कांग्रेसमा देउवाको दोस्रो इनिङ : संस्थापनइतरले जुटाइदिएको अवसर
काठमाडौँ : संस्थापनइतर समूह तितरबितर भएको फाइदा उठाउँदै शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा दोहोरिन सफल भएका छन्।
१२ औँ महाधिवेशनसम्म पार्टी नेतृत्वको आकाङ्क्षी मात्रै रहेका देउवा दोस्रो पटक पार्टीको सभापति भएका हुन्। १३ औँ महाधिवेशनमा उनले रामचन्द्र पौडेललाई पराजित गरेर पहिलो पटक पार्टी नेतृत्वमा पुगेका थिए। १४ औँ महाधिवेशनमा उनले शेखर कोइरालालाई पराजित गरेर नेतृत्वमा दोहोरिएका छन्।
१३ औँ महाधिवेशनमा तत्कालीन संस्थापन समूहका नेता कृष्ण सिटौलाको साथले उनी पहिलो पटक पार्टी सभापति भएका थिए। दोस्रो पटक सभापति बन्दा पनि संस्थापनबाट संस्थापनइतर बनेको समूहभित्रको किचलोले नै साथ दियो।
पहिलो चरणमा सभापतिका उम्मेदवारमध्ये कसैको पनि ५० प्रतिशत बढी मत नआएपछि दोस्रो चरणको निर्वाचन भएको थियो। ४ हजार ६ सय २३ मत खसेकोमा देउवाले २ हजार सात सय ३३ मत पाए। शेखरले एक हजार ८ सय ५५ मत पाए। ३५ मत बदर भएको थियो।
मत सङ्ख्याले १३ औँ महाधिवेशनको तुलनामा १४ औँमा उनी पार्टीभित्र कमजोर देखिएका छन्।
संस्थापनइतर समूहका नेता रामचन्द्र पौडेल र शशाङ्क कोइराला मौन बस्दा अनि संस्थापनइतर समूहकै २ नेता प्रकाशमान सिंह र सुजाता कोइरालाको समर्थन देउवाले पाएका थिए।
कृष्ण सिटौला पहिल्यै उनको समर्थनमा थिए। समूह छाडेर सिंहको प्यानलमा गएका विश्वप्रकाश शर्माले समेत दोस्रो चरणमा देउवालाई सघाए भने सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिले समेत दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका थिए।
समूहका प्रभावशाली नेताहरूले धोका दिँदा समेत शेखरले प्रभावशाली मत ल्याए। कोइराला परिवारका सदस्य तीनतिर भएका थिए। अन्तिमसम्म पनि पौडेल उनको पक्षमा खुलेनन्। दोस्रो चरणमा निर्वाचन गएमा साथ दिने वचन दिएका सिंह र निधिले धोका दिएर देउवालाई नै समर्थन गरे पनि कोइराला कांग्रेस पार्टीमा प्रभावशाली नेताको रूपमा उदाए १४ औँ महाधिवेशनमा।
उनलाई धनराज गुरुङ, मिनेन्द्र रिजाल, गगन थापासँगै बलबहादुर केसी, अर्जुननरसिंह केसीले साथ दिएका थिए। डा रामशरण महत भने उनका कार्यक्रमहरूमा देखिएनन्।
भोलिको दिनमा उनी कांग्रेसमा प्रभावशाली नेताको रूपमा रहने १४ औँ महाधिवेशनको नतिजाले देखाएको छ। उनले आफू एक पटक मात्रै पार्टी सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्।
नेविसंघको अध्यक्षदेखि पार्टी सभापतिसम्म
देउवा २०२८ सालमा नेपाल विध्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका थिए। उनलाई बिपी कोइराले संघको अध्यक्ष बनाएका थिए। २०४७ को जनआन्दोलनमा उनी नेपाल बाहिर थिए। राजनीतिक परिवर्तनपछि नेपाल फर्किएका उनी २०४८ देखि निरन्तर सांसद छन्।
उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् भने पार्टी सभापतीमा समेत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
सन्त नेताका शत्ताभोगी चेला
सन्त नेता कृष्णप्रसाद भट्टराइको राजनीतिक विरासत बोकेका छन् देउवाले। पार्टीमा गिरिजाप्रसाद कोइरालासँग भट्टराइको मनमुटाव बढ्दा उनले देउवालाई अगाडि सार्दै लगेका थिए। पार्टीको १० औँ महाधिवेशनमा उनि भट्टराइको सल्लाहमा पार्टी सभापतीको उम्मेदवार पनि बनेका थिए। तर उनी गिरिजाप्रसाद कोइरालासँग हारे।
भट्टराइको निधनपछि उनी निकट अधिकांश नेताहरु देउवाका मुख्य सहयोगी छन्। उनी सन्त नेताका चेला भए पनि स्वभाव भने सत्ताभोगी देखिन्छ।
मंसिर २९, २०७८ बुधबार ०२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।