कांग्रेसमा शेखरको छलाङ: ३४औं बाट दोश्रो वरियतामा पुगे

कांग्रेसमा शेखरको छलाङ: ३४औं बाट दोश्रो वरियतामा पुगे

काठमाडौंः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको वरियतामा छलाङ मारेका छन्। यसअघि पार्टीभित्र ३४औं वरियतामा रहेका शेखर कोइराला केही बेरअघि सम्पन्न सभापति पदको पहिलो चरणको चुनावबाट दोश्रो वरियतामा पुगेका छन्। 

शेखर कोइराला १३औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन तयारी गरिरहेका थिए। तर अन्तिममा शशांक कोइरालाले महामन्त्रीमा दावी गरेपछि शेखरले छाडिदिए। त्यसपछि १३औं महाधिवेशनले शेखरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको थियो। 

यता १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेसँगै शेखर सभापति पदका बलिया आकांक्षी भए। मतगणनामा शेरबहादुर देउवाभन्दा पछि परे, तर सभापतिका अन्य आकांक्षीभन्दा धेरै मत ल्याएर दोश्रो चरणको चुनावमा प्रवेश गरे।  

देउवाले २२५८ मत ल्याउँदा कोइरालाले १७२९ मत ल्याए। अब दोश्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। र योसँगै ३४औं वरियताका नेताले एकै पटक दोश्रो वरियतामा पुग्ने गरी छलाङ मारेका छन्। 

मंसिर २८, २०७८ मंगलबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।