफ्ना गुटमा फर्कन्छन् एकिन छैन।

प्रदीप पौडेल, भीमसेनदास प्रधान लगायतका नेता बोकेर बसेका सिटौलाले त गुटकै बलमा राजनीति अगाडि बढाउने देखिइसकिएको छ।

महाधिवेशन प्रतिनिधीहरुलाई धन्यवाद दिन बुधवार आयोजित कार्यक्रममा शेखरले गुटका आधारमा आफू अगाडि नबढ्ने र चुनावमा कसले के गर्यो भन्ने कुण्ठा बोकेर नबस्ने भन्दै यस अगाडि झैँ पार्टीका नेता कार्यकर्ताहरूको घर-आँगनमा आउने वचन दिएका छन्। उनी वचनमा पक्का हुन्छन् या उनी पनि गुटको संरक्षणको बहानामा भागबन्डामा अलमलिन्छन् भोलिको कार्यशैलीले देखाउने छ नै।

प्रजातान्त्रिक कांग्रेसको झल्को

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचन प्रक्रियामा भने पुरानो प्रजातान्त्रिक कांग्रेस र नेपाली काङ्ग्रेसबिचको प्रतिस्पर्धा झैँ देखियो। सभापतिका प्रतिस्पर्धी देउवा, प्रकाशमान र विमलेन्द्र कांग्रेस विभाजनका बेला कांग्रेस प्रजातान्त्रिकमा गएका थिए। पार्टी एकीकरणपछि सिंह १२ औँ महाधिवेशनबाट तत्कालीन संस्थापनमा फर्किएका थिए। निधि सभापतिको उम्मेदवार घोषणा गरेर केही समय देउवासँग अलग्गिएका थिए।

दोस्रो चरणको निर्वाचनमा यी सबै एकै ठाउँ भए। तीनै जना एकै ठाउँ उभिएर देउवाकै नेतृत्व दोहोर्याउन महाधिवेशन प्रतिनिधीहरुलाई आग्रह गरे।

निर्वाचन अघि निधिको भनाइ थियो, ‘पहिलो चरणमा कसैको पनि बहुमत पुग्दैन, दोस्रो चरणमा हामी तीन जना (शेखर कोइराला, प्रकाशमान सिंह र निधि) एक ठाउँ हुनेछौँ।’ उनले देउवाको प्रतिस्थापन चाहेको दाबी गरेका थिए।

उनको पकड रहने प्रदेश २ मा प्रदेश अधिवेशन र जिल्ला अधिवेशन हुन नसक्नुले मत भार घटेको अनुमान गरिएको थियो। तर सभापतिको निर्वाचन दोस्रो चरणमा जाँदा गठजोड उनको भनाई विपरीत बन्यो । पहिलो चरणमा सभापतिमा उम्मेदवारी दिएका सिंह, निधि र कल्याण गुरुङले दोस्रो चरणमा साबिक नेतृत्वकै निरन्तरताका लागि देउवालाई साथ दिए।

पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेकाका शेरबहादुर देउवाले २ हजार २ सय ५८ (४८ दशमलव २५ प्रतिशत), डा कोइरालाले १ हजार ७ सय २ (३६ दशमलव ३७ प्रतिशत), सिंहले ३ सय ७१ (७ दशमलव ९२ प्रतिशत), निधिले २ सय ५० (५ दशमलव ३४ प्रतिशत) र कल्याण गुरुङले २२ (शून्य दशमलव ४७ प्रतिशत) मत ल्याएका थिए ।

७६ मत बदर भएको थियो । पार्टीको विधानअनुसार सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । २ सय ५० मत पाएपछि निधि आफ्नो भनाइमा स्थिर हुन सकेनन्। उनी देउवातिरै फर्किए।

नीति निष्ठा र नेतृत्व नारा दिएर चुनावी मैदानमा थिए सिंह। १४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तन उनको बटमलाइन थियो।  तर,  मङ्गलवार मतगणना सकिए लगत्तै दोस्रो चरणको रणनीति बनाउन देउवाले नेता पूर्णबहादुर खड्का, बालकृष्ण खाँण लगायतसँग बालुवाटारमा छलफल गरे।

त्यहीँबाट सिंहलाई फोन गरेर सहयोगका लागि आग्रह गरे। करिब ८ बजे गृहमन्त्रीसमेत रहेका खाँणलाई सिंह निवास चाक्सीबारी पठाए देउवाले। त्यसको केही बेरपछि आफैँ चाक्सीबारी गएर ‘सहयोग आदानप्रदान’ को सहमति गरे। सिंहले देउवाले आफ्नो कार्यशैली परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको बताए। सिंहलाई देउवा क्याम्पमा अटाउन उनको समूहबाट महामन्त्री उम्मेदवार बनेका विश्वप्रकाश शर्माले पनि भूमिका निर्वाह गरे।

