इन्जिनियरको गलत डिजाइनले ११ वर्षदेखि अलपत्र एउटा पुल

इन्जिनियरको गलत डिजाइनले ११ वर्षदेखि अलपत्र एउटा पुल

बुटवलः इन्जिनियरको गलत डिजाइनका कारण रुपन्देहीको तिलोत्तमास्थित तिनाउ नदीमा निर्माण भइरहेको एउटा पुल ११ वर्षसम्म पनि तयार हुन सकेको छैन।

मणिग्राम-मोतिपुर जोड्ने उक्त पुल २५ असार २०६७ सालमा सम्झौता भई निर्माण सुरु भएको थियो। ६ वटा फाउन्डेसन रहने गरी डिजाइन गरिएको पुलका तीन वटा फाउन्डेसनमा चट्टान परेका कारण निर्माणको काम रोकिएको थियो।

निर्माण सुरु भएको ११ वर्षपछि सो पुलको डिजाइन नै परिवर्तन गरी काम थालिएको छ। वैकल्पिक डिजाइन स्वीकृत भएसँगै पुल निर्माणको कामले बल्ल तीव्रता पाएको छ। आउँदो असार मसान्तसम्म सम्पन्न गर्ने गरी पुल निर्माण भइरहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासनीले बताए।

पुलको तीन वटा फाउन्डेसन (जग) र दुई स्ल्याप ढलान भएपछि रोकिएको पुलमा अहिले काम भइरहेको छ। यसअघि वेल फाउन्डेसन (कुवा जस्तो) डिजाइनमा स्वीकृत भएको थियो। तर सम्झौता र डिजाइन अनुसार १७ मिटर जमिन बाहेक जानुपर्ने फाउन्डेसनमा कडा चट्टान परेपछि जम्मा ७ देखि १० मिटरसम्म भित्र गएको थियो। त्यसपछि सडक विभागको पुल महाशाखाबाट विभिन्न चरणमा छलफलपछि वेल फाउन्डेसनलाई परिर्वतन गरी पाइल फाउन्डेसन बनाउने वैकल्पिक डिजाइन स्वीकृत भएपछि पुनः निर्माण थालिएको मरासनीले बताए।

बुद्धस्थललाई जोड्ने गरी रुपन्देहीको देवदहदेखि लुम्बिनीसम्मको ४२ किलोमिटर सडक दुई वर्षअघि नै सम्पन्न भएको छ। बुद्ध परिपथमा पर्ने पुल लामो समय सम्पन्न नहुँदा मोतीपुरसँगै सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिकाका विभिन्न स्थानबाट मणिग्राम आवत-जावत गर्न स्थानीयले सास्ती व्यहोर्दै आएका छन्।

पहिलो चरणमा २०६९ पुस २४ गते सक्नेगरी १० करोड ३७ लाख ९५ हजार रुपैयाँमा काठमाडौंको एलिट कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको थियो। तर निर्माणको काम सम्पन्न नभएपछि निर्माण कम्पनीको अन्तिम म्याद २०७७ फागुन १३ गतेसम्म थप गरिएको थियो। अहिले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी म्याद थप भएर काम भइरहेको छ।

पुल्चोक इन्जिनियर कलेजबाट उक्त पुलको निरीक्षण र अनुगमन हुँदा समेत चट्टानको बनोट र प्रकृतिका कारण फाउन्डेसन तल जान नसक्ने भन्दै कलेजले वैकल्पिक डिजाइन समेत दिएको थियो। तर उक्त डिजाइन महँगो भएपछि पुल महाशाखाले नै वैकल्पिक डिजाइन तयार गरी स्वीकृत गराएको थियो।

उक्त पाइल डिजाइनबाट फाउन्डेसन थप गर्दा केही रकम ठेक्का रकममा थप भएको बताइएको छ। सम्झौता अनुसार १७ मिटर जानुपर्ने फाउन्डेसन अधिकतम १० मिटरसम्म गएकाले बाँकी ७ मिटरको एस्टिमेट अनुसार रकम घटाई पाइल फाउन्डेसनको रकम थप गरिएको हो।

मंसिर २९, २०७८ बुधबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।