गगनले भने 'नेतृत्व परिवर्तन नगरे कांग्रेस प्रजा परिषद् हुन्छ भन्नेहरू रातभरमा कसरी बदलिए, यो प्रश्नले घोचिरहने छ'

गगनले भने 'नेतृत्व परिवर्तन नगरे कांग्रेस प्रजा परिषद् हुन्छ भन्नेहरू रातभरमा कसरी बदलिए, यो प्रश्नले घोचिरहने छ'

काठमाडौँ : नेपाली काँग्रेसका नेता गगन थापाले सभापतिमा जितेकोमा बधाई दिँदै अब पार्टी नेतृत्वसँगको सम्बन्ध सहकार्य र सङ्घर्षको हुने भएको बताए।उनले लोकतन्त्रको अभ्यास गर्दै बहालवाला प्रधानमन्त्री पनि सडकमा उत्रिएर नमस्कार गरेर मत माग्नुपरेको भन्दै लोकतन्त्रको शक्ति यही भएको बताउँदै उनले भने ' मैले २ महाधिवेशनमा शेरबहादुर देउवालाई मत हालिन्। हिजो दौडिएर गएर शेखर कोइरालालाई मत हालेँ। अब हाम्रो सभापति शेरबहादुर देउवा हो। उहाँको कार्यकाल सफल होस् शुभकामना छ।

उनले जहाँनिर पार्टी नेतृत्व पार्टी र देशको हितमा लाग्छ त्यहाँ सहकार्य गर्ने र पार्टीको नीति विपरीत काम गरेमा सङ्घर्ष गर्ने बताए।

'देशको हितमा काम गरे सहकार्य पार्टी चुके सङ्घर्ष' उनले भने।

उनले नेतृत्व परिवर्तनको पक्षमा निर्णय गर्न अर्को अधिवेशनको बारेमा अहिले नै सहमति गर्नुपर्ने हो भने आफू तयार रहेको बताउँदै उनले ४० प्रतिशत मतदाताले मत हालेकाले मतदाताको जिम्मेवारी बोकेर यो कार्यकालमा सक्रिय हुनुपर्छ भने।

४० प्रतिशत मतको बलमा भागबन्डामा नजान उनले कोइरालालाई सचेत गराउँदै यो मतको जिम्मेवारी बोकेर पार्टीमा क्रियशिल हुन आग्रह गरेका थिए।

उनले सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्याशी बनेकाहरूले गरेको निर्णयले भने सधैँ घोचिरहने बताए।

' मध्यरातसम्म यो नेतृत्व भयो भने कांग्रेस डुब्छ भनेर बसेका नेताहरू एकाबिहानै यो नेतृत्व भएन भने बर्बाद हुन्छ भनेर किन बदलिए?, उनले भने' त्यो ६ घण्टामा के भयो त्यो प्रश्नले भने घोचिरहन्छ।'

उनले शेखर कोइराला दोस्रो चरणमा नगई अन्य प्रत्याशी गएको भए शेखर कोइरालाले पार्टीको सभापति बदल्ने कुरामा उनलाई साथ दिने दाबी गर्दै उनले भने' पार्टी नेतृत्व बदल्ने विषयमा यदि शेखर दोस्रो चरणमा नगएको भए उहाँ दोस्रो भएको उम्मेदवारको पक्षमा उभिनुहुन्थ्यो। उहाँ नउभिएको भए हामी उभिने थियौँ।'

उनले शेखरको नामको पछाडि झुन्डिएको कोइराला थरकै आधारमा कतिपयले टिप्पणी गरेको भन्दै उहाँ कुनै परिवारको सदस्यको रूपमा भन्दा पनि नेतृत्व परिवर्तनका लागि उभिएको भन्दै भने' नेता कसैको सम्पत्ति हैन। हामी अरू कसैको बालाई माल्यार्पण गर्न सक्रिय भएका हैनौँ। बिपी कोइराला अनि प्रकाशमान सिंह कसैको बपौती हैन। हाम्रो पनि हो। कसैको व्यक्तिगत सम्पत्ति हैन।'

मंसिर २९, २०७८ बुधबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।