उनले देउवा विधान संशोधनमा समेत सहमत भएको सिंहको दाबी थियो। तर के विषयमा विधान संशोधन भन्ने उनले खुलाएनन्।

बुधवार डा शेखर कोइरालाको सभामा सम्बोधन गर्दै अर्जुन नरसिंह केसीले देउवाले कसलाई के-के भनेर मनाएको जानकारी भए पनि सभामा सार्वजनिक गर्न उचित नहुने भन्दै भोलिका दिनमा हेर्दै जाने बताएका थिए। गगनले प्रश्न गरेका थिए'त्यो ६ घण्टामा के भयो?'

सहमतिको चुरो कुरो नखुले पनि सिंहलाई पार्टी र सरकारमा उत्तराधिकारीका रूपमा अघि बढाउने समझदारी भएको दाबी आइरहेका छन्। विधान संशोधन गरेरै भए पनि उपसभापतिकी उम्मेदवार सुजाता कोइरालालाई महिला उपसभापति बनाउने सहमति भएको स्रोतको दाबी छ।

पार्टीभित्र सिंह र निधिभन्दा कोइराला कनिष्ठ हुनु पनि देउवाका लागि समर्थन जुटाउन सहज बन्ने अर्को कारण बन्यो। सिंह र निधिले २०५७ सालको दसौँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका हुन्। सिंह र निधि पार्टीको उपसभापति, महामन्त्री र सरकारमा उपप्रधानमन्त्री भइसकेका छन्। कोइराला १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन्।

सत्ता र शक्ति अगाडी निधि र सिंह झुकेको कांग्रेस मामिलाका जानकार प्रा डा गोविन्दमान सिंह कार्कीको भनाइ छ।

‘अर्को संसदीय चुनाव नहुन्जेलसम्मको लागि देउवा प्रधानमन्त्री छन्, एक वर्षजस्तो सो कार्यकाल जान्छ। डाडु-पन्यू उनको हातमा भएपछि विभिन्न आश्वासन र प्रलोभन हुन्छन् र स्वार्थले काम गरिरहेको हुन्छ,’ कार्कीले भने।

पहिलो चरणमा ५० प्रतिशत बढी मत पुर्याउन देउवालाई ८२ मत पुगेको थिएन। सो मतले पनि काम गरेको कार्कीको बुझाइ छ।

दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो । देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भए।

 ‘६२ भोट भनेको धेरै कम भोट हो। यसले पनि उनीहरूलाई उकास्यो। हामीले समर्थन नगरे पनि बहुमत पुराइहाल्छन् भन्ने लाग्यो होला। तर उनीहरूले शेखरलाई समर्थन गरेको भए अवस्था अर्कै हुन सक्थ्यो। पहिले खसको मत इतरपक्षको २ हजार ३ सय ४५ थियो। सत्ता स्वार्थले प्रलोभनले काम गर्यो।’

पार्टी बाहिर राष्ट्रिय मुद्दाहरू छन्। एमसीसीको मुद्दा पेचिलो छ। हिजोबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनमा प्रतिपक्षी दल एमालेले अवरोध कायमै राखेको छ।

सभापतिमा दोहोरिएन पनि देउवाका लागि प्रधानमन्त्री र पार्टी सभापतिको कार्यकाल सहज भने छैन। ‘एमसीसीको मुद्दाले सरकार अफ्ण्ठ्यारोमा छ । यसलाई मान्ने कि नमान्ने भनेर निर्णय दिनुपर्छ, अमेरिकाले दबाब दिइरहेको छ। जनता पनि स्वीकार गर्ने र नगर्ने विभाजित छन्। देउवालाई गाह्रो छ,’ प्रा डा कार्कीले भने।

केन्द्रीय महाधिवेशनमा लोकतन्त्रको भरपुर उपयोग भयो। तर पार्टीको भातृ सङ्गठनहरूको चुनावै गराउन सकेनन् देउवाले। पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर रहेकाले विभाग सङ्गठनको अनि भातृ सङ्गठनको समयमा अधिवेशन गर्नुपर्ने काम व्यवस्थित रूपमा हुनुपर्ने कार्कीको जोड छ।

