माहोल बदलियो भृकुटीमण्डपको: कोही अनुमानमा व्यस्त, कोही नाचगानमा
दोश्रो चरणको मतदान सुरु हुन केही समय मात्र बाँकी रहँदा अझै मतदाता फकाउन दुई उम्मेदवार कम्मर कसेर लागेका छन्। तर प्रकाशमान र विमलेन्द्रको समर्थन पाएपछि देउवाको जित सुनिश्चित जस्तै छ।
बिहानै वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रम आयोजना गरेका थिए। देउवा भोट माग्न त्यहाँ पनि पुगे। रामचन्द्रले त्यहाँ कार्यकर्तालाई स्वविवेक प्रयोग गर्न भने।
देउवाको पक्षमा माहोल बनेपछि हाल समूह समुहमा भेला भएका महाधिवेशन प्रतिनिधि तथ कार्यकर्ताहरू नेताको भर हुन्न भन्दै गफ गरिरहेका छन्। शेरबहादुर पक्ष अलि बढी खुशी साटिरहेको देखिन्छ।
शेरबहादुर पक्ष र शेखर पक्षले आआफ्नो समर्थनमा घरीघरी नारा लगाएको देखिन्छ। शेरबहादुर पक्षले- 'देशको थिति युवा महिला सबै भन्छन् देउवा' गीतको भाकामा देउडा खेलेको दृष्य देखिन्छ।
अर्कातर्फ शेखर समर्थकहरू- 'अरूलाई हर्यौं बारबार शेखर दाइलाई एक बार' भन्दै नारा लगाइरहेका छन्।
यता 'प्रकाशमानले के स्वार्थले देउवालाई सघाए?', 'देउवाले कांग्रेस खत्तम पार्ने भए' भन्ने देउवाविपक्षका कार्यकर्ता कुरा गरेको सुनिन्छ।
तर,भृकुटीमण्डपमा हिजोअस्तिको तुलनामा भीड निकै कम छ। अधिकांश कार्यकर्ताको अनुहार हसिलो देखिदैन। अधिकांश कार्यकर्ताहरू देउवा र शेखरले के-कस्तो गर्लान् भन्ने कुरा गरिरहेको देखिन्छ।
निर्वाचन समितिले आजै ३:३०मा सभापतिको पुनः मतदान हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
पहिलो चरणमा सभापतिका उम्मेदवारले बहुमत नल्याएपछि सभापतिका लागि दोस्रो चरणको मतदान तय भएको हो।
हाल सभापतिमा शेखरबाहेक सबै पहिलो चरणका उम्मेदवारले शेरबहादुरलाई समर्थन जनाएपछि देउवाको पक्षमा २९०१ मत हुने अनुमान गरिएको छ। यस्तै शेखरको पक्षमा १७०२ मत हुने देखिएको छ।
मंसिर २८, २०७८ मंगलबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।