निधि र सिंहलाई शेखरको फोन: सकारात्मक जवाफ पाएको सचिवालयको भनाइ
काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दोश्रो चरणको चुनावको पारो बढिसकेको छ। दोश्रो चरणमा प्रतिस्पर्धा गर्ने शेरबहादुर देउवा र शेखर कोइराला आआफ्नो पक्षमा माहोल बनाउन प्रयासरत छन्।
शेखर कोइरालानिकट कार्यकर्ताहरू दोश्रो चरणमा आफ्नो प्यानललाई सघाउन आग्रह गर्दै रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका थिए। तर त्यहाँ उनीहरूले आग्रहको साटो मौन नबस्न भन्दै नाराबाजी गरेपछि पौडेल आक्रोशित भएको बताइएको छ।
चियापानमा बलबहादुर केसी, अर्जुननरसिंह केसी, रामशरण महत, ज्ञानेन्द्र कार्कीलगायतका नेता पुगेका थिए। पौडेलनिकट एक नेताका अनुसार पौडेलले कसलाई सघाउने भन्ने निर्णय लिएका छैनन्। उनले स्वविवेक प्रयोग गर्न भनेका छन्।
यता शेखरले केही बेरअघि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग टेलिफोन संवाद गरे। त्यहाँबाट सकारात्मक जवाफ आएको शेखरको सचिवालयले जनाएको छ।
यता देउवाले भने बालुवाटारमा आफूपक्षीय छलफल राखेका छन्। उनले केही समयअघि बालकृष्ण खाँणलाई प्रकाशमान निवास चाक्सीबारी पठाएका थिए।
मंसिर २८, २०७८ मंगलबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।