सत्ता र गैर सत्ताको प्रतिस्पर्धा

सत्ता र गैर सत्ताको लडाइ, विरासत र परिवर्तनको लडाइ पनि महाधिवेशनमा देखियो। पराजितै भए पनि शेखर शक्तिशाली नेताको रूपमा कांग्रेसमा उदाएका छन्। संस्थापनइतर समूहका प्रभावशाली नेताहरूको असहयोगमा पनि उनले ४० प्रतिशत मत ल्याएका छन्। तर महाधिवेशनमा कांग्रेस बहसविहीन बन्यो। केवल नेतृत्व परिवर्तनको रस्साकस्सी मात्र चल्यो।

‘नेतृत्वमा को आउने भन्ने विषय पनि सैद्धान्तिक र वैचारिक हिसाबले हुनुपर्छ भन्ने बहस भएन,’ राजनीतिक विश्लेषक महेश भट्टराइले भने' देउवाले म भएँ भने चुनाव जित्छु र गठबन्धन टिकाउँछु भन्नुभएको थियो, त्यही अनुसार निरन्तरता पाउनुभयो। विधि पुर्याउने काम मात्र भयो। तल पनि जसले खर्च गरेर जितेर आएको थियो माथि पनि त्यही भयो। गेम अफ पावर र डिभाइड एन्ड रुलको सिद्धान्त लागु भयो।

नयाँ समूहको जन्म

बुधवारको सभामा गगन थापाले ४० प्रतिशत मत आयो भनेर त्यसैको बलमा गुटको राजनीति अगाडि बढाएर भागबन्डामा नलाग्न शेखरको ध्यानाकर्षण गराए। शेखरले पनि आफू गुट र भागबन्डामा नलाग्ने दाबी गरे।

तर भट्टराई पार्टी भित्र ६०–४० को भागबन्डाको राजनीति सुरु हुने बताए। ‘हिजो ४० प्रतिशतको हिस्सा रामचन्द्रमा थियो भने अब शेखर आए। हरेक कुरामा सम्हाल्न देउवालाई चुनौती हुन्छ,’ विश्लेषक भट्टराईले भने ।  

इतरपक्ष भने देउवाले बदलिने भनेको कार्यशैली कस्तो हुनेछ भनेर पर्ख र हेरको अवस्थामा छ। विधान अनुसार अगाडि बढाउने गतिविधिका आधारमा देउवालाई समर्थन र विरोध गर्ने उनीहरूको रणनीति देखिन्छ। सभापतिमा पराजित भए पनि केही प्रभावशाली पद सहित केन्द्रीय कार्यसमितिमा आफ्नो पक्षका कति उम्मेदवार पुग्छन् त्यसले पनि इतरपक्षको रणनीति बन्ने देखिन्छ।

‘पार्टीलाई संयोजन गरेर विधि, नीति, पद्धति र पारदर्शी ढङ्गले होस् भन्ने चाहन्छौँ। हामी प्रतीक्षा गर्छौ। परिवर्तन हुन्छु भनेर कति वचन दिनुभएको हो। हुनुभयो भने हाम्रो पनि पूर्ण साथ रहन्छ। हाम्रो कुनै पात्रसँगको विवाद होइन। प्रवृत्ति र शैलीसँगको विवाद हो,’  नेता अर्जुननरसिंह केसीले भने ‘राष्ट्रिय चुनौती वृद्धि हुँदै गइरहेका छन्। न्यायिक क्षेत्रको अन्तिम व्याख्याता सर्वोच्च अदालत आफैँ समस्यामा छ। संसद् चल्न सकिरहेको छैन। जनताको आकाङ्क्षालाई सीमित साधन स्रोतले सन्तुलित गरेर जान बडो गाह्रो छ।’

देउवा निकट नेताहरू भने देउवालाई विधि अनुसार काम गर्ने नेताको रूपमा चित्रण गर्छन् । ‘पार्टीमा विधि र विधान त मानैकै छौँ संस्थापन भनिएका संस्थापनइतर जस्तो भएर काम गरिरहेका छौँ,’ नेता डा प्रकाशशरण महतले भने।

गृहमन्त्री तथा देउवाका विश्वासपात्र बालकृष्ण खाँडले पनि देउवा पार्टीको विधान अनुसार काम गर्ने नेताहरूमा देउवा अब्बल नेता भएको दाबी गर्छन्। ‘केन्द्रीय समितिमा बहुमत हुँदाहुँदै पनि देउवाले बहुमतबाट पेलेर निर्णय नगरी सबै पक्षसँग सहमति लिएर निर्णय गर्ने गर्नुभयो,’ खाँडले भने। 

मंसिर २९, २०७८ बुधबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।