कांग्रेस सभापतिमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने, सिंह, निधि र गुरुङ रिङ आउट

काठमाडौँ : नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको चुनाव हुने भएको छ। सभापतिमा बढी मत ल्याएका शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच आजै दोस्रो चरणको मतदान हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
आज बिहान भएको मतगणनामा देउवाले सभापतिका प्रतिष्पर्धीहरु भन्दा ४९९ मत बढी पाए पनि ५० प्रतिशत कटाउन नसकेकाले दोस्रो चरणको चुनाव हुने भएको हो।
देउवालाई सभापतिमा निर्वाचित हुन ८२ मत मात्रै पुगेन। ४ हजार ६८१ मत गणनामा देउवाले २ हजार २५८ मत पाएका छन्।
देउवाका प्रतिस्पर्धी डा.शेखर कोइरालाले १ हजार ७२९ मत पाएका छन्। सभापतिमा देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी प्रतिस्पर्धामा थिए।
सिंहले ३४७ निधिले २७३ र गुरुङले ३२ मत पाए। सभापतिका उम्मेदवार सिंह, निधि र गुरुङ प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
सभापति चयनका लागि आजै मतदान गराउने कांग्रेस निर्वाचन समितिले तयारी गरेको छ।
मंसिर २८, २०७८ मंगलबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।